आँखाको ज्योति गुमेपछि समाजमा चम्किए खनाल

 

१७ बर्ष भयो आँखा बन्द भएको, तर पनि बर्दिया, बढैयाताल ८ पचासाका लोकप्रसाद खनालका जाँगरिला पाखुरीहरु बन्द भएका छैनन्।

“आँखाको ज्योति पो बन्द भयो त मेरो ज्ञानको ज्योतिलाई त कसैले पनि बन्द गर्न सक्दैन नि। अरुलाई बाहिरी कुराले डिस्टर्ब गर्छ तर म त झन धेरै सोचेर भिजन निकाल्न सक्छु” उनी उनी भन्छन् ।

उमेरले पचास नाघी सके पनि पच्चीस बर्षे ठिटाको जत्तिकै जाँगर र जोश देखिन्छ शरीरमा। उनका ती जाँगरिला पाखुरीहरुलाई हैसेमा होस्टे दिने श्रीमती र छोरा पनि छन् साथमा l हिम्मत गरे जे पनि सम्भब छ भन्ने गतिला उदाहरण हुन् उनी ।

धेरै मानिसहरु आफू अपाङ्ग भएपछि जीबन सकियो भनेर निरास हुन्छन् र झन अरुलाई साँचिकै आफू बोझ भएको महसुस गराउँछन् । तर खनाल जस्ता हिम्मतिला मानिसहरु पनि यही समाजमा छन् अझै । जस्ले समाजमा निकै गर्बिला काम गरेर अरुलाई पनि स्वदेशमै केही गरौँ भन्ने हिम्मत तथा जोश दिएका छन् । उनी भन्छन्, “गरे के हुन्न यहाँ ? तर ब्यवसाय भनेको लगानी गर्‍यो घ्वच्च नाफा आयो होइन। धैर्यता हुनु पर्छ”।

उनी पहिला शिक्षक थिए तर आँखाको ज्योति गुमेपछि जागिर छुट्यो । मसिना लालाबालालाई हुर्काउन त्यति सजिलो कहाँ थियो र ?  त्यसैले परिवार नै मिलेर सुर्खेतमा सानो होटेल ब्यवसाय थाले। तर खासै भने जस्तो मन भुलेन । बसाइको हिसाबले पनि सुर्खेतमा खासै मोहनी लागेन। त्यसपछि खनाल दम्पती कुम्लो कुटुरो बोकी लागे बर्दियातिर । त्यहीँ बस्दाबस्दै अपाङ्ग कल्याण समूहमा आबद्द भएर दाल्मोट बनाउन थाले। दुई किलो दाल्मोटबाट ब्यवसाय थालेका उनी अहिले सत्कार फुड प्रोडक्सनका मालिक बनेका छन् । फ्याक्ट्री मात्र दुई कट्ठा जमिनमा छ । ८ जना त फ्याक्ट्रीमा काम गर्ने काम्दार नै छन् । “पहिला दाल्मोट बनाउँथ्यौँ अनि आँफै बेच्न लैजान्थ्यौँ। फलनाले त कति सस्तोमा दिन्छन् तिम्ले पनि देउ भन्थे, खुब हेप्थे” उनी विगत सम्झन्छन्। अहिले उनीहरूले चिउरा उत्पादन गर्न थालेपश्चात, दाल्मोट बनाउने जिम्मा आफन्तलाई लगाएका छन्। एकवर्ष सम्म सत्कारकै नाममा उधोग सन्चालन गरे पनि हाल सँस्कार फुड प्रडक्टका नाममा बजारमा उपलब्ध गराउन थालेका छन् ।

सामान्य हिसाब गर्दा ४० लाख जतिको स्टीमेट गरी कम्पनी/उधोग निर्माण गर्न सुरु गरेका थिए खनाल दम्पतीले तर सम्पन्न हुँदा सम्ममा करिब दुई करोड जति लागत लागेछ। तर खुशीको कुरा के भने उनको एक्लैको लगानी भने गएन। मलाई यहाँसम्म पुराउनमा मेडेप नेपालको ठूलो हात छ, उनी मेडेप नेपालप्रति कृतज्ञ छन्। उनको कम्पनीले मकैकै मात्र बिभिन्न थरि सामग्रीहरु उत्पादन गर्छन्, त्यसमध्ये कर्न फ्लेक्स (मकैके चिउरा) मुख्य हो। तर नेपालीहरुले मकैको चिउराको प्रयोग गर्न अझै पनि राम्रोसँग जानी सकेका छैनन। छरछिमेकी तथा अन्य ग्राहकहरुको एउटै प्रश्न,  मकैको पनि चिउरा हुन्छ र ? सुन्नुपर्छ खनाल दम्पतीले। उनीहरु अनुभव सुनाउछन्, “मकैको चिउराको मार्केटिङको लागि सधैं क्लास नै लिनु पर्ने बाध्यता छ।“

उनीहरूको कम्पनीको अर्को पनि एउटा राम्रो बिशेषता छ। त्यो हो सकेसम्म नेपाली मकैबाट नै सबै उत्पादनहरू बनाउने र नेपाली मकैकै प्रयोगलाई नै प्रोत्साहन गर्ने। उनी जब सुर्खेतमा होटेल ब्यवसाय गरेर बस्थे त्यही बेलादेखि नै नेपाली उत्पादनप्रति मोह जागेको थियो उनलाई। उनी बिगत यसरी सम्झन्छन्, “होटेल गरेर बसेको बेला भारतीय ग्राहकहरु पनि प्रसस्तै आउथे। एकदिन एकजना भारतीय ग्राहक आए। मेरो होटेलमा उसिनेर राखेको दुई थरी अन्डा थिए । ती ग्राहकले सोधे भाईया ओ अन्डे कित्ने का है ? मैले भने ओ सेफद तीन रुपीए का है और ओ लाल वला चार रुपियेका। उन्ले फेरि सोधे ओ लाल क्युँ चार रुपिये ? मैले भने क्यु कि ओ ईन्डिया से आया है। शायद उस्ले सोच्यो होला यो जाबो नेपाली ले के ईंग्लिश बुझ्छ र ?  अनि उता गएर साथीहरुलाई भने, यु नो व्हाट? वि शुड अल्वेज प्रोमोट ईण्डियन थिङ्स, सो वि शुड अल्वेज युज ईण्डियन प्रोडक्ट। अनी जम्मा दुई वटा अन्डा किनेर गए। अनि मलाइ पनि लाग्यो, हो त ठीक भन्यो उसले। आफ्नो देशको उत्पादनलाई आँफैले प्रोत्साहन नदिए कस्ले दिन्छ अरुले? “

“आफ्नो देशको उत्पादन भनेपछि खसाल्ने बानी छ नेपालीको । जहिले पनि बिदेशी ब्रान्डलाई नै प्राथमिकता दिन्छन्, नेपाली भन्ने बित्तिकै राम्रो हुन्छ के? भन्ने सन्का गर्छन्। “नेपालीहरूले नेपाली उत्पादनलाइ महत्व नदिँदा चित्त पनि दुख्छ खनाल दम्पतिलाई। यधपि उनीहरु अहोरात्र खटिरहेका छन् गुणस्तर बढाउनलाई। उनीहरुको अनुभबमा मकैको चिउरा बारे मानिसहरुमा बिस्तारै चेतना बढेको छ। “माग बिस्तारै बढ्दै गएको छ । गत वर्ष एकै महिनामा २८ लाख सम्मको नम्किन बिक्री गर्‍यौँ । हामी अर्डर आएअनुसार उत्पादन गर्छौ, एक दिनमा दस क्वीन्टलसम्म प्रोसेसिङ हुन्छ मेसीनमा” दम्पती गर्वका साथ आफ्ना ब्यापारको बारेमा सुनाउछँन् । उनको उत्पादन बाँके, बर्दियादेखि नारायणघाट तथा बुटवलसम्म पुगेको छ । उनी भन्छन्, “धेरै चिज बनाउछौ मकैबाट। मकैको पीठो, मकैको चिउरा पनि सुगर फ्री र विथ सुगर दुई खाले बनाइ रहेका छौँ तर अझै चक्लेटी फ्लेभरको कर्न फ्लेक्स बनाउन सकेको छैन।“

उनीहरु बिभिन्न औधोगिक मेलाहरुमा पुग्छन् ब्यापारको प्रचार प्रसार गर्न। बिभिन्न क्लास लिन्छन्। सामन्यतय खनालले आफ्नो उत्पादन तथा आफ्नो संघर्सका कथा सुनाए बापत घण्टाको दुई हजार रुपैयाँ लिने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री