तमुधिं साउथ इष्ट लण्डनमा नयाँ नेतृत्व

लण्डन । दक्षिणपूर्व क्षेत्रीय तमुधिँ लण्डनको सातौं अधिवेशन गत आइतबार सम्पन्न भएको छ । फाल्कोनवुड कम्युनिटी सेन्टर हलमा संस्थाका महासचिव ह्यारी गुरुङले सञ्चालन गरेको अधिवेशनलाई अध्यक्ष श्रीचन्द्र गुरुङले सभापतित्व गरेका थिए । समाजका अध्यक्ष लगायत वरिष्ठ व्यक्तित्वहरूद्वारा द्वीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरिएको थियो ।

नेपाल र बेलायतको राष्ट्रिय धुन बजाएर शुरु भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष सुमन गुरुङले स्वागत गरेका थिए ।

संस्थाका पूर्व प्रमुख तथा संस्थापक सल्लाहकार मोहन गुरुङ, पूर्व अध्यक्षहरू क्रमशः हरिगोविन्द गुरुङ, क्या.रि. नारायनबहादुर गुरुङ, चन्द्रमान गुरुङ तथा संस्थाकी उपाध्यक्ष कमला गुरुङ लगायतले शुभकामना मन्तव्य राखेपछि महासचिव ह्यारी गुरुङले आफ्नो प्रत्तिवेदन प्रस्तुत गरेका थिए ।

त्यसपछि कोषाध्यक्ष अर्चना गुरुङले संस्थाको आर्थिक विवरण पेश गरेकी थिइन् । दुबै प्रतिवेदनलाई हलले सर्वसम्मत अनुमोदन गरी पारित गरेको थियो । कार्यकारी समितिले संस्थाको विधानका केही बुँदा र धारा परिमार्जित गरी अधिवेशनमा पारित गरयो । सबै संशोधित तथा थप धाराहरूलाई संस्थाका विशेष सल्लाहकार तथा विधान कमिटीका संयोजक सुमलकुमार गुरुङले प्रस्तुत गरेका थिए । धेरै छलफल पश्चात संशोधित तथा थपघट गर्नुपर्ने बुँदा सर्वसम्मत अनुमोदन गरी पारित गरिएको थियो ।

अधिवेशनको प्रक्रियाअनुरुप सभाध्यक्ष श्रीचन्द्र गुरुङले आफ्नो चार वर्षको कार्यकालमा गरेका गतिविधिबारे प्रष्ट पारे । गुरुङले आफ्नै कार्यकालमा समाजको घर किन्न सफल भएको, संस्थाका सदस्यहरूबाट उठाईएको एकलाख साठी हजार निर्ब्याजी ऋण लगभग तिरिएको साथै यस कार्यका लागि आमा समूहको विशेष पहल रहेको बताउँदै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले प्रत्येक सहयोगी सदस्यहरूलाई धन्यवाद दिएर समिति विघटन भएको घोषणा गरेका थिए । 

त्यसपश्चात उनले निर्वाचन कमिटीका अध्यक्ष क्या.रि. नारायणबहादुर गुरुङ ‘एमभिओ’, सदस्यद्वय हरिगोविन्द गुरुङ तथा चन्द्रमान गुरुङलाई नयाँ समिति गठनका लागि आव्हान गरेका थिए ।

बन्दसत्र घोषणा गरेपश्चात नयाँ कार्यकारी समिति गठनको पहल भएको थियो । क्या.रि. नारायणबहादुर गुरुङ ‘एमभिओ’ को अध्यक्षतामा गठन भएको निर्वाचन मण्डलले हिराप्रसाद गुरुङको नेतृत्वमा २२ सदस्यीय आठौँ कार्यकारी समिति गठन गरेको छ । जसमा अध्यक्ष हिराप्रसाद गुरुङ, चारजना उपाध्यक्षहरू योगेश गुरुङ, सुमन गुरुङ, ह्यारी गुरुङ, र पार्वती गुरुङ, महासचिवमा डम्बर गुरुङ, कोषाध्यक्ष लछुमान गुरुङ,सहसचिव चन्द्रदेवी गुरुङ, तथा १३ जना कार्यकारी सदस्यहरू बिरबहादुर गुरुङ, नन्दजंग गुरुङ, धनबहादुर गुरुङ, रिमा गुरुङ, खड्का गुरुङ, लक्ष्मी गुरुङ, विष्णु गुरुङ, तारा गुरुङ, याम गुरुङ, सारादेवी गुरुङ, कमला गुरुङ, दिता गुरुङ र धन (ज्योती) गुरुङ रहेका छन् ।

निर्वाचन मण्डलका सदस्य हरिगोविन्द गुरुङद्वारा घोषणा भएको नवनिर्वाचित कार्यकारी समितिलाई निर्वाचन मण्डलका अध्यक्ष क्या.रि. नारायनबहादुर गुरुङ ‘एमभिओ’ ले शपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री