अल्डरसटमा शिव मन्दिर खरिदमा राजदूतको चासो

लण्डन  । बेलायतको अल्डरसटमा नेपाली समुदायले खरिद  गर्न लागेको शिव मन्दिर तथा नेपाली कम्युनिटी सेण्टरबारे  राजदूतले चासो ब्यक्त गरेका छन्।  

मन्दिर खरिद प्रकृया सम्बन्धि समाचार पढेपछि बेलायतका लागी नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले चासो लिएर खरिद गर्न लागिएको भवन निरिक्षण गरे । 

गत डिसेम्वर ८ तारिख साँझ परिवारसहित पुगेका राजदूतको जिज्ञासा शिव कल्चर तथा कम्युनिटी सेण्टरका अध्यक्ष रोहित गुरुङ, महासचिव विक्रम भट्टराई, कोषाध्यक्ष वाचस्पती रेग्मी, भवन खरिद संयोजक हर्क गुरुङ र सल्लाहकार भीम बानियांले मेटाएका थिए । 

राजदूत डा. सुवेदीले सबै बुझेपछि नेपाल सरकारका तर्फबाट गर्न सकिने हरेक प्रकारका सहयोगको अश्वासन दिएका छन्। उनले बेलायतको नेपाली समुदायलाई यो नेपालीहरुकै गौरव र एतिहासिक भवन भएको जनाउदै सहयोग गर्न अपिल गरे ।

राजदूत आएका बेला एनआरएनए युकेका उपाध्यक्ष्य शेरबहादुर सुनार, ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव वेलवासे र समितिका अन्य पदाधिकारी समेत सहभागी थिए ।

सन् २००७ सालतिरबाटै अल्डरशट क्षेत्रमा वसोवास गर्ने केहि नेपालीले यस क्षेत्रमा एउटा हिन्दू मन्दिरको आवश्यकता महसुस गरी कसरी बनाउन सकिएला भनि पहल सुरु गरेका थिए । लामो समयसम्म मन्दिर स्थापनाबारे कुनै प्रगति भएन।  तर संस्थाले सन् २०१४ मा प्रकाश राउतको अध्यक्षता र भीम बानियाको अर्थ संकलन संयोजकत्वमा एउटा समिति बनायो जुन कोशेढुंगा सावित भयो । त्यस दिन बसेको बैठकले उपस्थित सदस्यहरुबाट ३ वर्षे योजना अन्तर्गत रकम जम्मा गर्ने गरी एकलाख ३ हजार पाउन्ड कवुल गरायो र सुरु भयो रकम संकलन कार्य । तर, विविध कारणले बीचमा रकम संकलन रोकियो र योजना सफल हुन सकेन । धेरै अभियन्ताले यो ठुलो प्रोजेक्ट भएकाले संभव छैन् भनेर आशा पनि मारेका थिए । तर वुद्दिष्ट कम्युनिटी सेण्टर युकेका उपाध्यक्ष तथा गोर्खा टेनिस एशोसियसनका अध्यक्ष हर्क गुरुङ भवन खोजेर पूर्ण योजनासहित शिव कल्चरल एण्ड कम्युनिटी सेण्टरका पदाधिकारी खोज्दै आए र भवन खरिद  प्रकृया अगाडि बढेको छ । 

खरिद गर्न लागिएको भवनको मुल्य तीन लाख पाउन्ड छ भने हालसम्म संस्थाले नगद १ लाख ३५ हजार जम्मा गरिसकेको छ । १ लाख ८ हजार ७२९ उठ्न बांकी छ । यदि कवुल गरेका दाताले सबै रकम जम्मा गरि दिए ५८ हजार पाउन्ड मात्र नपुग देखिएको छ । 

यस कार्यमा फानवरो साई सेण्टरले ५० हजार पाउन्ड भन्दा बढि सहयोग गरेको छ । विश्वकर्मा समाज युके, श्रीजनशिल समाज युके, एशियन महिला एशोसियन युके (आमा), तमुधिं युके र ग्रेटर रशमुर नेपाली कम्युनिटी पनि सक्दो सहयोग गर्न लागिपरेका छन् । 

यो भवन खरिद भइसकेपछि दुई किसिमबाट सबै नेपालीहरुले प्रयोग गर्न मिल्ने छ । पहिलो यस भित्र एउटा शिव मन्दिर र  प्राथना कक्ष हुनेछ भने दोश्रो मन्दिर क्षेत्र आवश्यक समयमा मात्र खोलिने हुंदा अरु समयमा हल सामाजिक कार्यमा प्रयोग गर्न सकिने छ ।

भवन खरिदका सदस्य तथा सल्लाहकार भीम बानियाका अनुसार भवन खरिदपछि मर्मत तथा मन्दिर व्यवस्थापन खर्च जुटाउन आगामी २०१९ जनवरी ४,५ र ६ मा नेपालका वाचन शिरोमणी दिनवन्धु पोख्रेलवाट श्रीमद् भागवत र वौध्द धर्म संवन्धी प्रवचन गर्ने तयारी छ । उक्त समारोहमा राजदूत सहभागी हुने छन्। 

भवनको उदघाटन शिव मन्दिरको पूर्ण स्थापना र मुर्तिको प्राण प्रतिस्थापनसंगै भव्य समारोहका साथ पछि गरिने जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री