बिहीबार, चैत ७ २०७५ | Thu, March 21, 2019
नेपालको समय: ०१:२८ | UK Time: 19:43

बेलायती प्रेमिका, जसको आगमनले टुट्यो मेरो घर

कथा

अन्जु भण्डारी
२०७५ पुष २६ गते २१:२७

अन्जु भण्डारी

‘ल ल बेहुलीलाई सिन्दुर हाल्ने बेला भयो । माइती पक्षकाले देख्न हुंदैन यसो पाखा लाइदिनु होला’- पुरोहितको बोलीसंगै मेरै आंखा वरिपरी यो भएन त्यो भएन भनेर दगुरिरहने मेरा बाबाआमा, हजुरआमा, ठूलो बाबाको परिवार एकाएक गायव भए । झन् त्यसमाथि मेरो सारीको सप्को समातेर जग्गेमा म संगै घुमेको मेरो ६ वर्षको भाईलाई पनि कसैले टपक्क टिपेर लग्यो । कस्तो अचम्म आफैंले जन्माएर हुर्काएको छोरीको जीवनको महत्वपूर्ण पलमा पनि बाबुआमा बस्न नहुने, देख्न नहुने कसले बनाएको होला यस्तो पक्षपती नियम । सिन्दुर पोतेको काम सम्पन्न भयो । सिउंदोमा एक चिम्टी सिन्दुर र गलामा एकलुम पोते लगाई दिएर राजले मलाई पूर्णरुपमा आफ्नो बनायो । अनि बाबा आमाले कन्यदान गरेर पराइ बनाए ।

केही दिन अगाडि त हो नि आमाले तंलाई हेर्न केटा आउंदैछ, मन परायो भने यहि महिनाको लगन छोप्न पर्छ भन्नु भएको । तर, आमाले यो कहिल्यै भन्नु भएन तंलाई पनि केटो मन परयो भने यो लगन छोड्नु हुंदैन है…। चिटिक्क सजाएर बजारमा बेच्न राखेको गुडिया जस्तै लाग्यो होला र त आफ्नी छोरी, कहिले सोध्न जरुरी सम्झनु भएन- ‘मलाई तंलाई कस्तो जीवन साथी चाहिन्छ भनेर ?’ अनि बाबाको त के कुरा गर्नु र अहिलेसम्म के नै गर्न पाएको छु र मैले, मेरो खुसी र रोजाइले । खेल्ने गुडिया देखि पढ्ने स्कूल, लेख्ने कलम सब त बाबाको रोजाइ हो । न कहिल्यै सोध्नु भयो तंलाई केही कुराको रहर छ ? न कहिल्यै जान्न खोज्नु भयो- तेरो पनि केही सपना छ कि ? इज्जत र समाजको नाम दिएर आफ्नो सपना र रहरको भारी मेरो टाउको माथि थोपरिदिनु भयो । अनि म जिन्दगी भरि त्यही भारी बोकेर घिस्रीरहें ।

सधैं राजकुमार र राजकुमारीको कथा सुनाएर सुताउने मेरी हजुरआमाले पनि त कहिल्यै सोध्न आवश्यक ठान्नु भएन तेरो सपनामा पनि कुनै राजकुमार छ कि ? सोध्नु भएको भए नि भनि दिन्थें- हजुरहरुले जहां दिनुहुन्छ त्यहीं जान्छु । ‘जसलाई दिनु हुन्छ उहि नै हो मेरो राजकुमार । जसको हात माथि मेरो हात थमाई दिनुहुन्छ उसैको हात समातेर जीवन भरि हिंड्नेछु । परिस्थिति जे जस्तो आएनी उसैको पैतालाको डोबलाई पछयाइ रहनेछु ।’ थाहा छ- जन्म दिने बाबा आमाले आफ्नो सन्तानको बारेमा नराम्रो कहिल्यै सोच्दैनन् । सबै मेरो राम्रो सोच्नु हुन्छ, मेरो भलाई, मैले सुख पाओस भन्ने सोच्नु हुन्छ । तर, कसैले सोधेनन्, मात्रै अन्माइदिए एउटा गुडिया ठानेर । आफ्नो कर्तब्य पुरा गरे । छोरीको बिहे गर्नु छ भन्ने बोझ टाउकोबाट सधैंको लागि हट्यो । त्यसमाथि त झन् राज आफ्नो परिवारसंग बेलायतमा नै बस्ने । अब छोरी पनि बेलायत जाने । बाबाको गाउंमा कत्रो इज्जत, कत्रो शान । भोलिदेखि गाउंमा जतासुकै मेरै चर्चा परिचर्चा । बाबा आमालाई यो भन्दा बेसी के नै चाहियो र ?

मध्ये डिसेम्बरको मुटु कठयांग्रिने जाडो अनि चकमन्न अंध्यारो रातको यस्तै १० बजेको हुंदो हो, हिथ्रो एयरपोर्टबाट बाहिर निस्कंदा । तर पनि रातको १० बजे जस्तो कहिं कतै लाग्दैनथ्यो । फुस्स फुस्स परेका कपास जस्ता हिउंको वर्षाले बाटो देखि बाटो छेउ छाउमा पार्क गरिरहेका गाडी, घरका छानो सब सेताम्मे भएका थिए । त्यही माथि पात झरेर उजाड बनेका रुखका हांगाहरुलाई यिनै हिउंका साना साना कण र क्रिसमस लाइटले ढाक्दा ति सब एउटा कलाकारले बनाएको क्यानभास जस्तो लाग्थ्यो । झन् एयरपोर्टबाट घर जाने बाटोबाट देखिने दृश्य देख्दा त लाग्थ्यो, मेरी हजुरआमाले बयान गर्ने ‘पुष्प बिमान’ मा सवार गरेर जाने स्वर्गको बयान जस्तै थियो ।

सांच्चै झिलिमिलीको शहर थियो लन्डन । सफा सुन्दर, चिल्ला बाटा घाटा यिनै सुन्दर बाटामा प्रत्येक सेकेन्डमा घुईंकिने गाडी र सधैं हतारमा दौडिरहने मानिस । न रात न दिन कहिल्यै सुतेको देखिन बेलायत मैले । ‘छोरी मान्छे भएर सांझ परे पछि घरको दैलो काट्न हुंदैन’- यस्तै संस्कारमा हुर्केको मलाई यहां त न छोरा न छोरी सबै समान । न छोरा भनेर फुर्काएको देखें न छोरी भनेर भेदभाव । अझ भन्नु पर्दा घर परिवार, बच्चा बच्चीमा त आइमाईको हक बेसी । घर होस् या बाहिर अधिकारले सुसज्जित मात्र होइन, आफ्नो कर्तब्यमा पनि उतिकै चनाखो । भान्छामा के तरकारी पकाउने ? कति मसला कति तेल हाल्ने ? भन्ने बाहेक अरुमा मेरी आमा र हजुरआमाको निर्णय कहिले चलेन तर यो त रानीले राज गरेको देश ।

झुप्रो नै भएनि आफू जन्मेको घर सबैभन्दा प्यारो हुन्छ । मरे पछि जाने स्वर्ग कस्तो हुन्छ मलाई थाहा छैन् । तर जिउंदो छंदाको स्वर्ग भनेको मेरो लागि मेरी आमाको काख हो । जुन काख म संग छैन् । संसारमा सबै भन्दा प्रिय चिज के हो भनेर कसैले सोधे भने भनिदिन्छु -‘मेरो गाउं र मेरो देश ।’ तर यही प्रिय चिजबाट कोसौं टाढा छु म । छैन् भनुं भने फ्रिज भरि खानेकुरा छन्, तर स्वाद आफ्नो छैन्, पकाएर खान दिने आमाको हात छैन् । एउटा बटम थिचेको भरमा घर देखि पानीसम्म सबै तातोमा तातो, चिसोमा चिसो । तर घरको छेउ पट्टि भएर बग्ने खोला र त्यही खोला पारी जंगलबाट बहने जस्तो निश्चल कन्चन हावा अनि आफ्नोपन छैन् । न छन् त तिनै खोला जंगलमा खेल्ने मेरा दौतरी । हो देख्नलाई सबै थियो र देखाउनलाई पनि । तर, महसुस गर्नलाई केही थिएन्, कोही थिएन र छैन् पनि । हो केही छैन म संग न जून भरिएको आकाश, न चांदी जस्तै टल्कने हिमाल । थियो त केवल एक्लोपन र छटपटी अनि यही छटपटी भरिएको मुटुमा आफ्नाको प्रतिबिम्ब सजाएर बांचिरहेको छु यो परदेशमा ।

आएको पनि ७ महिना भइसकेको थियो । यसबीचमा राजलाई मुस्किलले ४-५ चोटी मात्र भेटें । काम अलि टाढा छ आउन जान गारो हुन्छ । त्यसैले उतै कोठा लिएर बसेको छ । अलि लामो छुट्टि भएको बेलामा मात्र आउंछ । ‘केही भयो भने हामीलाई भन्नु’- बेलायत आएको दिन देखिनै यसै भन्ने गर्थिन् सासु । हुन त एयरपोर्ट लिन पनि सासु र नन्न गएका थिए । समय कहिं कतै रोकिएन तर म रोकिएं । राजलाई बुझ्न नसकेर । यो भन्दा बुझ्न बांकी अरु केही रहेन । न विदेश, न यो झिलिमिली । श्रीमानलाई फोन 
गरयो बिजी छु भनेर रखिदिन्थ्यो । आफ्नो भनेको उही एउटा त थियो मेरो लागि यो बिरानो देशमा । तर, उ पनि यो देश जस्तै बिरानो भइदियो । काम भएको बेलामा त जसोतसो समय बित्थ्यो तर छुट्टीको बेला र घर भएको बेला यसै यसै एक्लोपनले थिच्थ्यो । न आफ्ना कोही, न पराइ कोही । न मन बुझ्ने कोही, न तन बुझ्ने कोही ? न बाबा आमालाई यी सब भन्न सकें, न यो मनलाई सम्झाउन सकें । एक्लो थिएं नितान्त एक्लो ।

वर्षकै उच्च थियो आजको तापक्रम । ४ बजे नै निस्केको घामको झुल्कोले आंखा त खुलिसकेको थियो । तर शरीर थाकेर यसै पल्टिरहेको थिएं । ‘ल ल छिटो तयार हौ । समुन्द्रमा घाम ताप्न जानुपर्छ’- उसको बोलीसंगै आंखा मात्र होइन शरीर पनि एकाएक स्फूर्त भयो । उठेर फटाफट तयार भएं । धेरै पछि त्यही घामको झुल्को जस्तै झुल्किएको थियो खुसी पनि मेरो जीवनमा । लगभग २ घन्टाको ड्राइभिङ्ग पछि 
’ब्राइटन सी साइड’ पुगियो । बेलायत आएको २ वर्षमा पहिलो चोटी होला समुन्द्रको पानी छुने सौभाग्य पाएको मैले । त्यो पनि आफूलाई माया गर्ने मान्छेको हात समाएर । जता हेरयो उतै मान्छे मात्र लाग्थ्यो, पुरै बेलायत नै आज समुन्द्रको छेउमा छ । महिनौंसम्म जाडोले कठ्यांग्रिएको शरीरलाई आज सूर्यको किरणले मजाले तताइरहेका छन् । कोही बालुवामा सुतिरहेका छन्, कोही पौडिरहेका छन् । कोही यता उता हिंडिरहेका । सांच्चै सुन्दर छ बेलायत अनि त्यो भन्दा सुन्दर माया गर्ने मान्छेको साथ । उ मुखले कहिल्यै केही भन्थेन् तर आंखाले लाखौं शब्द बोल्थ्यो । अनि यही आंखाले त हो नि मलाई सधैं लोभ्याउने । यी आंखानै मेरो लागि संसार थियो । जति हेरे नि हेरिरहुं जस्तो एउटा छुट्टै आकर्षण । पैसाले किन्न नसक्ने सपना थियो त्यो आंखामा । ठिकै भन्थे मान्छेहरु- सपनाको कुनै मुल्य 
हुंदैन । किनकि त्यो सपना खुशी सब म थिएं, हो मात्र म । त्यसैले त हरपल म ति आंखालाई चुम्न मन 
पराउंछु । आज पनि ओठ आंखा नजिक मात्र के पुराएको थिएं टिंग टिंग ….आलारम बज्यो । राज, त्यो समुन्द्र सब एउटा सपना मात्र थियो । सपनाको त्यान्द्रो संगै मेरो त्यो खुसी नि टुट्यो । मात्रै म बांकी रहे…अनि मेरा सपनाको कहिले पुरा नहुने रंगहरु ।

हप्ताको ५ दिन काम २ दिन छुट्टी । लगभग २ वर्ष हुन लागेछ आएको पनि । महिनाबारी रोकियो, आमा बन्ने भएं । सिन्दुर लगाइदियो स्वास्नी बनायो । बच्चा दियो, आमा बनाइदियो तर माया दिएन । कहांको गाउंको केटीलाई बेलायत ल्याइदियो, बेलायतको सुख सयल झिलिमिली सबै दियो । तर अपनत्व दिन सकेन्, मन दिन सकेन्, आफ्नो मनमा राख्न सकेन । मुखले त केही भन्थेन तर नभनेर नै सबै भन्थ्यो । तं कहांकी पाखे, गाउंको कुन कुनामा जन्मेको, कहां म बेलायत मा हुर्केको । मैले बोलेको सुन- तैंले न बोल्न जानेकी छस्, न लाउन, न हिंड्न, न खान ।’ तैंले लगाएको कपडा हेर, तैंले चढेको गाडी हेर, त्यो सब 
मेरो परिवारको हो । आज त जहां छस् मैले गर्दा हो । नत्र गाउंमा कुन कुनामा बिहे गरेर घांस दाउरा गरेर जीवन काटिरहेको हुन्थिस् । यस्तै यस्तै धेरै बोल्थ्यो उसको आंखा । ‘म तंलाई माया गर्छु ख्याल राख्छु, तं मेरो जिन्दगी होस् …’ जुन सुन्नको लागि वर्षौं देखि तड्पिएं त्यो कहिल्यै बोलेन्, न कुनै मायाले भरिएको नजरले नै मलाई हेरयो । हेरयो त सधैं बेचैनी भरिएको आंखाले । त्यो बेचैनी पनि मेरो अनुपस्थितिले होइन, मेरो उपस्थितिले थियो । लाग्यो म कुनै तिखो कांडा हो उसलाई बिझाउने ।

बच्चा जन्मने महिना पनि आयो । यो नौ महिनामा न कुनै दिन हात समाएर अस्पताल लग्यो, न कुनै दिन तंलाई कस्तो छ भनेर सोध्यो । न केही खान लाउन मन लागेको छ भनेर सोध्यो । न बच्चाको लागि कुनै उत्साह, न कुनै तयारी । लोग्ने छैन् भनुं सिउंदोको सिन्दुरले उ हुनुको आभाष दिलाई रहन्थ्यो । छ भनुं कुनै दिन मायाले बोलाएन, सुम्सुमाएन । न लोग्ने हुनुको कर्तब्य निभायो न बाबु हुनुको । न छोरी जन्मने बेलामा आयो, न छोरीलाई लिने बेलामा आयो । न 
छोरीलाई कुनै दिन काखमा बोक्यो । आफ्नो रगतले त तान्न सकेन, म त को हो र ? यस्तै सम्झेर मन बुझाउन थालिसकेको थिएं मैले पनि ।

एकदिन कोठामा छोरी सुताउन मात्र लागेको थिएं । सिटिंग रुमबाट चर्काचर्की आवाज सुनिन थाल्यो । ‘Mum.. I can’t do anymore. यो भन्दा बेसी सहन सक्दिन । मलाई ‘डिभोर्स’ चाहियो । म मेलनसंग बिहे गरेर ‘सेटल’ हुन चाहन्छु ।’ यहां भन्दा बेसी सुन्न सकिन । उसको बेवास्ता, बेचैनी, घर नआउने, फोन काटिदिने यो सब मेरो उपस्थिति थियो, यति बुझ्ने भैसकेको थिएं म ।

मलाई माया नगरेको सहन सकेको थिएं तर अरुलाई माया गर्छु भनेको यो मनले सहन सकेन । आफू संगको दुरीको प्रवाह भएन । तर अरु केटीसंगको निकटताले भतभती पोल्न थाल्यो मुटु । विकल्प अर्को पनि त थिएन । आमालाई सम्झें, आमाले भनेको सम्झें- संसारमा मान्छे सब भन्दा बलियो कहिले हुन्छ थाहा छ छोरी तंलाई ? अहं…’जब जब आफ्नाको बेवास्ता बढ्दै जान्छ मान्छे कमजोर होइन् झन् झन् बलियो हुन जान्नुपर्छ । अर्काको हात समाउन पाइला मिसाउन छोडेर आफनै हात र खुट्टा मिलाएर दह्रोसंग हिंड्न सिक्नुपर्छ । संसार एकातिर आफू अर्कोतिर भएनी सहजै जिन्दगी चलाउन सक्नु पर्छ अनि मात्र बांच्न सकिन्छ, जिउन सकिन्छ । हात संगै हिंड्नेको समाउने हो अघि पछि छोडेर हिंड्नेको होइन ।’

स्वास्नीको रुपमा त एकदमै बलियो भैसकेको थिएं तर आमाको रुपमा कमजोर नै थिएं । यस्तो बिरानो देशमा बाबु बिना कसरी हुर्काउने ? कस्तो संस्कार दिने ? त्यति सजिलो थिएन हामी जस्तो विदेशीलाई बाबा आमा दुबैको माया दिएर छोरा छोरी हुर्काउन । अलि ठूली बुझ्नी भएर बाबा खोइ भनि भने के जवाफ दिने ? कसरी भन्ने तिम्रो बाबा 
अर्को आइमाई बिहे गरेर बस्नु भएको छ ? कसरी भन्ने तिमी म भन्दा प्यारी तिम्रो बाबालाई अरु कोही भएको छ ?

भाग्यमा नभएकाको लागि आंसु बगाएर के गर्नु ? यति भोगिसकेपछि राजलाई माया गर्नु, उ भनेर बस्नु भनेको म आफूले आफैंलाई छल्नु थियो, बालुवाको घर जतिनै सजाए पनि केही बेरको लागि मात्र हो । तर, कसरी बाबाआमालाई भन्ने मेरो घर पनि बालुवाको थियो । ‘मेलन’ रुपी छालले बढारयो, बगायो, उंडायो कहिल्यै नजोडिने गरेर…।

‘सबु’- ढोकाको ढकढकसंगै राजको बोली । हातमा पानी भरिएको ग्लांस रैछ अनि ग्लांस संगै थियो म प्रति गुनासो भरिएको मन र याचना भरिएको आंखा । ‘मलाई माफ गरिदेउ सबु, आज तिम्रो मन दुखाउन 
जांदैछु’- मायाले हात सुम्सुमाउंदै बोल्न थाल्यो ऊ । बिहे गरेको ३ वर्षमा मायाले त्यो पनि होसमा हात समातेको पहिलो चोटी थियो उसले । समात्न त यो भन्दा पहिला नै धेरै चोटी समातेको थियो यो हात । हात मात्रै होइन, यो शरीर भरि आफ्नो ओठ पुराएर अंग अंग चुमेको थियो । सासै सासले ‘यू आर माइ लाइफ, यू आर माइ लभ’ पनि भनेको थियो । तर, ति सब बेहोसीमा भनेको थियो, गरेको थियो । जब बेहोसीबाट होसमा आउंथ्यो उ चुपचाप निस्कन्थ्यो कुनै अपराधी जस्तै ।

तर, आजको राज त्यो भन्दा भिन्न थियो । सबु मलाई थाहा छ तिमी धेरै राम्री छौ, असल छौ । तिमी जस्तो जीवनसाथी त भाग्यमानीले मात्र पाउंछन् । के के गरिनौ तिमीले हाम्रो सम्बन्ध बचाउन । मलाई फूल जस्ती छोरी दियौ, ड्याड बनाइदियौ । सधैं सुनसान 
रहने हाम्रो घरमा खुसीको रौनक छरिदियौ । तिम्रो त्यो निश्चल हांसो र ब्यवहारले मेरो बाबा ममीले आफूलाई एकपल्ट फेरी जन्मभूमिमा भएको महशुस गर्नुभयो । तिमीलाई पाउने मान्छे संसारकै भाग्यमानी हो । अझ ति भाग्यमानीहरु मध्ये एक भाग्यमानी त्यो हो जसलाई तिमी माया गर्छौ । हो मलाई थाहा छ त्यो भाग्यमानी कोही अरु नभएर म हो । तर, यै भाग्यमानी तिमीलाई धोका दिंदैछ, बीच बाटोमा अलपत्र पार्दैछ । हो सबु म भाग्यमानी होइन्, अभागी हो, तिमीलाई कहिल्यै माया दिन सकिन र दिन पनि सक्दिन । म अरु कसैलाई माया गर्छु । अनि माया बिनाको सम्बन्ध सम्झौता हो ।

‘बिहे सम्झौता होइन्, दुईटा माया गर्ने मनको मिलन हो’- यस्तो मलाई लाग्छ । अनि यी माया गर्ने मन सधैं मिल्नु पर्छ, मिलेर नै जीवनको अगाडिको बाटो तय गर्नुपर्छ । सम्झौतामा जीवन त चल्छ, बांच्न पनि सकिन्छ तर जिउन सकिन्न । म जिउन चाहन्छु त्यो पनि मैले माया गरेको मान्छेसंग । उसको हात माथि हात राखेर हिंड्न चाहन्छु । ‘हो सबु म मेलनलाई माया गर्छु । आज भन्दा आठ वर्ष अगाडि हाम्रो भेट युनिभर्सिटीमा भएको हो । अनि आठ वर्ष देखि नै आजसम्म हामीहरु एकअर्काको प्रेममा छौं । केही समय लिभिङ्ग टुगेदरमा पनि बस्यौं । यहां भन्दा ३०० माइल परको शहर 
वेल्समा । आज पनि म उसैसंग बस्छु । तर, तिमीलाई बिहे गर्ने बेलामा म र मेलन छुट्टीसकेका थियौं । हाम्रो झगडा भएको थियो त्यसैले उनले पनि अर्को बिहे 
गरिन् अनि मैले पनि तिमीसंग बिहे गरें । हुन त म बिहे गर्न चाहन्नथे तर आफूले रोजेको केटीसंग बिहे नगरे आफू सधैंको लागि नेपाल जाने मम्मीको धम्की पछि म तिमीसंग बिहे गर्न वाध्य भएं । त्यसैले त मम्मीले तिमीलाई हेरेर हुन्छ भने पछि मात्र म बिहेको लागि मात्र नेपाल गएको थिएं । न तिमीले राम्रो संग देख्यौ मलाई, न मैले देखें तिमीलाई बिहे अगाडि । तर, अहिले मेलन फेरी मेरो जिन्दगीमा फर्केर आएकी छे । अब उसलाई म बाट टाढा हुन दिंदिन । प्लिज मलाई बुझ्ने कोसिस गर सबु ।’

तर, छोरीको बारेमा पीर नगर । बाबा हुनुको सबै कर्तब्य निभाउंछु, उ प्रतिको मेरो मायामा कुनै कमी हुने छैन् । तर तिमीसंग बसेर तिम्रो लोग्ने भएर होइन, मात्र छोरीको बाबु भएर । त्यसैले प्लिज मलाई यो बन्धनबाट मुक्ति देउ । एकाएक हात जोडेर घोप्टियो 
राज भुईंतिर । अघिसम्म ओभानो ‘लेमिनेट’ गरेको भुईं एकैछिनमा छिपछिप देखियो त्यो पनि राजको आंसुले ।

भुईंमा पोखिएको उसको आंसु हेरें अनि आफ्नो आंखामा छचल्किएको आंसु हेरें, उस्तै त छ नि रंग । के फरक छ र ? म पनि यसै गरि कति रोएं तिम्रो लागि कहिल्यै महसुस गरयौ ? कुनै दिन सोध्यौ सबु तिमीलाई कस्तो छ ? अंह… म किन तिम्रो आंसुलाई यति महत्व दिउं । तर यो मनलाई सम्झाउन सकिन, सम्हाल्न सकिन आफूलाई उसको आंसु देखेर । उसको आंसुको अगाडि मेरो दुःख पीडा सब गौंढ भए । उसको खुसी बाहेक केही देखिन मैले ।

उसलाई उठाएं अंगालोमा बेरें । सानो छोरीलाई जस्तै छातीमा टांसे । छोरीप्रति माया जसरी उर्लेर आउंथ्यो, उमाथि पनि उसै गरि माया उर्लेर आयो । जतिनै दुखाए नि, बेवास्ता, विश्वासघात गरेनि आफूले माया गरेको मान्छेलाई घृणा गर्न सकिंदो रैनछ । हुन त उसको ब्यवहारले घृणा पलाउनु पर्दथ्यो तर पलाएन । झन् बेसी मायां झांगियो लहरा जस्तै । कतै रोकिएन, कतै टुटेन, पहिले भन्दा बेसी माया लाग्यो । उसलाई चुमें, उसका अंग अंग चुमें जीवन भरि पुग्ने गरि छातीमा लगाएं । फेरी मिल्यौं अब उप्रान्त कहिल्यै नमिल्ने गरि, एकचोटी फेरी एक भयौं कहिल्यै नभेट्ने गरि ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक