लन्डनका उदयीमान नायक जोशीलाई अमेरिकामा स्पेशल अवार्ड

लन्डन । अन्तर्राष्ट्रिय स्तरको नेपाली फिल्म निर्माणमा जुटेका लन्डनस्थित एक जना युवा व्यवसायी तथा उदयीमान नायक विक्रम जोशी अमेरिकामा सम्मानित भएका छन् ।

अमेरिकाको कोलोराडो डेनभरमा गत ५ जनवरीमा आयोजित ‘तेश्रो ग्लोबल नेपाली फिल्म अवार्ड’ कार्यक्रममा नायक जोशीलाई ‘स्पेशल अवार्ड २०१८’ प्रदान गरिएको हो ।

नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्डको संयुक्त आयोजनामा अवार्डस कार्यक्रम भएको थियो ।

नेपाली फिल्म, संगीत र कलाको प्रवर्धन तथा विकासका लागि जोशीले गरेको योगदान स्वरुप उक्त अवार्ड दिइएको सोसाइटीले जनाएको छ । ‘मलाई यस सम्मानले नेपाली चलचित्र क्षेत्रमा अझ क्रियाशिल हुन उत्प्रेरित गरेको छ’- लन्डन फर्किएर जोशीले भने, ‘नेपाली चलचित्रको भविष्य मैले उज्ववल देखेको छु । विदेशमा बस्ने नेपालीको सहकार्य भए यस क्षेत्रले अझ उचाईं लिन सक्छ भन्ने मेरो विश्वास छ ।’

जोशी केही वर्ष यता नेपाली चलचित्रको स्तरोन्नति र अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली चलचित्रको बजार प्रवर्धन र विस्तारमा सक्रिय छन् ।

बेलायतमै छायांकन गरिएको ‘हयाप्पी डेज’ मा लगानी तथा अभिनय गरेर यस क्षेत्रमा ‘डेब्यू’ गरेका जोशी अहिले ‘पासवर्ड’ बनाइरहेका छन् । बलिउड ‘हट’ नायिका सन्नी लियोनले समेत ‘आइटम डान्स’ गरेको उक्त चलचित्रको लगानी ३० करोड रुपैयां पुग्ने दाबी गरिएको छ । सन्नीले विक्रम जोशीको रचना र अर्जुन पोख्रेलले संगीतवद्ध गरेको ‘आजको शाम बेबी…’ भन्ने गीतमा नृत्य गरेकी हुन् । कोरियोग्राफीका लागि चर्चित भारतीय कोरियोग्राफर विष्णु देवा पनि मुम्बइबाट लियोनसंगै लन्डन आएका थिए ।

सम्राट बस्नेतले निर्देशन गरेको ‘पासवर्ड’ को झण्डै ९० प्रतिशत छायांकन बेलायतमा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री