गोर्खा सत्याग्रहलाई पूर्व प्रधानमन्त्री नेपालको साथ

लन्डन । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको समानता आन्दोलनमा ऐक्यवद्धता जनाएका 
छन् । सोमबार समितिले लन्डन नर्थहोल्टमा आयोजना गरेको विशेष कार्यक्रममा नेता नेपालले भूतपूर्व गोर्खाहरुको समस्या विशिष्ठ भएको जनाउंदै उनीहरुको आन्दोलन समानताको अधिकारका लागि भएको धारणा राखे ।

‘आफ्नो ज्यान जोखिममा राखेर, मृत्युसंग पौंठेजोरी खेलेर तपाईंहरु ब्रिटिश सेनामा प्रवेश गर्नुभयो तर व्यवहारमा भेदभाव गरियो’- सयौं वृद्धवृद्धा भूपू गोर्खा एवं अभियन्ताहरुमाझ नेता नेपालले भने, ‘प्रजातन्त्रको प्रवक्ताको रुपमा प्रस्तुत हुने र आफूलाई प्रजातन्त्रको जननी भन्ने ब्रिटेनले गोर्खाहरुलाई भेदभाव गरेर प्रजातन्त्रको मुल्य मान्यता कत्ति पालना गरेन । यो सुन्न पनि अठेरो लाग्छ ।’

नेपाल सरकारले हालै लन्डनमा भएको वार्तामा गोर्खाहरुको विषय उठान गरेको नेपालले जानकारी दिए । ‘नेपालका परराष्ट्र सचिव र महामहिम राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतको परराष्ट्र मन्त्रालय स्तरमा कुराकानी गरेर विषय उठाउनु खुशीको कुरा हो’- नेपालले भने, ‘नेपाल सरकारको साथमात्र होइन, सिंगो नेपालको संसद तपाईंहरुको पक्षमा उभिएको छ ।’

नेता नेपालले भूतपूर्व गोर्खाहरुलाई संख्यात्मक शक्तिमा वृद्धि र एकता सुदृढ गराउन पनि सुझाव दिए । तर्कको आधार र अन्तर्राष्ट्रिय कानुनका आधारमा सशक्त 
रुपमा प्रस्तुत भए ब्रिटेनले समस्या बुझ्ने उनको तर्क थियो ।

‘भोक लाग्यो भने सानो बालकले त कराउनुपर्छ भने हामीले ध्यान आकर्षण त गर्नुपर्छ’- उनले भने- ‘असमानता अन्त्य होस् भन्ने तपाईंहरुको माग जायज छ । अब त्रिपक्षीय सन्धि होइन, बेलायत नेपाल द्वीपक्षीय सम्बन्ध राख्नुपर्छ ।’

‘तपाईंहरुले वीरताको, निष्ठाको, इमान्दारिताको, समर्पणको म कदर र प्रशंसा गर्न चाहन्छु’, नेपालले भने, ‘तपाईंहरुले वीरताको इतिहास रच्नुभएको छ । वीर गोर्खा सैनिकहरुले विश्व शान्तिका लागि धेरै योगदान गरेका छन् ।’

नेपाली महिलालाई ब्रिटिश सेनामा भर्ती लिइने कुराले मख्ख नपर्न उनले आग्रह गरे । ‘नेपाली चेलीलाई अरु देशको सेनामा पठाउने काम नगर्नुहोस् भनेर मैले परराष्ट्र सचिव, मन्त्रीलाई भनेको छु’- उनले भने- ‘त्यो काम अगाडि नबढोस् । नेपाली चेलीको अस्मिता लुट्न सबै तयार हुन्छन् । महिला भर्ती सान होइन खतराको कुरा हो ।’

संविधानमा गैर आवासीय नागरिकता प्रवन्धबारे बोल्दै नेता नेपालले ‘एक पटकको नेपाली सधैंको नेपाली’ 
हुनुपर्ने धारणा राखे । बाबुआमा मात्र होइन, २० औं पुस्तासम्म नेपाली हुनुपर्ने उनले बताए । नेपाली भएपछि आफ्नो भाषा, संस्कृति, इतिहासप्रति गौरववोध हुने र नेपाली भावना जाग्ने नेता नेपालको विश्वास थियो ।

उक्त कार्यक्रममा सोलिसिटर राजु थापा, गोर्खा अभियन्ताहरु समितिका अभियान निर्देशक ज्ञानराज राई, कार्यवहाक प्रमुख संयोजक सूर्य नेम्वाङ, सह 
संयोजक सन्तोष थलङ, सचिव धन गुरुङ लगायतले गोर्खा आन्दोलन र मागबारे बोलेका थिए । सोलिसिटर राजु थापाले बेलायतको न्यायलयले मानवअधिकारका आधारमा भूपू गोर्खा वयस्क सन्तानहरुको मुद्दा जिताएपनि उनीहरुलाई सरकारले निसर्त आवासीय अधिकार दिइनुपर्ने बताए । निर्देशक राईले समान पेन्सन पाए बेलायत रहेका करिब ९५ प्रतिशत भूपू गोर्खा नेपाल फर्कन तयार रहेको धारणा राखे । राईले भूपू गोर्खाहरुका माग पुरा गराउने सवालमा नेपाल सरकारले बेलायत सरकार समक्ष राखेको अडानको खुलेर प्रशंसा गरे ।

उक्त अवसरमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति तथा ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता संघर्ष समिति यूके/नेपालले नेता नेपाललाई समस्त भूपू गोर्खाहरुका तर्फबाट कदरपत्र, पुष्पगुच्छा र खादाले सम्मान गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री