आइतबार, माघ ६ २०७५ | Sun, January 20, 2019
नेपालको समय: १९:१४ | UK Time: 13:29

नयां साल २०१९ को निम्ता

केशव पुडासैनी
२०७५ पुष १७ गते १२:२६

बिषय: पार्क कोर्टमा निम्ता ।

सानी पल,
अटुट सम्झना !

गत बर्षमात्रै १७ पुगेर १८ को लागेको ‘टिन १८’ को पार्क कोर्ट पार्टीमा तिमीले दिएको नम्बर त मलाई एकै पल्टमा कन्ठै भयो । कस्तो सजिलो नम्बर सम्झनलाई २०१८……. । मलाई त ऊहिल्यै कन्ठ भयो । तर, मेरो त खै के भयो तिमीलाई ? ०७४०२६… कस्तो गार्हो छ, यो थ्री (३) नेटवर्कको जस्तो लाईन ऊस्तै नम्बर । न वेलामा फोन लाग्छ, न संम्झन सजिलो ।

हुन त दशौं वर्ष भै सक्यो तिमीलाई दिएको मेरो यै नम्बर । अब त तिमीलाई पनि कन्ठै होला हगी ?

तिमीसंगको छोटो सम्वन्धमा नै कति नजिक भै सकेकी थियौ । कस्तो खुशीको बहार नै ल्याइदिएकी मलाई । हांसो खुशीमै दिन महिना गर्दैमा पल पल बितिरहेथे । लाग्थ्यो भगवानले दुःखी मनमा अलिकति भए पनि हांसो खुशीकै लागि सालै पिच्छे भेट गराइदिएका रहेछन् । धन्य ईश्वर ! भुलेरै भएनि भेट हुन्छ उही दिन पारेर ।

लन्डनको चिसा दिन रातहरु पनि तिम्रो सामिप्यले होला मलाई कत्ति नि चिसा लाग्दैनन् । मनमा उमंग थियो, हर्ष थियो । सधैं तिमीसंगै रहिरहुं जस्तो लाग्थ्यो, तर पनि जीवन जीउनका लागि केही न केही गर्नै पर्ने ।

बिस्तारै म पनि काम व्यावसायमा बिजी हुन थालें । उता तिमी पनि आफ्नै दिनचर्यामा ।

महिनाहरु बित्दै गए, कुराकानी, भेटघाट एक पछि पातलिंदै गए । पुराना भेटघाटका क्षणहरु सम्झेर रात सर्लकै बित्यो, धन्न भोलिपल्ट आइतबार थियो र बिहान अबेरसंग बेडमै पल्टी रहें । तै पनि फिल्मी पाराले सम्झनाका फोटोहरु मनमा पल्टाइरहें ।

टिभीमाथी झुण्डाएको तिम्रो त्यो फोटो देखेर मनमा दुरुस्त तस्बिर आयो । तिमीले भेटेकै दिन दिएको त्यो फोटोलाई सजाएर भित्तामा राखेको छु । मनमा छ त भन्नै नपर्ला ।

आजै भेट्छु। मोबाइलमा कल गरिरहें, उठेन । म्यासेज लेख्या, कुनै रिप्लाई नै भएन । म्यासेन्जरमा पो अनलाईन छौ कि भनेर हेरें, यसमा पनि पाइन । सोचें ! सायद अन्डरग्राउन्ड ट्रेनमा भएर होला । अन्डरग्राउन्डको त के कुरा नेशनल, भर्जिनको अघिअघि कुद्दा त थाक्दिनौ, तन्नेरी बल । चारै प्रहार उस्तै गति ? कसरी सकेकी । म त दुई प्रहार काम 
गरयो भने बांकी त बेडमै बिताइदिन्छु । १८-१९ को मा नि यस्तो अन्तर ? अझ बढीमा के होला?

एक मनले सोचें यी तन्नेरीहरु यस्तै हुन्, एकोहोरा । अर्काका कुरै नसुन्ने । आफैं उन्मद १८ का अधबैंशेहरु ।

आइतबार मलाई काममा जानु पर्दैन भन्ने हेक्का पनि नहुनी । कतिपल्ट भनिसकें । म्यासेज पनि दसौं भए होलान् । खै हेर्दिनन् कि क्या हो । हल्का रिस पनि उठ्यो । भेटेरै दुःख सुःखका बात साटौंला भनेको के हुन्थ्यो, समय नै नहुने ।

फुर्सद हुंदा मेरै अफिस आए के नै फरक पर्थो र । ५ बजे पछि मन लागुन्जेल बसौंला नि हामी दुई । गत साल खाएको म्याकडोनाल्डको भेजी रयाप फेरी ल्यार बांडीचुंडी खांदा नि हुने हो ।

उनी आचाल्ली बेफुर्सदेली । एकोहोरो मनकी, कसैलाई कुर्नी-पर्खिनी त मतलब नै नहुनी । उ त्यो परको घडीले थोरै पल भए नि पर्खिन्छ मलाई तर आफ्नै भएर नि पर्खिने त खै ! के भन्ने अरुलाई ।

उसलाई पुरा साल कुरें । कति गार्हो भयो त्यो अघिल्ला रातहरु बिताउन । दुःखै दुःख सहेर पनि कुरें उसका लागि तर मलाई भने मतलवै नाई ।

मनमा चिसो नपस्नी त कहां हो र?

के मलाई सांच्चि नै बिर्सिलिन त ?

अनायसमा नै अनुत्तरित भएं ।

हैट यस्तो पनि हुन्छ र? अनायसमा शंका गर्नु पाप हो । अबुज्जक हो, मुर्ख हो । यस्तै सोच्छ यो मनले पनि कहिलेकाहीं ।
तर, के तर ? फेरी उही विषयमा फर्किए । सबै कहां उस्तै सोचेको जस्तै हुन्छ र ? आफैंलाई पाप लाग्ला, यी र यस्ता अविवेकी कुरामा मन खिन्न बनाउनु आत्मग्लानी हुनु हो ।

एकाएक सम्हालें मनलाई । विगतलाई कोट्याएर के फाइदा नै पनि ।

ढोकासंगैको ऐनामा हेरें, आफैंलाई जवान वयष्क देख्छु, तन्नेरी चिटिक्क परेको, सर्लक्क केस ढल्काएर बजार डुल्दा त दुई चार जना त त्यसै पछि लागे होलान् । मात्रै एक वर्षको फरक न हो उनीसंग । गत वर्षमात्रै १७ पुगेर १८ को बयस्क लागेकी मस्त तरुनी तिमी, म १८-१९ को । हेर्दै रगत चुहिने जस्ता तिम्रा ति सुकमोल गाला, लाली ओठ । मनास्लु हिमालमा मध्यान्ह चम्केको तेज जस्तो अनुहार बिहानै हेर्थें, दिनभरी कति हेरें तै पनि नपुगेर सांझमा पनि हेरी हेरी निदाउंथे । पुरा साल यसरी नै बिताएं ।

एकाएक महिनाहरु लण्डनको ब्यस्त मानिसका भिडमा हराए जस्तै भयो । जनवरीको झुल्के बिहानी मै भेटेको आज ठ्याक्कै एक वर्षलाई एकै दिन नपुग्ने रहेछ । मनमनै हिसाब गर्दा ठ्याक्कै ३६४ दिन नै हुंदोरहेछ आजै । त्यसैले अघिल्लो साल भेंटेको तिथि र मितीलाई “सम्झनाको साइनो वर्ष “ मानेर भव्य पार्टी गर्ने विचार मनमा पलायो ।

“निम्ता गर्न पत्र लेखुं कि फोनमै” भन्दैमा यत्रो ढिला भयो ।
जे त होला बोलाउंछु उनलाई र धुमधामले मनाउंछु अर्को “मिलन पार्टी” मेरै भाडाको फल्याटमा भन्दै उनलाई कल गरें । धन्न भुलिन, भेनु त १ पार्क कोर्ट हो भन्न, नत्र उही पोहरको सम्झेर लाग्थिन होला । सजिलो छ चिन्नलाई । घर एकै हो तर हलमात्रै फरक पर्ने हो । ३ नं हलका छिमेकी राजभाईलाई सोधे नि नझर्की बताइदिन्छन्, १ पार्क कोर्टको गल्ली ।

तिमीले साथ र हात दिए अर्को सालको भव्य पार्टी नयां आफ्नै घरमा दिउंला हुन्न र ? मन फुकाएर अनि कम्मर हल्लाई हल्लाई तिमी र म संगै नाचौंला । सबै निम्तालुलाई नचाउंला घरी घरी तिमीलाई मन पर्ने क्या लर्के जोवन फुर्के मन बिताउं हांसेर…… भन्ने बोलमा । कि तिमीलाई मन पर्ने नयां बोलको भाका… खुशी दिन्छु साथ दिन्छु जुनी जुनीलाई ।

हेर यसै बर्ष तिमी १९ लाग्दा म पनि त २० बर्षे लक्का जवान हुन्छु । उन्नाइस बीसका साथी हामी । पीर नमानी आउ है । एक दिन अघि नै निम्ता दिएको छु नि? तिम्रो चेन्ज भएको नम्बर त २०१९….. हैन र ? म तिमीलाई बिहानै सगरमाथामा झुल्के किरण नपुग्दा नै कल गर्छु है एकाबिहानै ।

ल ल अबेर नगरी आउनु नि ? १ जनवरी २०१९ कै बिहान झुल्के मिरमिरे मै । के के तयार गर्नुछ, अल्पर्टनको मन्दिर दर्शनसंगै इलिंग रोडको सब्जी बजारबाट तिमीलाई मन पर्ने तरकारी पनि लिनु छ । तिमी पनि खुशी बोक्ने ठूलो झोला बोक्नु है । अनि यो खुशीको झोला मलाई नै छोडिदिन्छ्यौ नि अर्को साललाई ।

अं न बिर्स है फोहोरको भन्दा अल्ली राम्री भएकी फोटो ल्याउन । नबिर्सनु है, पहिलेकै संगै सजाउनु छ नि यसपाली पनि ।

ल त रात पनि छिप्पियो, यति भन्दै फोन काटें ।

प्रार्थी,
केसरी प्रसाद, पार्क कोर्ट, लण्डन
३१ डिसेम्वर २०१८

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक