बेलायतका दर्शकले नायिका नम्रता श्रेष्ठसंग हेरे ‘प्रसाद’

लन्डन । छोटो तर धेरै दौडधुपले नायिका नम्रता श्रेष्ठ पहिलो बेलायत भ्रमणमा अस्वस्थ्य नै भइन् । लामो यात्रा, बेलायतको चिसिंदो मौसम र छोटो अवधिबीच तय गरिएका धेरै कार्यक्रमले उनी बिरामी नै परिन् । ‘मलाई सन्चो छैन् तर तपाईंहरुको माया र उपस्थितिले म उत्साहित छु’, शनिबार बेलायतस्थित अल्डरसट प्रिन्सेस हलमा आफ्नो पछिल्लो फिल्म प्रसाद प्रिमियरमा उपस्थित भएकी नम्रता भन्दै थिइन् ।

नेपाली फिल्म रुचाइदिने दर्शकप्रति आभार व्यक्त गर्दै नम्रताले आफूलाई माया गरिरहन आग्रह समेत गरिन् । शुक्रबार सोआस युनिभर्सिटीमा नेपाली फिल्म र आफ्नो जीवनका उतारचढाबबारे खुलेर बोलेकी नायिका श्रेष्ठसंग नेपाली सिनेमाप्रेमीले आइतबार अल्डरसटस्थित डि लाउन्जमा ‘मिट एण्ड ग्रीट’ पनि गरे । सोमबार उनी लन्डनको माया पबमा फेरि दर्शकहरुको सामिप्यमा आउंदैछिन् ।

ब्लगर लेक्स लिम्बु, हयाब अ मोमेन्ट र जि ९ इन्टरटेन्मेन्टसले फिल्म 
‘प्रसाद’ को बेलायतमा प्रिमियर शो गरेका हुन् । लिम्बुले नेपाली चलचित्र प्रवर्धन र दर्शकलाई उत्कृष्ट फिल्म देखाउन कार्यक्रम तय गरिएको बताए । अचेल नेपाली चलचित्र उत्कृष्ट बन्दै गएकाले नयां पुस्ता समेत यसतिर आकर्षित भएको उनको भनाइ थियो ।

अधिकांश दर्शकले चलचित्रले फरक कोणबाट उठाएको सामाजिक विषयवस्तु, कलाकारहरुको सशक्त तथा मन छुने अभिनय, सरल तर दमदार प्रस्तुति, उत्कृष्ट गीत लगायतका कारणले चलचित्र मन 
पराएको बताएका थिए । ‘चलचित्रले समाजभित्रको वास्तविकतालाई सरल र मन छुने ढंगले प्रस्तुत गरेको छ’, फिल्म हेर्न पुगेका नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्यालले भने, ‘कलाकारहरुको सशक्त अभिनय चलचित्रको बलियो पक्ष छ ।’

नायिका नम्रता श्रेष्ठ

नम्रता श्रेष्ठ, बिपिन कार्की, निश्चल बस्नेत आदि कलाकारले अभिनय गरेको ‘प्रसाद’ दिनेश राउतले निर्देशन गरेका हुन् ।

अन्तर्जातीय प्रेम बिबाह पश्चात गाउं र परिवार छोडेर शहर पसेको एक जोडीले निस्सन्तान भएपछि आइपरेको समस्या र आफैंसंग गरेको द्वन्द्व नै फिल्मको मुख्य प्लट हो । महिला पात्र केन्द्रमा रहेको फिल्मले उक्त पात्रले आफ्नो अधिकार प्राप्तिका लागि लडेको लडाईंलाई पनि आत्मसात गरेको देखिन्छ ।

‘प्रसाद’ बेलायतका अन्य विभिन्न शहरमा समेत प्रदर्शन गर्ने तयारी छ ।

तस्विर सौजन्य- शंकर श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित सामाग्री