अष्ट्रेलियामा सन्दीपको उत्कृष्ट बलिङ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दिप लामिछाने । फाइल तस्वीर – रोशन सापकोटा, रासस

काठमाडौँ, १२ पुस – अष्ट्रेलियामा त्यहाँको बिग बास लिग खेलिरहेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले लगातार तीन खेलमा विकेट लिन सफल भएका छन् ।

मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले आज भएको तेस्रो खेलमा सिड्नी सिक्सविरुद्ध दुई विकेट लिन सफल भएका छन् । चार ओभर बलिङ गर्दै सन्दीपले मात्र १८ रन खर्चेर दुई विकेट लिन सफल भएका हुन् । उनले सिड्नी सिक्सक मोइसेस हेनरिक्स र टम कुरनलाई पेभेलियन फर्काए ।

आजको खेलमा दुई विकेट लिएपछि प्रतियोगितामा उनको विकेट सङ्ख्या सात पुगेको छ । उत्कृष्ट फर्ममा रहेका सन्दीप प्रतियोगिताको अहिलेसम्म सबैभन्दा बढी विकेट लिने पहिलो स्थानमा छन् । सन्दीपले पहिलो खेलमा सिड्नी थण्डरविरुद्ध दुई तथा दोस्रो खेलमा होबार्ट हुरिकेन विरुद्ध तीन विकेट लिएका थिए ।

रवि सम्मानित 

लामो समयदेखि विदेशमा रही कराते खेलको विकास र विस्तारमा योगदान पु¥याएवापत नेपाल वादोकाइ कराते सङ्घ र जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल सङ्घले खेलाडी रवि शाहीलाई आज सम्मान गरेको छ ।

लामो समयदेखि युएइमा रही कराते खेलको विकास र विस्तारमा योगदान पु¥याएवापत रवीलाई जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल सङ्घका सचिव सुमन तिमिल्सिना र मानसिंह डोजोका प्रमुख प्रशिक्षक महेश महर्जनले रविलाई सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।

सन् २००७ मा रोजगारीको सिलसिलामा रवि दुबई गएका थिए । करीब तीन वर्ष रवि दुबईस्थित कुरियर कम्पनीमा कार्यरत रहे । सन् २०१० देखि भने रवि दुबईमै करातेको प्रशिक्षण क्षेत्रमा हालसम्म सङ्लग्न रहँदै आएका छन् ।

सन् २०१० मा रविले दुबईमै रहेको जापान कराते सेन्टरमा प्रशिक्षण गराउने अवसर पाएका थिए । हाल रविले दुबईमा रहेका अन्य नेपाली खेलाडीसँग मिलेर एभरेष्ट मार्सल आर्ट क्लब सञ्चालन गरिरहेका छन् । रवि क्लबका प्राविधिक निर्देशक तथा प्रमुख प्रशिक्षक पनि हुन् ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री