बेलायती जेलमा नेपालीको संख्या ७

लन्डन । बेलायती जेलमा नेपालीहरुको संख्या घटेको छ । बेलायतको गृह मन्त्रालय (होम अफिस) संग लन्डनस्थित नेपाली दूतावासले मागेको तथ्यांक अनुसार जनवरी ८ सम्म बेलायती जेलमा जम्मा ७ जना नेपाली छन् । जेलमा रहेकाको एक दुईबाहेक त्यस्तो गम्भीर प्रकृतिको अपराध नभएको पनि दूतावासले जनाएको छ ।

गत सेप्टेम्बरसम्म बेलायतका विभिन्न जेलमा रहेका नेपालीको 
संख्या १९ थियो । एकपटक २१ जनासम्म नेपाली जेलमा थिए ।

‘यो संख्या घट्नु एक हिसावले खुशीको कुरा हो’, दूतावासका उपनियोग प्रमुख शरदराज आरणले भने, ‘असामाजिक, उच्छृंखल र गैर कानुनी कार्य गरेरै हो जेल सजाय भोगिने । जेल पर्ने नेपाली घटे नेपाल र नेपालीकै प्रतिष्ठा राम्रो बन्नेछ ।’

केही दिन अघिमात्र बेलायतस्थित रेडिङ क्राउन कोर्टले ४३ वर्षीय देउकुमार लिम्बुलाई २२ वर्षीय युवकमाथि यौन हिंसा गरेको ठहर 
गर्दै १३ वर्षको जेल सजाय सुनाएको छ ।

सन् २०१८ मा मात्र विभिन्न अपराधमा केही नेपाली जेल गए । 
ब्रिटेनमा छुट्टी मनाउन जाने व्यक्तिहरुलाई गलत सूचना दिएर झण्डै एक करोड रुपैयां घोटाला गरेको अभियोगमा दोषी पाइएका मार्खर ट्रेडर्स लिमिटेडका निर्देशक तेजबहादुर गुरुङले २५ महिनाको जेल सजाय पाएका छन् । उता, एकजना वयोवृद्ध भूतपूर्व गोर्खा सैनिकलाई मारेको (कर्तव्य ज्यान मुद्दा) मा दोषी पाइएकी सुनमाया तामाङलाई ब्रिटेनको सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीले आठ वर्षको जेल सजाय सुनायो ।

केही महिना अघि लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा चमन श्रेष्ठलाई ब्रिटेनस्थित रेडिङ क्राउन कोर्टले दुई वर्ष ८ महिना जेल सजाय सुनाएको थियो ।

लन्डनस्थित नेपाली सोलिसिटर राजु थापाले अपराधिक क्रियाकलापमा संलग्न हुंदा समाजबाट तिरस्कृतमात्र होइन, जीन्दगीभर बेलायतमा रोजगारी समेत नपाइने बताए । ‘आवासीय अधिकार मात्र छ र १२ महिना बढिको जेल सजाय सुनाइएको भए त्यो व्यक्तिलाई सजाय पछि नेपाल नै ‘डिपोर्ट’ गरिदिने बेलायतको कानुनी प्रावधान छ’, थापाले भने ।

इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री