मंगलबार, चैत १२ २०७५ | Tue, March 26, 2019
नेपालको समय: १०:१२ | UK Time: 04:27

बेलायतमा बढ्दो पारिवारिक विचलन

सुरेन्द्र श्रेष्ठ
२०७५ पुष २० गते १६:०८

सुरेन्द्र श्रेष्ठ

म यहीं कै एक गोरा साथीसंग बेलायत आएको थिएं । ऊ आमासंग बस्थ्यो भन्ने थाहा थियो । बाबुसंग छुट्टेको धेरै वर्ष भै सकेको थियो । हामीलाई लिन एयरपोर्टमा बुढाबुढी नै आएको देख्दा म दंग परें । सायद ढांटेछ गोरा साथीले भन्ठाने । करिब अढाई घण्टाको ड्राइभिङ्ग पछि हामीलाई लिन आएको गाडी रोकियो । घर आइपुग्यो होला भन्ठानेको त सामान अर्को गाडीमा हाल्न थाल्यो । म त थाकेको त्यस माथि पनि डिसेम्बरको जाडो, घर भित्र छिर्न खोज्दै थिएं अर्को गाडीमा बसाल्यो र बुढालाई धन्यवाद दिंदै बुढीले गाडी चलाएर करिब आधा घण्टा पछि घर आइपुगेको जानकारी पाएं ।

सायद २–३ दिन पछि होला मेरो साथीको बाबुले खाना खान एउटा पवमा डाक्यो । सवै जना बडो राम्ररी सल्लाह गरेको जस्तो गर्थे, एक छिन नरोकी कुरा गर्थे । मनमनै म सोंच्दै थिएं यति राम्रो सम्वन्ध हुंदाहुंदै संगै बस्न के ले रोक्यो होला ? त्यसपछि पटक पटक मैले काम गर्ने ठाउंमा र पछि हामी बसेकै ठाउंमा पनि सबै जना मिलेर आउने क्रम चलि नै रहयो । बुढीलाई बुढा बस्ने ठाउं थाहा भएको तर बुढालाई बुढी कहां बस्छे भन्ने अहिलेसम्म पनि थाहा छैन रे । यो अकल्पनीय दृष्यले मलाई शुरु देखिनै यहांको समाजको बनोट अवश्य पनि फरक छ भन्ने अनुमान गरायो ।

शुरुमा काम गरेको नेपाली रेष्टुरेन्टमा दुईजना मिल्ने केटा साथीहरु नियमित रुपमा आउंथे । चिनजान भए पछि अन्तरंग कुरा हुन थाल्यो । बेला बेलामा छोरा छोरी पनि ल्याउने गर्थे । तर श्रीमती कहिल्यै नल्याउने हुंदा एक दिन मैले उनीहरुलाई सोधें । केही समय अगाडि पारपाचुके भएको रहेछ । बच्चाहरु श्रीमतीले हेर्ने हुंदा घर छाडेर आफू भने बाहिर बस्दै आएका थिए । छोरा छोरी लिन जांदा कहिलेकाहीं आफ्नो पुरानो श्रीमतीको नयां श्रीमानले ढोका खोल्ने गरेको कुरा पत्याउन गाह्रो परयो ।

ब्राइटनमा रेष्टुरेन्ट चलाउंदा माथि एउटा कोठामा भाडामा बस्ने गोराको कथा त झन् चर्को थियो । 
सधैं झैं आफू कामबाट फर्केर घरको ढोका खोल्न खोज्दा त ताला नै अर्को फेरिएको देखेर रिसले ढोकै फुटाएर भित्र पस्दा तुरुन्त प्रहरी आएर पक्राउ गरेछ । सगैं बस्दै आएकी केटीले अर्कै संग लागेर उसलाई घरबाट निकालिछ । घरबाट कुनै पनि सामान (पासपोर्ट समेत) निकाल्न उसले पाएन रे । उक्त घरको केही दुरी भित्र नै जान नपाउने गरी रोक लगाइएकोले उसको बाबु मार्फत केही सामान र पछि आफ्नो छोरालाई हप्ताको एक पटक भेट्न पाउने भएछ । निकै दुःख गरेर बचाएको पैसाले किनेको घर छाडेर हाम्रो रेष्टुरेन्टमाथि बहालमा एउटा कोठा लिएर लामो समयसम्म बस्यो ।

वर्दिङमा रेष्टुरेन्ट लिंदा एक जना ६५–६६ वर्ष जतिको स्कटिस बुढो गोरा फ्रेड बस्ने गथ्र्यो । हामी मध्ये कसैले पनि गाडी नचलाउने हुंदा उसलाई पनि साथै राख्यौं । २४ सै घण्टा चुरोट रक्सी पिउनु पर्ने, सोमबार पेन्सन थापे पछि २–३ दिन त बेपत्ता हुन्थ्यो, ढोका थुनेर बस्थ्यो । ४–५ वटा छोरा छोरी थिए रे । धेरै अगाडि श्रीमतीसंग छोडपत्र गरेपछि बालबच्चा भेट्ने क्षमता नभएर कसैसंग भेटघाट थिएन रे । केही वर्ष अगाडिसम्म क्रिसमसमा हामी भेटेर केही ड्रिङ्कस दिन्थ्यौं । अहिले त त्यहांबाट पनि सरेछ । सायद यो दुनियांमा नहुन पनि सक्छ ।

फण्डिन भ्यालीमा घर किनेर बस्न पहिला नै मेरो दोस्रो छिमेक हाम्रो नियमित ग्राहक थिए । हामी एक अर्को घरमा आउने जाने पनि हुन्थ्यो। विशेष गरि उनी युवा तर पुरातन खालका गोरा थिए । अंग्रेजी संस्कारहरुको पालन गर्दथ्यो । वर्दिङमा बाबुले खोलेको इन्सुरेन्स कम्पनी चलाउंथ्यो । मैले सबै इन्सुरेन्सको काम उनी संगै 
गर्थे । संगै काम गर्ने संग उसको बिबाह हुंदा हामी पनि चर्चमा गएका थियौं । उनीहरुको छोरी सात महिनाको गर्भ हुंदै जन्म भएकोले सारै मेहेनत गरेर हुर्काएको थियो । हाम्रो सानो छोरी भन्दा केहि वर्ष मात्रै जेठी भएकोले उनीहरु संगै खेल्थे पनि । हामीले वर्दिङ छाडेको केहि समय पछि उनीहरुको पनि पारपाचुके भएछ । मेरो केटा साथी फेरि अर्को संगै काम गर्ने संग एउटा छोरो सहित बस्न थालेछ । उसको बुढी पनि उनीहरुकै सबै भन्दा धेरै मिल्ने साथीसंग बस्न थालेछ । धेरै समय पछि मैले सम्पर्क गरें र छोरी सहित भेट गर्न आयो अनि एक रात मेरैमा बितायो । कुराकानी कै क्रममा मैले सोधें तिमीहरु त एकदम खुशी होलानी ? कस्तो छ नयां जीवन भनेर सोध्दा एक छिन गमेरे यस्तो पो जवाफ दियो, समान व्यवहार तर फरक मानिस । मैले पनि ए हो र भनें । मन मनमा चाहिं किन साट्नु परेको थियो र अर्को मानिस भन्ने लागेको थियो । उनीसंग अहिले पनि कहिलेकाहीं फोन सम्पर्क हुन्छ ।
यस्ता थुप्रै उदाहरण देखियो यो देशमा आएपछि । श्रीमान श्रीमती वा केटा केटीको मन नमिलेपछि अथवा एकै ठाउंमा बस्न नसके पछि सधंैभरी झगडा वा मनमुटाव गरेर बस्नु भन्दा छुट्टिएर बस्नु ठिकै त हो नि जस्तो लाग्नु स्वभाविक हो । हाम्रो समाज भन्दा अति नै भिन्न रहेको यो समाजमा त्यस्तो हुनु अनौठो कुरा थिएन । पारिवारिक वा वैवाहिक सम्बन्ध विच्छेद भइ सकेर पनि साथीको रुपमा सम्बन्ध रहिरहनुलाई सकारात्मक रुपमा लिन सकिन्छ । बालबच्चाको लालनपालनमा पनि दुवैको भूमिका रहनु राम्रो पक्ष हो यस्तै यस्तै सोंच्थे मैले ।

भर्खरै मेरो अति मिल्ने साथीले आफ्नो श्रीमती छाडेछ, मलाई पत्याउन गाह्रो परयो । हाम्रै रेष्टुरेन्टमा उनीहरुको पहिलो भेटघाट भएको थियो । हाम्रो राम्रो सम्पर्क थियो । हामी नजिकै बस्थ्यौंं । म संग यहांको कागजै नहुंदा पनि सन् २००३ तिरै घर किन्न पर्छ भन्दै सहयोग गरेको थियो । त्यसपछि अर्को तीनवटा घर किन्न मोर्गेज मिलाइदियो र एउटा घरमा त उसका अरु केही बिल्डर साथीहरुसंग मिलेर व्यवसाय गर्ने भनेर शेयर पनि हालें । मलाई पनि वेल्स जाउं घर किनेबेच गर्ने भन्दै थियो । मैले त्यो मनस्थिति बनाउन सकिन् । उसले 
आफैंले बडो मेहनेत गरेर ठूलो घर बनाएको थियो । घर बनाउन म र कुन्दनले पनि केहि दिन सहयोग गरेका थियांै । घर जग्गा सम्बन्धी काम गर्ने हुंदा ऊ पहिलेदेखि वेल्स जान चाहन्थो तर श्रीमतीको सबै परिवार यतै भएकोले सर्न चाहंदैन थियो । उनीहरुको एउटा छोरी पनि भयो । अति मायाँ गरेर पालेका थिए । केहि कुराको कमि देखिन्नथ्यो । दुई वर्ष जति अगाडि यहांको सबै बेचेरे वेल्स बसाई सरयो । त्यसपछि पनि हाम्रो नियमिति सम्पर्क भइ नै रहयो । उनले १ वर्षमा १०० भन्दा बढी घर किनेर ठूलो कम्पनी बनाई सकेका थिए । खै के कारणले हो साथीको श्रीमती त नजिकै बस्ने लरी ड्राइभरसंग जाने भइछ । खबर सुन्दा त पत्याएको थिइन तर केही हप्ता अगाडि उनीहरु फेरि वर्दिङ सरेर नयां हुनेवाला श्रीमानका साथ मेरो रेष्टुरेन्टमा आए पछि त पत्याउनै परयो । यो घटनाले मलाई केहि कुराहरु सोंच्न सहयोग ग¥यो । वैवाहिक सम्बन्ध भनेको प्रशस्त सम्पती र उर्बर जीवनसंग मात्र सीमित छैन् । एक आपसमा बुझ्ने वा सहमतिमा आउन सक्नु अति आवश्यक छ । यसलाई यसरी नै बुझेर सहज महशुस गर्न थालेको थिएं ।

सामान्यतया मेरो मन रुंदैन । आमाको स्वर्गारोहण पछि लेखेको लेखमा अहिलेसम्म मैले एक थोपा आंशु झारिन् भन्ने मेरो भनाई प्रति एक मित्रले फोन गरेर निकै लामो कुरा समेत भएको थियो । त्यहि क्रममा मैले कि त मेरो आंशु नै छैन्, कि त अति कठोर मन हुनु पर्छ भनेको थिएं तर त्यो दुवै आधारहरु गलत भएको सावित भयो । त्यस्तो दृष्य मैले देखेको थिइन जुन त्यहां देखें । अनि मेरो वाक्य फुटेन, आंखा रसायो, धेरै दिनसम्म त्यसले चिमोटी रहयो ।

मैले माथि उल्लेख गरेको मेरो मिल्ने साथीले २ वटा छोरीहरु भएको अर्को केटी साथी बनाएछ । उसले पनि भर्खरै श्रीमान छाडेकी । अहिले उनीहरु प्राय संगै बस्दै आएका छन् । गत शुक्रवार आफ्नो छोरी हुनेवाला श्रीमतीको दुईवटा छोरी र उसको मिल्ने साथीको दुई छोरी सहितको परिवार हाम्रो रेष्टुरेन्टमा आए । एउटाको बाबु छ, आमा छैन्, दुईटाको आमा छ बाबु छैन् । दुईटाको बाबु आमा दुवै छन् । मैले ती बच्चाहरुको तुलना गर्न थालें । सबै रमाएर खेलिरहेका थिए । खाना बांडी चुंडी खाइरहेका थिए । सबैलाई नजिकैको चिडिया खानामा दिन भरि घुमाएर ल्याइएको रहेछ । सबै जना खुशी देखिन्थे । सात बजेतिर मेरो साथीको पहिलेको श्रीमती आइपुगी छोरी लिन । मैले त कमसेकम अर्को आइमाईसंग नबोल्ली भन्ठानेको त ऊ संगै थुप्रै कुराहरु गर्दै थिई । आफूले धेरै घण्टा काम गरेको राती पनि काममा जान पर्ने, विहानै उठ्न पर्छ केटाले काम पाएको छैन सबै भन्दै थिई । करिब ६ वर्षसम्म उसले काम गर्न परेको थिएन । महिनै पिच्छे विदा मनाउन देश विदेश जान्थ्यो । केहि कुराको कमी थिएन तर अहिले अति काम गर्न पर्ने, बस्ने घरको वहाल पनि महंगो सबै आफ्नै इच्छाले त होला नि के फरक परयो त भन्ठानें । तर बच्चाले भोली विहानै किन काममा जाने शनिवार हैन र ? म कोसंग बस्ने भनेर सोध्नासाथ मेरो ध्यान त्यता तानियो ।

विचरा बच्चा जस्ले त्यस्तो कहिले खेप्न परेको थिएन । आमाको इच्छामा उसको बाल्यकाल कहांबाट कहां पुग्यो । भोली ठूलो भएर त आफै गर्ला । उसको बाबुको भन्दा राम्रो कमाई होला तर अहिले किन यो व्यहोर्न परयो त ? फेरी ऊ जुन परिवेशमा हुर्कियो र हुर्कदै छ त्यो आकाश जमिनको फरक हुनेवाला छ । यो परिवेशले उसको भविष्यमा थुप्रै असर पार्ने छ ।

यहि बीचमा मोवाइलमा फोनको घण्टी बज्यो त्यही मेरो साथीको हुनेवाला श्रीमतीको रहेछ । फोन उसको ठूलो छोरीलाई दिदै तिम्रो बाबुको फोन भन्यो । विचरा बच्चा हल्लो ड्याडी ड्याडी भन्दै ममी, ड्याडीको आवाज सुनिदैन भनेर फोन फिर्ता दिई । यस बीचमा मेरो साथीको छोरी उसको आमाको नजिकै थिई । बाबु चाहिंले मुसार्दै माया गर्दै अब जान पर्छ के भनेको थियो ऊ एक्कासी रुन थाली नजाने भनेर । म त्यो क्षण हेर्न नसकेर भित्र बाहिर गर्दै गरें । आखिर जानु थियो बाबु चाहिंले बोकेर आमाको गाडीको सिटमा हाल्दा रोएको आवाज टाढासम्म सुनिन्थ्यो ।

दुईवटा बच्चाहरु भने मेरो साथीको त्यही गाडी जसमा एउटी छोरी ढुक्कले लडीबुडी गर्थी त्यसमा गएर बसे । अर्को दुईवटा छोरी भने बाबु आमा संगै त्यहि गाडी जुन धेरै पहिलादेखि प्रयोग गर्दै आएको थियो त्यसैमा गए । म औपचारिकता पुरा गर्न मेरो साथीलाई बाइ भन्न बाहिर गएं उसको रुप अर्कै देखिन्थ्यो । आफ्नो खुशीको लागी बच्चालाई छाड्दाको बेदना झल्केको देखिन्थ्यो । मैले फेरी भेटौला सम्म भन्न वाक्य फुटेन, हात मिलाएर म भित्र पसें ।

मैले मनमनै सबैलाई धिक्कार्दै थिएं । कमसेकम एउटा बच्चाको लागि भएपनि यस्तो नगरी दिए हुन्थ्यो । ती बच्चाहरुको के कसुर थियो र भेटघाट हुँदा त्यति राम्रो व्यवहार गर्न सकिने तर संगै बस्दा केही कुरामा किन समझदारी गर्न नसकिने । आखिर जोसंग बसे पनि कुनै न कुनै कुरामा सहमती समझदारी हुनै पर्छ भने स्वतन्त्रता र अधिकारको नाममा लुगा फेरे झै पार्टनर फेर्ने प्रचलनलाई किन बढावा दिने ? विवाह नगर्दै बच्चा नहुंदै र बच्चाहरु ठूला भएपछि छुट्टीने अर्कै पक्ष हो तर नावालक बच्चाहरुको बाल मस्तिष्कमा प्रत्यक्ष प्रभाव पार्ने यो प्रचलनलाई सहज रुपमा स्वीकार्न कठिन पर्दछ । कामना गरौं पाश्चात्य मुलुकमा रहेका हामी र यहिं जन्मे हुर्के बढेका हाम्रा सन्ततिहरुले कमसेकम यो परम्परालाई एक हदसम्म निरुत्साहित गर्न सकुन् ।

पछि थाहा भयो त्यो दुइवटा छोरीको बाबुआमा पनि छुटेछन् । कति सम्पन्न र सभ्य देखिन्थ्यो त्यो जोडी । मेरो मिल्ने साथीले पनि केहि समय पछि नयां आइमाइलाई पनि छाडेर थाइसंग विबाह गरेर थाइल्याण्ड मै बसाइ सरेछ । केहि बर्ष अगाडी हामी सपरिवार वेल्समा सुमन बहिनीको घरमा क्रिसमस मनाउन जांदा उसले फोन गरेर सुनाउदै थियो । यता आउदा भेट्छु भन्दै थियो, खै अहिले सम्म आएको छैन जस्तो छ । त्यसपछि फोन पनि आएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक