बेलायतमा भरत रोकाले जोगाएका छन् राष्ट्रिय एकता दिवस

भरत रोका

लन्डन । न उनलाई नाम कमाउनु छ, न दाम । तर, बेलायतमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने जिम्मा उनकै कांधमा छ । देशमा गणतन्त्र स्थापना भएलगत्तै नेपाल सरकारले दिवस मनाउन छोड्दा समेत उनले छोडेनन्, बरु आलोचना खेपे । कार्यक्रम हुनु केही महिनादेखि नै बेलायतका कयौं नेपाली संघसंस्थालाई निम्तो दिन्छन्, फोन गर्छन्, इमेल ‘रिमाइन्डर पठाउंछन् ।’ कार्यक्रम हुने दिन पनि सहभागीलाई दिवाभोज ख्वाउंछन् आफ्नै खर्चमा ।

‘मलाई कुनै स्वार्थ छैन् केवल राष्ट्र निर्माताको योगदान सम्झनु आफ्नो दायित्व ठानेको हुं’- गत शुक्रबार हिमालयन क्लब सडबरीमा २ सय ९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन तयारी भइरहंदा रोकाले बताए ।

रोका आवद्ध नभएको संस्था कमै होलान् । तर, वर्षेनी पृथ्बी जयन्ती मनाउने उनको एउटा संस्था छ- संयुक्त राष्ट्रवादी नेपाली संगठन । सोही संगठनले लन्डनमा आयोजना गरेको पृथ्बी जयन्तीमा यहांस्थित नेपाली समुदाय र विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी भए ।

संगठनका अध्यक्ष भरत रोका क्षेत्रीको अध्यक्षतामा गरिएको कार्यक्रमका वक्ताहरुले नेपाल राष्ट्र निर्माताका रुपमा पृथ्वीनारायण शाहको योगदानको इतिहास कहिल्यै नमेटिने धारणा व्यक्त गरे । पछिल्लो समय नेपाल सरकार र राजनीतिक दलहरुबाट राष्ट्र निर्माताको सम्मानमा कञ्जुस्याइं भएकोप्रति भने उनीहरुले गुनासो पोखे । पृथ्वीनारायण शाहको योगदानलाई राजसंस्थासंग मात्रै जोडेर हेर्न उपयुक्त नहुने विचार उनीहरुले राखे ।

कार्यक्रमका प्रमुख अतिथि तथा लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरणले विश्वमाझ नेपाललाई एक स्वाधिन तथा स्वाभिमानी राष्ट्रका रुपमा स्थापित गर्न पृथ्वीनारायण शाहको ठूलो योगदान रहेको स्मरण गरे । नेपाल सरकारले पनि पृथ्वीनारायणबाट भएको राष्ट्र एकीकरणको महत्वलाई बुझेर पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाएको उनले उल्लेख गरे ।

कार्यक्रम आयोजक संयुक्त राष्ट्रवादी नेपाली संगठनका अध्यक्ष भरत रोकाले नेपालमा सरकार र राजनीतिक दलका नेताहरुले राष्ट्रनिर्मातालाई आवश्यक सम्मान दिन नसक्नु दुःखद रहेको बताए । देशमा जस्तोसुकै राजनीतिक परिवर्तनहरु भएपनि पृथ्वीनारायणले एकिकृत राष्ट्र निर्माण गरेको इतिहास कहिल्यै परिवर्तन हुन नसक्ने उनको भनाइ थियो ।

विशेष अतिथि बुद्धिजिबी डा. राघवप्रसाद धिताल (ओबिई) ले पृथ्वीनारायण शाहको विषयमा नकारात्मक टिप्पणी हुनुको पछाडि अध्ययनको कमी तथा अज्ञानता कारक रहेको दाबी गरे । एकीकृत राष्ट्र निर्माणको क्रममा पृथ्वीनारायण शाहले निर्वाह गरेको भूमिकालाई तत्कालिन समय र परिवेशको आधारमा मुल्यांकन गरिनुपर्ने उनको धारणा थियो ।

नेपाली सेनाका पूर्व सेनानी कुमार बस्नेतले पृथ्वीनारायण शाहको योगदानलाई राजसंस्थाको घेराभित्र सिमित गरेर मात्र हेर्दा न्यायसंगत नहुने भन्दै राष्ट्र निर्माणमा उनले पुर्याएको योगदान बिर्सिन नहुने बताए । साहित्यकार तथा बुद्धिजिवी विकलचन्द्र आचार्यले गोर्खा राज्य र नेपाल एकीकरणको इतिहास र पृष्ठभूमिबारे औंल्याए । लेखक हेमन्त पौडेलले नेपाल एकीकरण राष्ट्र निर्माण कि युद्ध अपराध विषयमा एक प्रस्तुति गरे ।

कार्यक्रममा एनआरएनए यूकेका उपाध्यक्ष प्रेम गाहा मगर, विश्व हिन्दू महासंघका युरोप संयोजक खगेन्द्र पाठक, पर्यटन बोर्डका पूर्व प्रतिनिधि तथा समाजसेवी ध्रुव केसी, साहित्यकार हरिसिंह थापा, कृष्णजंग शाह, कृष्णप्रसाद ढकाल, रमेश लामा, महेश रेग्मी लगायतका वक्ताहरुले नेपाल राष्ट्र निर्माताको रुपमा पृथ्वीनारायण शाहको योगदान सदैव स्मरणयोग्य रहने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा विशेष अतिथिको रुपमा लण्डनस्थित नेपाली दूतावासका मिलिटरी अट्याजी कर्णेल कुमारबाबु थापा पनि उपस्थित थिए ।

कार्यक्रमको सुरुमा अतिथी तथा सहभागीहरुले पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रम सञ्चालन चेतमान केसीले गरेका थिए ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री