मंगलबार, चैत १२ २०७५ | Tue, March 26, 2019
नेपालको समय: १०:१२ | UK Time: 04:27

बेलायतमा नेपाली माटोको सम्झना

प्रा. डा. सूर्यप्रसाद सुवेदी
२०७५ पुष २३ गते २०:५५

सन् २०१८ लाई इतिहासको गर्भमा बिदा गरि सन् २०१९ शुरु भएको छ । यो अन्तर्राष्ट्रिय नयां वर्षको शुभारम्भले मलाई २०१८ ले कस्तो छाप छोडेर गएको छ र यसले २०१९ को संसारलाई कसरी प्रभावित पार्नेछ भन्ने कुराले सोचमग्न बनायो । आत्मसम्मान र स्वाभिमानलाई कायम राख्दै बेलायत ब्रेक्जिटतिरै अग्रसर छ । ब्रेक्जिटले बेलायतलाई केही समय अवश्य नै नकारात्मक असर गर्नेछ । तर, बेलायतमा सुशासनको जग बलियो भएकाले संसारको वौद्धिक र वित्तिय राजधानीको रुपमा लन्डनको वर्चस्व कायमै रहनेछ । युरोपियन युनियनको धेरै अनावश्यक नियमनको चंगुलबाट मुक्त बेलायत सिंगापुर र स्वीटजरल्याण्डजस्तै संसारको व्यापारिक केन्द्र बन्न सक्ने सम्भावना छ । अमेरिकी राजनीतिमा देखिएको विसंगतिमा २०१९ मा सुधार आउने अपेक्षा गरिएको छ । नेपालको राजनीतिक नेतृत्वमा देखिएका केही अपरिपक्वताका बाबजुद मुलुक लोकतन्त्र र संघीयतालाई संस्थागत गर्ने र आर्थिक विकासलाई तीव्रता दिने क्रममा अघि बढ्नेछ । विभिन्न उतारचढावका बाबजुद दक्षिण एसियामा लोकतन्त्रको जग दरिलो हुने मुलुकमा नेपाल अग्रपंक्तिमा छ । दुई वर्ष अघि नेपालमा आमनिर्वाचन हुंदा कुनै पनि दलबाट निर्वाचनमा धांधली भयो भन्ने आवाजै नउठेको सुःखद स्थिति छ भने बंगलादेशको हालैको विवादास्पद र हिंसाग्रस्त निर्वाचनको दुःखद उदाहरण यही दक्षिण एसियामै छ ।

मेरो व्यक्तिगत जीवनमा पनि सन् २०१८ एक विशेष वर्षका रुपमा रहयो । यो वर्ष मेरा स्वर्गीय पूज्य पिताजी पण्डित होमनाथ सुवेदीको सतवार्षिकी थियो र मैले यही वर्ष ६० वटा वसन्त पार गरें । उहांले भर्खरै काठमाडौंमा उच्च शिक्षा शुरु गर्न लाग्दा हाम्रा हजुरबुवाको अल्पायूमै स्वर्गारोहण भयो र जेठो छोराको नाताले मेरो पिताजीले काठमाडौंको आफ्नो पढाइ छाडेर लमजुंग खुदी फर्किएर घर व्यवहार धान्नु परयो । चार भाइ र एक बहिनीलाई पढाउने, हुर्काउने र ब्रतवन्ध गरि घरजम बसाइदिने सबै दायित्व पिताजीको कांधमा आइपुग्यो । त्यसपछि जन्मिएका हामी ५ दाजु भाइ र ५ दिदी बहिनीको लालनपोषण, शिक्षादीक्षा, ब्रतवन्ध, बिवाह सबै उहांको कांधमा थपियो । तर, आफ्नो दायित्वबाट कत्ति पनि विचलित नभई हामी सबैलाई शिक्षादीक्षा दिनुभयो ।

काठमाडौंको अध्ययनपछि लमजुंग फर्केर उहांले घर व्यवहार सम्हाल्दै स्वाध्ययलाई तीव्रता दिनुभयो र धर्मशास्त्र र ज्योतिषशास्त्रमा पारंगत हुनुभयो । उहांलाई गुरुको रुपमा श्रद्धाका साथ जिल्लाभरि नै सम्मान गरिन्थ्यो । उहांले ब्रम्ह मुहुर्तमा बिहान ४ बजे उठेर दिनचर्या शुरु नगरेको दिन मलाई सम्झना छैन् । अनिवार्य रुपमा गायत्री मन्त्र १०८ पटक जप गर्ने, पाञ्चायन देवताको पूजा गर्ने, श्रीमद्भागवत नित्य पाठ गर्ने, प्राणायम लगायत हल्का व्यायाम गर्ने पिताजीका नियमित दैनिकी थिए । आफू जिन्दगीभरि शाकाहारी हुनुहुन्थ्यो तर हामी माछा मासु खान खोज्ने छोराछोरीलाई तदनुसारको व्यवस्था मिलाइदिने गर्नुहुन्थ्यो । आफू कठोर नियममा बस्ने
भएपनि हामी छोराछोरीलाई त्यस्तै नियममा बस्नु पर्छ नभन्ने र हामीलाई स्वतन्त्र हुन छाडिदिने उहांको स्वभाव थियो । सायद उहांको अनुशासित व्यवहारबाट र धार्मिक, आध्यात्मिक, शिक्षित र शान्त स्वभावबाट हामीले सिक्नेछन् भन्ने उहांको आशय थियो । मुखले भनेर होइन, कर्म गरेर आफ्नो वरिपरीको संसारलाई सत्मार्गमा लाग्न प्रेरित गर्न सकिन्छ भन्ने उहांको मान्यता थियो । उहांको सदाचार र सर्वजन सुखायको मान्यताबाट प्रभावित र त्यस्तै कठोर आचरणमा बस्न सक्ने मेरी धर्मपत्नी कोकिलाले बेलायतको हाम्रो जिन्दगीभर प्रत्येक मानिस मेरो पिताजी जस्तो हुनुपर्छ भनेर सम्झाइरहने हुनाले मैले पनि जति सक्यो पिताजीकै आचरण अनुशरण गरेकाले यहां आइपुगेको हुं भन्ने लागेको छ ।

गाउंको संस्कृत प्रधान पाठशालामा अध्यापन गर्ने देखि लिएर कमला प्रावि स्थापना गर्ने, ति विद्यालयको सञ्चालक समितिको अध्यक्ष भई काम गर्ने जिम्मा पिताजीकै थियो । अहिलेको जमानामा असम्भव प्राय लाग्ने दायित्व त्यो बेलाको सिमित आयको भरमा पिताजीले कसरी पुरा गर्नुभयो भन्ने मलाई लाग्दछ र ति कुरा सम्झंदा पिताजीप्रति मेरो सम्मान सय गुणा बढ्दछ । पिताजीले समाजमा जुन उदाहरण प्रस्तुत गर्नुभयो, त्यसले लमजुंगको सेरोफेरो सबैमा राम्रो सन्देश प्रवाह गरेको थियो । हाम्रो लमजुंगको सुवेदी परिवारले जिल्लामा शिक्षाको ज्योति बाल्नेमा अग्रणी भूमिका निर्वाह गरेको थियो । अमर मावि मैले जहांबाट एसएसलसी परीक्षा उत्तिर्ण गरें, त्यसको स्थापना, सञ्चालन र अध्यापनमा मेरा पिताजीको ठूलो भूमिका रहयो ।

म आफैंले व्यक्तिगत रुपमा जे जति उपलब्धि हांसिल गरेको छु त्यसमा मेरो पिताजीले आर्जन गरेको धर्म र कठोर मिहेनतको छाप छ । मेरो प्राध्यापक, डाक्टर, ब्यारिस्टर, क्वीन्स काउन्सिल, अफिसर अफ द अर्डर अफ द ब्रिटिश अम्पायर, सुप्रवल गोर्खा दक्षिणबाहु, विशिष्ठ श्रेणीमा कानुनाचार्य आदि सबै उपाधि र उपलब्धिको पछाडि पिताजीको योगदान छ । मेरो पिताजी मेरो पिताजीमात्र नभएर शिक्षक र मन्त्र सुनाउने गुरु समेत हुनुहुन्थ्यो । म सानै देखि विद्रोही स्वभावको छोरो थिएं । चौध वर्षको कलिलो उमेरमै राजनीतिमा चासो राखेर आफ्नो विद्यालयको स्ववियू सभापतिमा निर्वाचित भएं । पछि ल क्याम्पसमा पढ्दा जनमत संग्रह अगाडिको विद्यार्थी आन्दोलनमा जेल परें । तर, उहांले कहिल्यै हिम्मत हार्नु भएन र मलाई रोक्नु भएन । मेरो राम्रा र नराम्रा उतारचढाव सबैमा उहांको सहयोग र स्नेह निरन्तर कायम रह्यो । प्रवासमा रहेर नेपाललाई बौद्धिक योगदान दिने व्यक्ति भनेर गोदवाको मान पदवी पाउने सम्भवतः म नै पहिलो थिएं । बेलायतबाट अन्तर्राष्ट्रिय कानुनमा विशिष्ट श्रेणीमा प्रथम भई उत्तिर्ण हुंदा र अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली म हुन पुगेकोमा पिताजीलाई ठूलो गौरव लागेको थियो । तर, मलाई दुःख लागेको कुरा मेरा सबै उपलव्धि सुन्ने र त्यसबाट सुःखी हुने मौका उहांले पाउनुभएन । उहांको ७८ वर्षको उमेरमै निधन भयो ।

प्रत्येक व्यक्तिको जीन्दगीको सफलता पछाडि विगतको पुस्ताको ठूलो योगदान रहेको हुन्छ । त्यसै गरि गत वर्षले नव वर्षलाई प्रभावित गरेको हुन्छ । आशा गरौं अन्तर्राष्ट्रिय वर्ष २०१९ ले सबैलाई अतीतबाट पाठ सिक्ने र विगतको पुस्ताप्रति आभारी हुंदै भविष्यमा लम्कने प्रेरणा प्रदान गर्नेछ । मैले दुई वर्षअघि बेलायती महारानीबाट कानुनी क्षेत्रका उत्कृष्ट विद्वानलाई प्रदान गरिने उच्च उपाधि क्वीन्स काउन्सिल (क्यूसी) पाउंदा अहिलेसम्म पिताजी जिवितै रहेको भए कति खुशी हुनुहुन्थ्यो होला भन्ने लाग्यो । प्रत्येक सन्तानको उपलब्धिमा निस्वार्थ रुपमा बढि खुशी हुने माता पिता नै हुन्छन् ।

लन्डनको वेष्ट मिनिस्टरको राजाप्रसाद (राजदरबार) मा भएको सुशोभन समारोहमा मेरो पदवी लिन अघि बढ्ने क्रममा मलाई एकछिन रोकिएर मेरा मातापिता र नेपाली माटोलाई सम्झिएर प्रणाम गर्न इच्छा लाग्यो । मैले मेरो पदवी लिएपछि बेलायतका कानुन मन्त्रीले तपाईं समारोहमा किन एकछिन रोकिनुभएको हो भनेर सोधे । मैले जवाफ दिएं, मैले मेरा मातापिता र नेपाली माटोलाई जसले मलाई यहांसम्म पुरयाए तिनैको सम्झना र तिनैप्रति अनुग्रहित हुन रोकिएको हुं भनें । मेरा काका पण्डित श्री घनश्याम सुवेदी जो धर्मशास्त्र र ज्योतिषशास्त्रका विद्वान हुनुहुन्छ, उहांले मलाई आफ्नो हालैको बेलायत भ्रमणका क्रममा बाबु तिमीले बेलायत जस्तो उन्नत र अत्यन्त प्रतिष्पर्धात्मक मुलुकमा जति प्रगति गरेका छौं त्यो र संसारमा नेपालको प्रतिष्ठा अभिवृद्धिका लागि जुन योगदान दिएका छौ, त्यो तिम्रो पिताजीको पूण्यको फल हो भन्नु भएको थियो ।

पिताजीबाट पाएको शिक्षादीक्षा र संस्कृत विद्यालयमा पढ्दा हितोपदेश लगायतका नीति शास्त्रले देखाएको बाटोमा हिंडेर नै म यहां आइपुगेको 
हुं भन्नेमा मलाई विश्वास छ । त्यसैले सन् २०१८ लाई बिदा गरि सन् २०१९ लाई स्वागत गर्ने क्रममा मैले मेरा मातापिता र नेपाली माटोलाई पुनः प्रणाम 
गर्दै २०१९ मा संसारमा सबैको भलो होस् भन्ने इच्छाका साथ आफ्नो प्राज्ञिक कलम अगाडि बढाउने 
प्रतिज्ञा गरेको छु ।

(लेखक सुवेदी बेलायतको लिड्स विश्वविद्यालयमा 
अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक हुन् । उनको यो लेख इकान्तिपुरबाट साभार गरिएको हो-सं)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक