नेपलिज नर्सिङ असोसिएसन यूकेका भावी कार्यक्रम तर्जुमा

लन्डन । नेपलिज नर्सिङ असोसिएसन यूकेले वर्ष दिनका लागि विभिन्न कार्यक्रम तय गरेको छ । डिसेम्बर अन्तिम साता लन्डन साउथहयारो स्थित गोल्डेनसीप रेष्टुरेन्टमा सम्पन्न असोसिएसनको छैठौं कार्यसमितिको पहिलो बैठकले बुझबुझारथसहित विभिन्न निर्णय गरेको हो ।

बैठकमा निवर्तमान अध्यक्ष र कोषाध्यक्ष क्रमशः प्रसुना कंडेल र गंगा साम्पाङले नवनिर्वाचित अध्यक्ष बिनोदविकास सिंखडालाई संस्थाको कागजात औपचारिक रुपमा हस्तान्तरण गरे । साथै नयां कार्यसमितिले कंडेल र साम्पाङलाई उनीहरुको योगदानका लागि पुष्पगुच्छा एवं उपहार दिइ कृतज्ञता समेत व्यक्त गरेको छ ।

गत महिना निर्वाचित नयां कार्यसमितिले सन् ०१९ का लागि भावी योजना तर्जुमा गरेको छ, जसमा नेपलिज डक्टर्स असोसिएसन यूके र नेपाली समुदायसंग मिलेर १६ फेब्रुअरीमा कोलचेस्टरमा ‘हेल्थ क्याम्प’ गरिने भएको छ । शिविरमा नेपाली चिकित्सकहरुबाट नै निशुल्क स्वास्थ्य जांच र जनचेतनाका लागि ‘प्रिजेन्टेसन’ हुने संस्थाले जनाएको छ । संस्थाले उक्त स्वास्थ्य शिविरमा सहभागिताका लागि इच्छुकलाई आव्हान गरेको छ । उता ५ अप्रिलका दिन नर्सहरुको वार्षिक सम्मेलन लन्डनमा गर्ने निर्णय भएको छ । त्यसैगरि, ३१ अगष्टमा च्यारिटी डिनर र २३ नोभेम्बरमा वार्षिक साधारणसभा गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले विधान अनुरुप दुई सदस्यहरुमा सृजा डंगोल र प्रजु सापकोटालाई मनोनित गरेको छ । महासचिव रस्मिता सिंह दर्लामीले दिएको जानकारी अनुसार, बैठकमा ट्रेड युनियन लियाजन कमिटी र कन्फिल्क्ट रिजोलुसन कमिटी बनाउने निर्णय भएको छ जसको ‘प्रोटोकल’ बनाउने जिम्मा अध्यक्ष सिम्खडा र सदस्य कल्पना घिमिरेलाई दिइएको छ । उल्लेखित समितिमा अनुभवी आजीवन सदस्यहरुबाट तीन तीन जना छानिने दर्लामीले जनाइन् । बैठकले आजीवन सदस्य शुल्क २५० पाउण्डबाट ९९ पाउण्ड घटाउने निर्णय गरेको छ भने साधारण सदस्य बन्न दुई वर्षका लागि २० पाउण्ड निर्धारण गरिएको छ ।

यस अलवा नेपाली व्यवसायहरुबाट आफ्ना सदस्यहरुलाई डिस्काउन्टको व्यवस्था मिलाउन पहल गर्ने निर्णय समेत भएको छ । नेपाली बिजनेशलाई सपोर्ट र सदस्यहरुलाई समेत लाभ होस् भन्ने उद्देश्यले यस्तो जुक्ति अपनाइएको हो ।

बैठकले सल्लाहकारहरु समेत चयन गरेको छ जसमा संस्थापक अध्यक्ष अजिता सिम्खडा, पूर्व अध्यक्षहरु शान्ता संग्रौला, बासु लामिछाने, सुशिला कार्की, प्रसुना कंडेल, टुका क्षेत्री स्याण्डवेल, कमला पाण्डे, राजेन्द्र क्षेत्री, शान्ति थापा कुंवर र मन सुनुवार छन् ।

बैठकमा अध्यक्ष सिम्खडाले आफ्नो कार्यकालको दुई वर्षे योजना पनि सुनाए । उनले संस्थाको कोष अभिवृद्धि गर्न च्यारिटी डिनरमात्र नभई अन्य फरक श्रोतबाट समेत कसरी गर्न सकिन्छ भन्नेबारे विकल्प खोजिने अठोट गरे । साथै उनले ‘डोनेट वान डे फर एनएनए यूके’ अर्थात संस्थालाई एक दिनको तलब प्रदान गर्न आग्रह गर्ने, संस्थाको गतिविधि लन्डनमा मात्र सिमित नराखी स्कटल्याण्ड, वेल्स्, नर्दन आयरल्याण्ड र मिडल्याण्डमा समेत विस्तार गरिने उल्लेख गरे ।

बैठकमा संयोजकद्वय प्रसुना कंडेल र सल्लाहकार टुका स्याण्डवेलले असोसिएसनको निर्माणाधिन प्रसुति गृह प्रोजेक्टबारे अपडेट गराएका थिए । संस्थाको लगानीमा जुम्लाको पत्थर खोलामा प्रसुति गृह बनिरहेको छ । निर्माण सम्पन्न भएपछि ५ वर्ष असोसिएसनकै खर्च र रेखदेखमा व्यवस्थापन गरि पछि सरकारलाई हस्तान्तरण गरिनेछ ।

सो अवसरमा अकाउन्टेन्ट समिरनाथ प्याकुरेलले संस्थाको हरहिसाब कसरी पारदर्शी बनाउने भन्नेबारे अवगत गराए ।

बैठकमा प्रसुना कंडेल, बिनोदविकास सिंखडा, सुनिता थापा गौतम, रस्मिता सिंह दर्लामी, बिनु लामिछाने, गंगा साम्पाङ, रफी श्रेष्ठ, आज्ञा ढकाल, कल्पना घिमिरे, सरिता रिजाल, राजत्री थापा, शोमा बोहोरा, रन्जना केसी अधिकारी, समिरनाथ प्याकुरेल, श्रृजा डंगोल, सुनिता श्रेष्ठ लगायतको सहभागिता थियो ।

संस्थाको लगानीमा जुम्लाको पत्थर खोलामा बनिरहेको प्रसुति गृह

प्रतिक्रिया

सम्बन्धित सामाग्री