बुधबार, असार ४ २०७६ | Wed, June 19, 2019
नेपालको समय: २२:४९ | UK Time: 18:04

नाम फेर्ने रहर

नरेश खपाङ्गी मगर
२०७५ पुष १० गते १८:३३

लेखक

‘क्यान यु स्पेल आउट युअ (र) नेम फ (र) मी प्लीज ?’
जीन्दगीमा धेरै सोधिने प्रश्न बनेको छ माथिको प्रश्न विगत आठ वर्षयता मेरा लागि ।
‘माइ नेम इज नरेश’

यसो भन्दा एकैपटकमा नाम ठीकसँग लेखिएको शायदै होला । नेपालीबाहेक कसैले ठीक लेखेको पाइए ऊ कि भारतीय वा पाकिस्तानी मूलको हुनुपर्छ ।

सन् २०१० मा हिथ्रो विमानस्थलमा आइपुग्दा मलाई लिन श्रीमतीजीले ट्याक्सी पठाएकी रहिछिन् । आगमन कक्षमा आइपुगेर आफ्नो नाम अंकित प्लाकार्ड हेर्छु । दायाँ–बायाँ, वर–पर । पाउँदिनँ कतै मेरो नाम । सोच्छु कतै ट्राफिकमा पर्यो होला । मन बुझाउन खोज्छु । कफी पिउँछु । शौचालय जान्छु । चित्त बुझ्दैन । श्रीमतीजीलाई फेरि फोन गर्छु । मलाई फोनमै पर्खाएर पक्का गर्छिन्–ट्याक्सी विमानस्थल पुगिसकेको छ । फेरि धुइँ पाताल खोज्छु । थाक्छु ।
भतिजो पनि मलाई लिन आउने कुरा थियो । अब उसको नामबाट खोज्छु । रोबसन–उसको अंग्रेजी नाम छ । केहीबेरमा पत्तो लगाएँ । माथितिर मेरो नाम एनओआरआरआइएस (नोरिस) र तलतिर भतिजोको नाम रोबसन लेखिएको प्लाकार्ड थियो उनको हातमा । अब नरेशलाई नोरिस लेखेपछि कहाँबाट भेट्नु ?

यसरी आगमनमै नामससित गाँसिन पुगेको कठिनाइ आठवर्ष बित्दा पनि उस्तै छ । नेपालका साथीभाइ कहिलेकाहीँ सोध्छन्,–यतिका वर्ष युके बसेर अंग्रेजी त पानी भयो होला हैन ? आफ्नो बेहाल यस्तो छ कि आफ्नो नाम समेत यतिका वर्षमा भन्न जानेको छैन । स्पेल आउट गर्दा पनि मेरो जिब्रो, ओठ, दाँत कता ठोक्किन्छ कता ? कसैले बुझोस् त सही ? अनि त फोनेटिक अल्फाबेटकै सहारा लिनु परेको छ । ‘ए’ फ (र) अल्फा, ‘बी’ फ (र) ब्राभो ।

बेलाबेला सोच्छु, मान्छेले सबैभन्दा बढी दोहोर्याउने शब्द नै आफ्नो नाम होला । चाहे सेवा प्रदायकसित फोनमा बोल्दा होस् या कफी माग्दा । अथवा नयाँ मानिससित भेट्दा । एकैदिनमा पटकपटक आफ्नो नाम निकाल्न परिहाल्छ । बितेको आठ वर्षमा दिनको एकपटक मात्र आफ्नो नाम उच्चारण गर्दा पनि करिब ३ हजारपटक भनिएको हुनुपर्छ । भनिन्छ–‘अभ्यासले मानिसलाई पारंगत बनाउँछ’ । तर मेरो जीवनमा त्यो किन लागू नभएको होला ? आफ्नै नामका लागि कति सास्ती ? झोँक चल्छ– धर्म, जात, लिंग समेत फेर्न मिल्ने यो देशमा आफ्नै नाम किन नफेर्ने ?

‘नाममा त्यस्तो के राख्या छ ?’ शेक्सपियर भन्छन्, ‘गुलाबलाई गुलाब नभनेर अरु नै नामले बोलाए पनि उही सुगन्ध दिन्छ’ । नामकै बारेमा गोरखापत्रमा २०६१ सालमा एउटा समाचार पनि लेखेको थिएँ । रोल्पाको जैमा कसला स्वास्थ्यचौकीमा कार्यरत विष्णु थापाको नामले महिला वा पुरुष प्रष्ट नखुलाउँदा कसरी द्वन्द्वको केन्द्रमा पोस्टिङ हुन पुगिन् भनेर । त्यसो त नामले केही नदिए पनि नामसितको मोह भने निक्कै छ मेरो पनि ।

दुई दाजुहरु विद्यालय जाने भएकाले होला मैले साँवा अक्षर विद्यालय जान अगावै छिचोलेको थिएँ । त्यस्तै चार वर्षको थिएँ हुँला जिबा (हजुरबा) ले शान्ति प्राथमिक विद्यालय हाङपाङ, ताप्लेजुङमा भर्ना गर्न लानुभयो । त्यतिबेला सम्ममा मेरो नाम ‘नरेश’ भन्ने मलाई थाहा भइसकेको थियो । विद्यालयका तत्कालिन प्रधानाध्यापक बीबी सर (वीरबहादुर थापा) सित मेरो नाम लेखाउँदा जिबाले मेरो नाम लेखाउनुभयो–नरशरण । सोही विद्यालयमा पढ्ने मेरो ठूल्दाजु मेरो प्रधानाध्यापककै कक्षको ढोकामा दुईतिर हातले समाएर ‘सर, यसको नाम नरेश हो, नरशरण होइन’ भनेर चिच्याउनुभयो । हेड सरले ‘तँ हल्ला गर्छस् कक्षामा जा’ भन्दा दाजु एकछिन अलप हुनुहुन्थ्यो तर एकै मिनेटमा फर्केर उही क्रिया दोहोर्याउनुहुन्थ्यो ।

अन्ततः मेरो नाम नरशरण लेखियो । तर म हार मान्ने पक्षमा थिइनँ । प्रधानाध्यापकको कार्यालयबाट भुइँतल्ला झरेपछि घर फर्कन देब्रेतिर लाग्नुपथ्र्यो । म चाहिँ रुँदैरुँदै लागेँ दाहिनेतिर । एकछिन त जिबा फकाउँदै पछ्याउँदै हुनुहुन्थ्यो तर म केटाकेटीलाई बृद्धावस्थामा पुगेको बूढाले के भेट्नु ? पछि उहाँले चन्द्र काकालाई पठाउनुभएछ मलाई लिन । करिब एक किलोमिटर टाढा पुगिसकेको मलाई काकाले फकाउँदै पिठ्यूँमा बोकेर घर ल्याउनुभयो । आफ्नो नाम बिगार्देकोमा म त्यो साल विद्यालय नै गइनँ । अर्को शैक्षिक सत्रमा ‘नरेश’ नाम कायम भएपछि मात्र मेरो औपचारिक पढाइ शुरु भयो ।

हुन पनि जानेर हो कि नजानेर हो नामप्रति बिछट्टै मोह थियो । गाउँमा मसित नाम जुध्ने कोही थिएनन् । पछि हाइस्कुल जान शुरु गरेपछि थाहा पाएँ अर्का एक जना रहेछन् आफ्नै नाम गरेका । तैपनि हजारौँको बसोबास रहेको गाउँमा मसित नाम मिल्ने मात्र एक जना रहेछन् । राम, श्याम, हरि, कृष्णजस्तो दर्जनौँ त छैनन् नि भनेर चित्त बुझाएँ । कक्षा ७ मा पढ्दापढ्दै झापा झरेपछि पनि विद्यालयका करिब ७०० विद्यार्थीमा नरेश नाम गरेका कोही भेटिएनन् । खुशी नै थिएँ म ।

नामसितको सेखी चाहिँ नेपाल छँदै झर्न शुरु गरेको हो । काठमाडौँको कमलादीमा भएको एक कार्यक्रममा ताहाचल क्याम्पसका साथीहरुले नयाँ साथीलाई परिचय गराउन ल्याए । हात मिलाएपछि उनले अनुहारतिर हेरेर भने – म नरेश खपाङ्गी । उनले यत्ति के भनेका थिए मेरो त हाँसोको फोहरा नै छुट्यो । उनले हँसीमजाक गरेर मेरो नाम लिएका हुन् कि भन्ने लाग्यो तर उनको वास्तविक नाम पनि त्यही रहेछ । आफ्नो नाम धेरै कमसित जुधेकोमा बेलुनजस्तो फूलेको मेरो घमण्ड नाम थरसमेत मिल्ने अर्को साथीसितको भेटले चकनाचूर बनाइदियो । सुन्दैछु अहिले युकेमै गोरखा सैन्यमा सेवारत अर्को नरेश खपाङ्गी हुनुहुन्छ रे । उहाँसित भेट त भएको छैन तर अब भेट भएमा पनि पहिलेजस्तो नामसित मेरो आशक्ति छैन । भनिगएँ नि म त नाम फेर्ने सोचमा पो छु त ।

मेरो एक सहकर्मी छन् युकेमै । जोन नःकमी उनको नाम । मभन्दा २/४ वटा भोटा धेरै फटाएकै होलान् । तैपनि त्यो समयमा कस्तो मिलाएर राखेको उनको नाम ? सबैले बुझ्न सक्ने, टिप्न सक्ने । कसले राखिदिएको होला यस्तो नाम ? इर्ष्या पनि लाग्छ उनको नाम देखेर । अनि लाग्छ आफैँले मन पराएको नामसित दिक्दारी ।
खासमा नामभित्र ठूलो अर्थ रहेछ पश्चिमी संसारमा । विशेषगरी हामी एसिएन र अफ्रिकनका लागि । नामकै कारण पक्षपात र हेलाँहोचो पनि प्रशस्तै हुँदोरहेछ । नाम फेरेर अ‌ङ्ग्रेजी या युरोपियन नाम राख्दा त फाइदो पनि रहेछ ।

सन् २००९ मा युके सरकारले नाजिया मोहम्मद, मारियान नामागेम्बे र एलिसन टाइलर नक्कली नाम राखी करिब ३ हजार जागिरमा आवेदन पठायो । राखिएका नाम क्रमशः एसिएन, अफ्रिकन र अंग्रेज थिए । अंग्रेज नामले ९ आवेदन बराबर एक सकारात्मक जवाफ र अन्तर्वार्ताको अवसर पाए भने बाँकी दुई नामले एउटा सकारात्मक जवाफ र अन्तर्वार्तामा बोलाइन १६ वटा आवेदन गर्नुपर्यो । यसैगरी, बीबीसी लण्डनले गतवर्ष उस्तै योग्यता र अनुभव राखेर आडम र मोहम्मदको कृत्रिम नाममा जागिरका लागि १०० वटा आवेदन दिएकोमा आडमलाई १२ वटा अन्तर्वार्तामा बोलाइयो भने उही योग्यता र अनुभवका मोहम्मदलाई ४ वटामा मात्र ।

सन् २०१६ मा अमेरिकामा गरिएको एक अध्ययनमा जागिरका लागि १६०० बायोडाटा १६ महानगरपालिकामा पठाइएको थियो । जसमा एउटै मानिसको बायोडाटा अल्पसंख्यक देखिने र नदेखिने गरी पठाइएको थियो । तीमध्ये अल्पसंख्यक नदेखिने गरी गरिएको आवेदनमा रोजगारदाताबाट २५ प्रतिशतमा जवाफ आयो भने अल्पसंख्यक देखिने गरी गरिएको उही व्यक्तिको आवेदनमा १० प्रतिशत मात्र ।

फ्रान्समा सन् २०१६ मा भएको एक सर्भेमा त्यहाँको श्रम मन्त्रालयले ६ वटा शहरका ४० कम्पनीमा १५०० जागिरका लागि ३००० आवेदन पठायो । जसमा परम्परागत फ्रेञ्च नामबाट गरिएको आवेदनमध्ये ४७ प्रतिशतमा अन्तर्वार्तामा बोलाइयो भने उत्तर अफ्रिकी नामबाट गरिएकोमा आवेदनमा ३६ प्रतिशतमा मात्र ।
यस्तै अध्ययनको परिणामका कारण होला युकेको कन्फेडेरेसन बिज्नेस इन्डष्ट्री (सिबिआइ)ले सन् २०१६ देखि जागिरका लागि नाम उल्लेख नभएको आवेदन लिन शुरु गरेको छ । युकेकै निजामति सेवामा सन् २०१५ देखि नै नाम नराखिएको आवेदन लिन शुरु गरिएको छ ।
नामका कारण जागिरमा मात्र होइन अरु क्षेत्रमा पनि असर पर्ने गरेको बेलायतको ‘द सन’ पत्रिकाको एक सर्भेक्षणले देखाएको छ । द सनका अनुसार मोहम्मद र जोन नाम राखी विभिन्न कार इन्स्योरेन्स कम्पनीमा कोटेसन मगाइएकोमा पाँचवटा कम्पनीले पठाएको कोटेसनमा मोहम्मदलाई जोनभन्दा २०५ पाउण्डदेखि ९१९ पाउण्ड बढी मूल्य भएको कोटेसन पठाइएको थियो ।
युकेकै ‘द गार्डियन’मा विज्ञान सम्वाददाता हाना डेभलिन लेख्छिन्,–‘उस्तै बायोडाटा भएकामध्ये श्वेत नाम भएकाले अल्पसंख्यक नाम भएका भन्दा ७४ प्रतिशत बढी काम पाउने सम्भावना हुन्छ ।’ यतिमात्र होइन । ‘विश्वविद्यालयका प्राध्यापकहरुले श्वेत नामबाट आएका इमेलको जवाफ दिने सम्भावना बढी हुन्छ’–उनी थप्छिन् ।

नाम फेर्ने त सोचियो तर कस्तो राख्ने ? कति अक्षरको ? पूर्वीय या पश्चिमी ? अर्को मनले सोच्छु यी गैरनेपालीले बुझेनन् भन्दैमा नाम फेर्नुपर्ने किन ? उनीहरुले बुझेनन् त त्यसमा मेरो गल्ती के ? मनभित्र द्वन्द्व चल्छ । नेपाललाई ‘नेपाल’ नभनेर बडा अंग्रेजी टोनमा ‘नेफोल’ भनेकोमा सामाजिक सञ्जालमा आलोचना पढ्दा ‘छोड दे भाइ नामको चक्कर’ भन्ने पनि लाग्छ । बरु बोलाउने छोटो टेक नाम राख्ने कि ? यहाँ चलिरहेकै छ हरिलाई ह्यारी, श्यामलाई साम, कृष्णलाई क्रिस । त्यसो त रैथानेहरुले पनि चलाइरहेकै छन् क्रिश्चियनलाई क्रिस, बेञ्जामिनलाई बेन, क्याथरिनलाई क्याथी ।

अब तपाई नै भन्नुहोस्,– म नाम फेरुँ कि क्यारुँ ?

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक