जीवनशैली नमिल्दा दक्षिण एसियाका मानिसलाई मधुमेह बढि 

लेखक आचार्य

मधुमेहको समस्या संसारमा बढ्दो छ । डाइबेटिज युकेको तथ्यांक अनुसार दक्षिण एसियाका मानिसलाई अन्यन्त्रकालाई भन्दा टाइप २ मधुमेह हुने जोखिम करिब चारगुणा रहेको देखिएको छ । दक्षिण एसिया मुलबासीलाई टाइप-२ मधुमेह हुनुको जोखिममा उनीहरुको मांशपेशीहरुले बोसो उपभोग गर्ने तरिकाले गर्दा बढी भएको कुरा अध्ययनले देखाएको छ ।
ग्लास्गो युनिभर्सिटीको अनुसन्धान टोलीले पत्ता लगाए अनुसार युरोपियन मान्छेहरुको तुलनामा दक्षिण एसियाका मानिसहरुको मांशपेशीले शक्ति कम प्रयोग गर्दा इन्सुलिन हार्मोनमा कम प्रतिक्रिया दिनाले मधुमेहको जोखिममा योगदान पुरयाउन सक्ने देखिएको छ ।
शरीरले बोसो उपभोग गर्ने एउटा तरिका अस्थिरपन्जी 
मांसपेशीहरु हुन् र अनुसन्धानकर्ताहरुले दक्षिण एशियाका र युरोपियन मानिसहरुको मांसपेशीहरुमा धेरै भिन्नता रहेको पाएका छन् । अर्को अर्थमा दक्षिण एशियाका र युरोपियन मानिससंगै एकै गतिमा हिंडे भने युरोपियन मानिसको शरीरले धेरै क्यालोरी उपयोग गर्छ ।
मधुमेहको अन्य कारणहरु – 
प्यास लाग्नु, खासगरी रातमा सदा भन्दा बढी पिसाब लाग्नु, थकाइ लाग्नु, वजन घट्नु (थाहै नपाइ), अस्पष्ट देख्नु, गुप्ताङ्ग धेरै चिलाउनु आदि मधुमेहको लक्षणहरु हुन् । याद गरौं कि बिना लक्षणहरु बिना पनि मधुमेह हुन सक्छ । त्यसैले रगत परिक्षण बेला बेलामा गर्नुपर्छ ।
टाइप-१ मधुमेह प्रायः बच्चाहरू र कम उमेरका मानिसहरूमा प्रौढहरू विकास हुन्छ भने नब्बे प्रतिशत टाइप-२ मधुमेह जीवनशैलीको कारणले देखिएको छ ।
दक्षिण एशियाका मानिसहरुको कम मांशपेशी हुनुको साथै पेटमा बढी बोसो हुने सम्भावना रहन्छ जसको कारणले इन्सुलिन प्रतिरोध हुनसक्छ । पेटको बेसोमा हुने एक किसिमको अग्रगामी एंजियोटेनसिन प्रोटिन हो जसले रक्त कोषिकाहरुमा रगत ओहर दोहर गर्न व्यवधान पुरयाउंछ । उक्त कारणले रक्तचाप बढ्ने गर्छ । अर्को प्रोटिन जसलाई रेटिनो बाइन्डीन्ग ४ भनिन्छ जुन इन्सुलिन प्रतिरोध हुन्छ जसको कारणले आर्टरीहरु बन्द भइ ह्दयाघात, स्ट्रोक हुने जोखिम बढ्छ । पेटको बेसोमा पाइने अरु प्रोटिनहरुले थोरै  सुनिने गराउन  सक्छ जसले मुटुरोग, मधुमेह र अरु रोगहरु जस्तै क्यान्सर हुने जोखिम हुन्छ ।
मोटोपन नभएपनि खानपिन तथा जीवनशैलीको कारणले मधुमेहको जोखिम प्रबल रहन्छ । बढ्दो सहरीकरण कारणले कम क्रियाशील जीवनयापन पनि अर्को कारण हुन आउंछ । झन्डै ५० प्रतिशत एशियाका प्रौढले धुमपान गर्छन्, जसको कारण ठूलो भुंडी हुन पुग्छ र ४५ प्रतिशत मधुमेह हुने जोखिम बढ्छ ।
सेतो भात तथा अरु परिष्कृत अन्नहरु बढी मात्रामा खाने हुंदा यसले मधुमेहको जोखिम बढाउने सम्भावना छ । आमा गर्भवती हुंदा उचित पोषणयुक्त खाना नखांदा जब बच्चा ठूलो हुन्छ, उसको उच्च चिनीको मात्रा रगतमा देखिने कारक बन्न सक्छ । वायू प्रदूषणको कारणले इन्सुलिन प्रतिरोध बढ्ने र मधुमेहको जोखिमको समस्या पनि एसियाली शहरहरूमा देखिएको छ ।
मधुमेहले मुटुलाई गर्ने असर 
रगतमा उच्च ग्लुकोज लेभल भएपछि रगत बाक्लो र टांसिने हुनपुग्छ । त्यसैले शरीर भरि रगत पम्प गर्न मुटुलाई भार पर्छ र यसले आर्टरीको भित्तामा असर गर्दछ जसले चिल्लो जम्ने क्रमको विकास गर्न सक्दछ । मुटु रोगका जोखिमका तत्वहरू धूमपान, उच्च रक्तचाप र रगतमा उच्च कोलेस्ट्रोलबाट हुने नोक्सानलाई मधुमेहले थप बढाउंदछ । टाइप-२ मधुमेह भएको मान्छेको प्राय ट्राइग्लिसराइड बढी र एचडिएल  कोलेस्ट्रोल कम हुन्छ । मधुमेह भएको मान्छेलाई रक्तचाप हुने बढी सम्भावना हुन्छ । मधुमेहले मुटुको मांशपेशीलाई असर गर्न सक्छ र रगत पम्प गर्ने क्षमतामा ह्रास आउन सक्छ । मधुमेहले मुटुको स्नायुलाई असर पार्न सक्छ । त्यसैले एन्जाइनाको लक्षणहरूमा फरक पर्न सक्छ । यसले इन्जाइना र ह्दयाघात पत्ता लगाउन ढिलो हुन सक्छ ।
मधुमेहको जोखिम कसरी कम गर्ने ?
शरीरका अङ्गहरू जस्तै आंखा, मृगौला, पैतालाको नोक्सान रोकथाम गर्न रगतको ग्लुकोज लेभल र रक्तचाप ठिक गरी नियन्त्रण गर्नु जरुरी छ । मधुमेहले कोरोनरी मुटुरोग लाग्ने सम्भावनालाई धेरै बढाउंछ । मधुमेहको मुख्य जोखिमका तत्वहरूको राम्रो उपचार र जीवनशैली परिवर्तन गरेर नियन्त्रण गर्न सकिन्छ । निम्न कुराहरुलाई मनन गरौं-
मोटोपन हटाऔं, क्रियाशील बनौं- स्वस्थ्यकर वजन राख्नाले  रक्तचाप कम हुने र मुटुलाई कम काम गर्ने बनाउंछ, यसले कोलेस्ट्रोल घटाउंछ र मधुमेहको विकास हुने जोखिमलाई कम गराउंछ । आफ्नो उचाई अनुरुपको वजन हुनुपर्दछ । शारीरिक निस्कृयता मुटुरोग लाग्ने प्रमुख जोखिम हो र टाइप-२ मधुमेहको विकास हुने पनि प्रमुख कारण हो । तपाईंलाई मधुमेह भइसकेको छ भने शारीरिक क्रियाशीलताले तपाईंले खाने औषधीको परिमाण कम गर्न मद्दत गर्दछ । क्रियाशील हुंदा विस्तारै रफ्तार बढाएर लैजानु पर्दछ र हप्ताको कम्तीमा पांच दिन आधी घण्टाको ठिक्कको व्यायाम गर्नुपर्दछ ।
थोरै खाऔं तर राम्रोसँग खाऔं- एकै समयमा छाक नछुटाई स्वस्थ्यकर खानु महत्वपूर्ण कुरा हो । कस्तो र कति खाने भन्ने कुराको जानकारी हुन सबैलाई आवश्यक छ । राम्रो खानाले वर्तमान र भविष्यको स्वास्थ्यमा ठूलो असर पार्दछ । यसले आत्मघाती मुटुरोग र क्यान्सर जस्ता रोगहरूको जोखिमबाट बचाउन सक्छ । फलफूल, सब्जी र  स्वास्थ्यकर खानपिनले मधुमेहको जोखिम कम गर्दछ । दिनको घटीमा ५ पोर्सन विभिन्न किसिमका फलफूल र सब्जी खानुपर्दछ ।
धूमपान छोडौं-  धूमपानले विभिन्न किसिमका क्यान्सर, श्वासप्रश्वास, उच्च रक्तचाप र मुटुको रोग निम्त्याउंछ । धुम्रपान त्याग्नु नै स्वास्थ सुधार्नु हो । यसका लागि आफ्नो इच्छा शक्ति महत्वपूर्ण कुरा हो ।
कोलेस्ट्रल र ट्राइग्लिसराइड लेबल नियन्त्रण गरौं- स्वस्थ्यकर खाना, त्यसमा पनि जनावरबाट पाइने चिल्लो कम खानुपर्दछ । मधुमेह भएको मान्छेलाई कोलेस्ट्रोल र ट्राइग्लिसराइड लेबल बढी हुने गर्दछ । त्यसैले समयमा रगत जांच गराइ आफ्नो कोलेस्ट्रोल र ट्राइग्लिसराइडको नम्बर थाहा पाइरहनु पर्दछ र त्यहि अनुरुप जीवनशैली बदल्नु पर्दछ ।
उच्च रक्तचाप नियन्त्रण गरौं- मधुमेह भएको मान्छेलाई प्रायश उच्च रक्तचाप हुने गर्दछ । त्यसैले यसलाई नियन्त्रण गर्नु जरुरी छ ।
चिन्ता कम गरौं- चिन्ता अहिले संसारमा मान्छेको स्वास्थ्यमा जोखिम बढाउने प्रमुख कारण हो । चिन्ताबाट न समस्याको हल प्राप्त हुन्छ न छुट्कारा नै । चिन्ताले गलत क्रियाकलापलाई पनि उक्साहित गर्न सक्छ । जस्तै तनाब भयो भनि धुम्रपान गर्नु, बोर लाग्यो भनि रक्सी पिउनु, अल्छी लाग्यो भनेर बढी सुत्नु आदिले पनि मधुमेह बढाउन महत्वपूर्ण सहयोग गर्छ । आराम गर्ने विभिन्न तरिका सिकेर चिन्तालाई टाढा राख्न सकिन्छ ।
मदिरा सेवन कम गरौं- मदिरामा बढी क्यालोरी हुने यसको सेवनलाई निकै कम गर्नुपर्छ ।
यदि तपाईंलाई मधुमेह छ भने वार्षिक रूपमा यसको पुनर्विचार गर्नुपर्दछ । यसले कि तपाईंको मधुमेह सम्बन्धी जटिलता विकास हुन नदिई जस्तै कोरोनरी मुटुरोगको नियन्त्रणलाई सहयोग पुरयाउंछ ।
(आचार्य कोरोनरी मुटुरोग -२०१० पुस्तकका लेखक तथा ब्रिटिस मेडिकल जर्नालिष्ट एसोसिएसनका सदस्य हुन्)

प्रतिक्रिया

सम्बन्धित सामाग्री