कङ्गोमा सम्भावित हिंसा रोक्न अमेरिकाले सेना पठायो

किनसासा, २२ पुस – कङ्गोको राष्ट्रपतीय निर्वाचनको परिणामको विरुद्धमा हुन सक्ने सम्भावित हमला रोक्नका लागि संयुक्त राज्य अमेरिकाले सेना पठाएको छ ।

सो कुराको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनुभएको छ । उहाँले कङ्गोमा राष्ट्रपतीय निर्वाचन र त्यसको परिणामसँग सम्बन्धित हिंसालाई मध्यनजर गरी अमेरिकाले सेना पठाएको जानकारी दिनुभएको छ ।

उहाँले कङ्गोमा रहेको अमेरिकी सम्पत्तिको संरक्षणका लागि सेना पठाइएको जानकारी दिनुभएको हो । कङ्गोमा यहाँको क्याथोलिक चर्चमा केन्द्रित कैयौँ हमला भएका छन् ।

कङ्गोमा निकै लामो प्रयत्नपछि डिसेम्बर ३० मा राष्ट्रपतिको निर्वाचन भएको हो । सो निर्वाचनको मत गणना हुनलागेको छ । सो मत परिणामपछि त्यस परिणाम चित्त नबुझाउने व्यक्तिले हिंसा मच्चाउन सक्ने र त्यसमा त्यहाँ रहेका अमेरिकी सम्पत्तिमाथि पनि हमला हुनसक्ने अनुमानस्वरुप सेना पठाइएको अमेरिकाले जनाएको छ ।

उक्त निर्वाचनको प्रारम्भिक अथवा पहिलो चरणको केही परिणाम आइतबार सार्वजनिक गर्ने तयारी गरिएको छ । उक्त परिणामलाई लिएर कुनै हिंसा नमच्चाउन र जनताले दिएको मतको परिणामलाई स्वीकार गर्न विश्वव्यापीरुपमा कङ्गोली नागरिकलाई आह्वान गरिएको छ ।

त्यसैगरी सो निर्वाचनको परिणाम जतिसक्दो चाँडै घोषणा गरी जनताको चाहनाको कुरा सार्वजनिक गरिदिन पनि अमेरिका, अफ्रिकी युनियन र अरु पनि विदेशी समुदाय तथा संघसंस्थाले आग्रह गरिरहेका छन् ।

उक्त निर्वाचनमा पश्चिमालाई भने निर्वाचन पर्यवेक्षकको रुपमा आमन्त्रण गरिएको थिएन । यहाँका कतिपय दल र समुदायले उक्त निर्वाचनको निश्पक्षतामाथि व्यापक मात्रामा प्रश्न उठाएका छन् ।

उता अमेरिकाले भने यहाँको निर्वाचनको परिणामलाई स्वीकार गर्नुपर्ने बताएको छ । राष्ट्रपतिको निर्वाचन एक प्रजातान्त्रिक प्रक्रिया भएकोले त्यसलाई सबैले स्वीकार गर्नुपर्ने अमेरिकी भनाइ छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि प्रजातान्त्रिक प्रक्रियालाई स्वीकार गर्न भन्नुभएको छ । उहाँले यदि यो प्रजातान्त्रिक प्रक्रियाबाट भएको निर्वाचनको परिणाम अस्विकार गर्ने काम भयो भने अमेरिकाले नाकाबन्दी लगाउने बताउनुभएको छ ।

निर्वाचन परिणामबारेका प्रारम्भिक सर्वेक्षणले सार्वजनिक गरेका परिणामका कारण यहाँ हिंसा हुनसक्ने अनुमान गरिएको छ । त्यसै कारणले सुरक्षा व्यवस्थालाई पनि निकै कडा बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री