ग्याल्मोलाई सम्मान र अधिकारीलाई प्रतिभा पुरस्कार

लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नेपाली गीत–संगीतका क्षेत्रमा अतुलनीय योगदान पुरयाएबापत दार्जिलिङकी प्रसिद्ध गायिका दावा ग्याल्मोलाई ‘प्रतिभा सम्मान’ र निवन्ध तथा अनुवादका क्षेत्रमा उल्लेखनीय योगदान दिएवापत गोरखाका युवा लेखक तथा अनुवादक बलराम अधिकारीलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरेको छ ।

शनिबार प्रज्ञा भवन, कमलादी, काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि एवम् मुन्धुमविद् बैरागी काईंलाले उक्त सम्मान तथा पुरस्कार प्रदान गरे । काईंलाले दोसल्ला, ताम्रपत्र र २० हजार राशीसहितको ‘प्रतिभा सम्मान’ ग्याल्मोलाई र ताम्रपत्र र एक लाख रुपैयाँ नगद राशीसहितको ‘प्रतिभा पुरस्कार’ अधिकारीलाई प्रदान गरेका थिए ।

सम्मान तथा पुरस्कार प्रदान गरेपछि आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि काईंलाले नेपाली भाषा, साहित्य, कला तथा संगीतका क्षेत्रमा दार्जिलिङको अतुलनीय योगदान रहेको बताए । उनले ग्याल्मोजस्ती प्रभावशाली गायिका र युवा निवन्धकार तथा अनुवादक अधिकारीलाई बेलायतमा रहेको नेपाली वाङ्मयिक संस्थाले सही मूल्यांकन गरी सम्मान गरेकोमा खुसी प्रकट गरे ।

समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानकी अनुवाद विभाग प्रमुख प्राज्ञ प्रा.डा. उषा ठाकुर र कवि श्रवण मुकारुङले बेलायतमा रहेको प्रतिभा प्रतिष्ठानले भाषा, साहित्य, कला र संगीतका क्षेत्रमा योगदान दिएका स्रष्टालाई सम्मानित तथा पुरस्कृत गर्दै सत्कार्य गरेको उल्लेख गरे । कार्यक्रममा संगीतकार आभाष र संस्कृतिविद् डा. भक्त राईले सम्मानित तथा पुरस्कृत प्रतिभाका बारेमा बोलेका थिए ।
प्रतिष्ठानकी अध्यक्ष दीपा राई लिम्बू, वरिष्ठ उपाध्यक्ष गणेश राई, कोषाध्यक्ष देवेन्द्र खेरेस र मानार्थ सदस्य एवम् नेपाल संयोजक शशी लुमुम्बूले संस्थाका गतिविधि तथा सम्मान र पुरस्कार सम्बन्धमा जानकारी दिएका थिए ।

समारोहमा सम्मानित तथा पुरस्कृत प्रतिभा ग्याल्मो र अधिकारी पुरस्कृत भएकोमा कृतज्ञता प्रकट गर्दै आफ्ना अनुभूति व्यक्त गरेका थिए ।
११ वर्षअघिदेखि आरम्भ भएको सम्मान तथा पुरस्कारद्वारा अहिलेसम्म २२ जना सम्मानित तथा पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री