मंगलबार, चैत १२ २०७५ | Tue, March 26, 2019
नेपालको समय: १०:१२ | UK Time: 04:27

बेलायतलाई गैर कानुनी आप्रवासी टाउको दुखाइ

विनेपाली
२०७५ पुष २३ गते २१:५०

लन्डन । आफ्नो देशमा गैर कानुनी आप्रवासी प्रवेश बेलायतलाई गम्भीर चिन्ताको विषय बनेको छ । बेलायत ईयूबाट बाहिरिएपछि असम्भव हुने भन्दै मानव तस्करहरु अहिले नै अफ्रिका तथा एसियाका आप्रवासीलाई गैर कानुनी रुपमा बेलायत र युरोप छिराउन उद्यत भइरहंदा बेलायतलाई यो टाउको दुखाइ बनेको हो ।

क्रिसमस इभ रमझम भइरहेका बेला विभिन्न दशवटा स साना डुंगामार्फत इंगलिस च्यानल हुंदै बेलायत छिर्न खोज्ने करिब ८२ जना आप्रवासीलाई सीमा सुरक्षा बलले समात्यो । ७१ जना त यूके छिर्न सफल भए ।

उक्त घट्नालाई गम्भीर चासोका रुपमा लिंदै बेलायती गृह मन्त्री साजिद जाविद परिवारसंग क्रिसमस होलिडे छोट्याएर स्वदेश फर्किन वाध्य भए । गृहमन्त्री इंगलिस च्यानलमा धमाधम आप्रवासी चढेर आएका डुंगा समातिएको खबरबाट आक्रोशित मात्र भएनन्, उनको ति गैर कानुनी आप्रवासीप्रतिको प्रतिक्रियाबाट प्रतिपक्ष दलले आलोचना समेत गरयो ।

गत नोभेम्बरदेखि नयां वर्ष आसपाससम्म बेलायत आउन खोज्ने झण्डै दुई सय ३९ जना गैर कानुनी आप्रवासीलाई बेलायत र 
फ्रान्सका अधिकारीहरुले समातेका बताइएको छ । पर्वका बेला जांच गर्ने जनशक्ति कम हुने आंकलन गर्दै मानव तस्करहरुले त्यो समय रोजेका थिए । क्रिसमसका बेलामात्र गैर कानुनी रुपमा प्रवेश गर्न खोज्ने १३९ आप्रवासी समातिए । यसअघि लरीमा लुकेर आउने आप्रवासीलाई अहिले तस्करहरुले सानो डुंगामा ल्याउने गरेका छन् ।

बेलायतको रोयल नेभीले यूके बोर्डर फोर्स र फ्रेन्च अधिकारीहरुको सहयोगका लागि डोभरमा भेसल (पानी जहाज) परिचालन गर्न सहमत भएपछि फ्रेञ्च अधिकारीहरुले जोखिम मोलेर साना डुंगामार्फत इंगल्याण्ड छिर्न खोज्ने आप्रवासी नियन्त्रणका लागि नयां योजना बनाएका समाचारमा जनाइएको छ । ल इन्फोर्समेन्ट एजेन्सीबीच सहकार्य र बेलायत तथा फ्रान्सको सामुद्रिक तटमा सिसिटिभी, राडार, ड्रोन र सुरक्षा बल बढाउने तयारी छ ।

फ्रान्सका गृहमन्त्री क्रिस्टोफ कासटेनरले उक्त योजनाबाट गैर कानुनी आप्रवासी प्रवेश नियन्त्रण मात्र होइन, जोखिमपूर्ण यात्रा अन्त्य पनि गर्न सघाउ पुग्ने बताए । बेलायती गृहमन्त्री जाविदले फ्रेन्च अधिकारीहरुको उक्त सहकार्यको स्वागत गर्दै इंगलिस च्यानलको अवस्था नियन्त्रण गर्न सहकार्य महत्वपूर्ण हुने बताए ।

डेली मेलका अनुसार, मानव तस्करहरुले सामाजिक सञ्जालमै दश हजार पाउण्ड तिरे बेलायत लगायत पश्चिम युरोप सजिलै पुग्न सकिने विज्ञापन गर्ने गरेका छन् ।

आप्रवासीका लागि स्पेन युरोपेली देश छिर्ने प्रमुख द्वार बनेको छ । अन्य युरोपेली देशले कडाइ गरेपछि आप्रवासी मेडिटेरेनियन हुंदै स्पेन प्रवेश गरेका हुन् । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१८ मा मात्र ६२ हजार आप्रवासी स्पेन पुगे ।

माइग्रेसन वाच यूकेले गत सेप्टेम्बरमा बेलायतमा वर्षेनी ७० हजार आप्रवासी गैर कानुनी हुने गरेको तथ्यांक सार्वजनिक गरेको थियो । बेलायतको गृह मन्त्रालय (होम अफिस) ले जनाए अनुसार, बेलायतमा सन् २००१ मा करिब चार लाख तीस हजार गैर कानुनी आप्रवासी रहेकामा अहिले यो संख्या झण्डै दश लाख छ ।

गत शुक्रबारमात्र नर्थउम्ब्रीया पुलिसले बेलायतको न्यू कासलस्थित एक घरमा छापा मारेर गैर कानुनी बसिरहेका १० जना चिनिया नागरिकलाई गिरफ्तार गरि स्वदेश फर्काउने प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक