‘कोलम्बस यात्रा’ लिएर आए कवि खेरेस

लण्डन । बेलायतलाई कर्मथलो बनाएर कविता साधना गरिरहेका खोटाङका कवि देवेन्द्र खेरेस आफ्नो दोस्रो कविता कृति ‘कोलम्बस यात्रा’ लिएर आएका छन् । एक दशकअघि ‘रुङ्ग्रीको बयान र नदी किनारा’ नामक पहिलो कविता कृतिबाटै आफ्नो पहिचान स्थापित गरिसकेका कवि खेरेसको ‘कोलम्बस यात्रा’को नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि बैरागी काइँलाले नेपाली वाङ्मय परिषद्, नेपाल र नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा राजधानीमा आयोजित एक समारोहमा लोकार्पण गरे ।

उक्त समारोहमा काइँलाले मूलधारको नेपाली साहित्यले डायास्पोराको साहित्यलाई स्वीकार नगरेको भन्दै अब डायास्पोरिक साहित्यलाई स्वीकार नगरी धर नपाइने बताए । कविहरू स्वभावैले युद्धविरोधी हुने उल्लेख गर्दै उनले युद्धको कविता लेख्नु भनेको युद्धको अन्त्यको चाहना राख्नुभएको जिकिर गरे । उनले भने, ‘कवि खेरेसका कविताहरू निकै सशक्त छन् ।’

कार्यक्रममा कवि जसराज किराती, श्रवण मुकारुङ र सुरेश हाँचेकालीले बोलेका थिए । उनीहरूले कवि खेरेसका कविताले देश, समाज, संस्कृति र डायास्पोराका विषयलाई लिएर खेरेसले रचेका कविताहरू अब्बल रहेको दाबी गरे । कार्यक्रममा कवि खेरेसले कवितालेखन अनुभूतिबारे बोलेका थिए ।

नेपाली प्रतिभा पतिष्ठान, बेलायतद्वारा प्रकाशित ‘कोलम्बस यात्रा’भित्र ‘मेरा कविताहरू’, ‘एक निर्वासित बकपत्र’, ‘एभन नदी बग्न चाहन्छु’, ‘मलाई परदेशी नभन्नू’ लगायत ३१ वटा कविता समाविष्ट छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री