अमेरिका-चीन वार्ताबाट व्यापार विवाद समाधानतिर

दुई शक्तिशाली राष्ट्रका राष्ट्रप्रमुख

बेइजिङ, चीन, पुस २६ – बेइजिङमा अमेरिकी प्रतिनिधिमण्डलसँग भएको व्यापार वार्ताले व्यापार विवाद समाधानका लागि आधार तय गरेको चीनले बिहीबार जनाएको छ ।

लामो समयदेसखि जारी व्यापार विवादबारे वार्ता गर्न अमेरिकी प्रतिनिधिमण्डल सोमबार चीन आएको थियो । उक्त टोली बुधबार अमेरिकाका लागि प्रस्थान गरिसकेको छ ।

गत डिसेम्बर १ मा जी–ट्वान्टी सम्मेलनको अवसरमा अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन फिङबीच ९० दिन व्यापार विवादलाई नबढाउने र समस्या समाधान प्रयास गर्ने सहमति भएपछि यसैलाई पछ्याउँदै अमेरिकी प्रतिनिधिमण्डल चीन आएको हो ।

बुधबार समाप्त भएको वार्तामा दुवै पक्षले आगामी मार्चपूर्व व्यापार विवाद अन्त्य गर्न सम्झौता गर्ने र थप करवृद्धिलाई रोक्ने बिषयमा पलाएको आशासँगै उक्त दिन विश्व शेयर बजारमा वृद्धि देखिएको छ । यद्यपि एशियाली स्टक बजारमा बिहीबार पनि प्राय गिरावट नै देखिएको छ ।

चिनियाँ बाणिज्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वार्तामा चीन र अमेरिकी वार्ता टोलीले ‘सविस्तार,गहिराइमा पुगेर र सावधानीपूर्व’ विचारहरूको आदान प्रदान गरेका छन् । जसले आपसी समझदारीलाई बढाएको छ र आपसी चासोका बिषयलाई समाधान गर्नका लागि आधार तयार बनेको छ ।”

“दुवै पक्षले निकट सम्बन्धलाई स्थापित गर्दै अघि बढ्ने बिषयमा सहमति भएको छ ।”

वार्तामा अमेरिकी पक्षले आफ्ना प्रबिधि र बौद्धिक सम्पत्तीको बलजफ्ती रूपान्तरण र चोरी गरेको साथै चिनियाँ कम्पनीलाई अधिक सरकारी अनुदान दिएर अमेरिकी उत्पादनलाई धारासायी पार्ने प्रवृतिलाई रोक्न माग गरेको छ ।

यसबारे भएको प्रगतिबारे सोधिएको प्रश्नमा चीनका बाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले भन्नुभयो, “वार्तामा संरचनागत बिषयलाई केन्द्रित गरिएको छ ।”

बेइजिङ वार्तामा सहभागी अमेरिकी व्यापार तथा कृषि मामिला उपमन्त्री टेड म्याककीन्नीले भन्नुभयो, “वार्ता निकै सकारात्मक भएको छ ।”

यसअघि मङ्गलबार नै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै चीनमा जारी व्यापार वार्ता निकै राम्रोसँग अघि बढेको बताउनुभएको थियो ।

अमेरिकाले व्यापार असन्तुलन बढेकाले ट्रम्प प्रशासनले बेइजिङमाथि बढीभन्दा बढी अमेरिकी सामान खरिद गर्न दबाब दिएको र चिनियाँ बजार विदेशी कम्पनीका लागि सहज बनाउन आग्रह गरेको छ ।

अमेरिकी बाणिज्य मन्त्री विल्बर रोसले अमेरिकी टेलिभिजन सीएनबीसीलाई बुधबार दिएको अन्तर्वार्तामा दुबै मुलुकबीच सम्झौता हुने प्रबल सम्भावना रहेको बताउनुभएको थियो ।

“व्यापार युद्धबाट अमेरिकीभन्दा चिनियाँ अर्थतन्त्रलाई बढी नोक्सान हुनेछ । चीनले अरु मुलुकको भन्दा बढी सामान संयुक्तराज्य अमेरिकामै बिक्री गर्दछ । ”

“मेरो विचारमा सम्झौता हुन्छ र मैले निकै उत्साहजनक कुरा सुनिरहेको छु,” एप्पल कम्पनीका प्रमुख कार्यकारी टीम कूकले पनि वार्ताबाट सकारात्मक निकास आउनेमा विश्वास व्यक्त गर्नुभयो- “मैले अमेरिकी प्रशासनका तर्फबाट बोलिरहेको छैन तर मैले मेरा धारणा अमेरिकी प्रशासनलाई बताउने गरेको छु ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री