सन्तोष लामिछानेको ‘अल्टिमेट आकाश’ सार्वजनिक

फोटोमा बायाँबाट: कृष्ण बजगाई, गोवर्धन पूजा, बिन्दु तिमिल्सिना, सन्तोष लामिछाने (अगाडि: आर्या र काव्या लामिछाने), डा. भरतप्रसाद लामिछाने, प्रेमराजा महत, दिनार रनादी

अमेरिका । अमेरिका निवासी साहित्यकार सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट आकाश’ नोभेम्बर १७, २०१८ का दिन म्याडिसन, अमेरिकामा एक समारोहबीच सार्वजनिक गरियो ।

सो उपन्यास बेलायतस्थित समकालीन साहित्य प्रतिष्ठानले प्रकाशित गरेको हो ।

वरिष्ठ लोक गायक एवम् अवैतनिक नेपाली महावाणिज्य दूत प्रेमराजा महत, कवि गोवर्धन पूजा, साहित्यकार कृष्ण बजगाईंको बिशिष्ट आतिथ्यमा सो उपन्यास लोकार्पण गरिएको थियो ।

उक्त कार्यक्रमका लागि बेलायतबाट आएका कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार कृष्ण बजगाईंले कृतिको समिक्षा गर्दै नेपाली डायास्पोरिक साहित्यमा ‘अल्टिमेट आकाश’ एउटा कोशे ढुंगाको रुपमा रहने धारणा व्यक्त गर्नुभयो । 

अमेरिकी भूमिमा युवाले गर्नु परेको संघर्ष र सफलताको कथा रहेको उक्त उपन्यासको विषयवस्तु, भाषाशैली रोचक रहेको बताउनुभयो ।

उपन्यासकार लामिछानेका पिता डा. भरत लामिछानेले कृतिका तिता मिठा कुरा कोट्याउँदै कृतिको सकारात्मक पक्ष र चुनौती माथि आफ्नो मनसाय अगाडि पस्किनुभएको थियो ।

अवैतनिक नेपाली महावाणिज्यदूत प्रेमराजा महतले देशबाट टाढा भए पनि देशकै तर्कनामा रहेर नेपाली भाषा र संस्कृति उकास्न र नयाँ पुस्तालाई सिकाउन लागिपरेको नेपाली समुदाय देखेर आफूलाई खुशी लागेको बताए । साहित्यकार गोवर्धन पूजाले सिर्जनात्मक लेखनमा निरन्तर अभ्यासको खाँचो औँल्याए ।

उपन्यासकार सन्तोष लामिछानेले अमेरिकी भूमिमा नेपाली युवाका भोगाईलाई उपन्यासको रुप दिएको बताउँदै केही हदसम्म भए पनि यसबाट नेपाली युवा लाभान्वित हुन सक्ने कुरा बताउनुभयो ।

नेपाली अमेरिकन मैत्री संघ (नाफा) को आयोजना गरेको १०९ औं महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती एवम् ‘नाफा साहित्यिक साँझ २०७५’ बिचमा उक्त बिमोचन कार्यक्रम भव्यरुपमा सम्पन्न भएको थियो । प्रतियोगी तथा अप्रतियोगी गरी ३५ वटा कविता वाचन गरिएको उक्त  कार्यक्रम नाफा अध्यक्ष सन्तोष लामिछानेको सभापतित्वमा भएको थियो ।

उक्त उपन्यास ‘अमेजन’बाट अनलाईनमा बिक्री भई रहेको कुरा कार्यक्रममा बताइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री