अल्डरसटमा गोर्खा मुर्ती बनाइने

लन्डन । नेपाली र भूपू गोर्खाहरुको उल्लेख्य बसोवास रहेको अल्डरसटमा गोर्खाको मुर्ती बनाइने भएको छ ।

रसमोर बरो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटी 
(जीआरएनसी) को संयुक्त पहलमा प्रिन्सेस हल अगाडि प्रिन्सेस गार्डेनमा मुर्ती बनाउने प्रस्ताव गरिएको हो । करिब ९० हजार पाउण्ड खर्च हुने अनुमान गरिएको उक्त मुर्ती छिट्टै शुरु गरि डेढ वर्षभित्र सक्ने योजना छ । मुर्ती निर्माणपछि 
ब्रिटिश सेनामा गोर्खाहरुको योगदान स्मरण भइरहने विश्वास रहेको ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष जीब बेल्वासेले जनाए ।

गत १३ जनवरी २०१९ का दिन सम्पन्न कम्युनिटीको विशेष बैठकमा अध्यक्ष बेल्वासेले उक्त ‘स्टयाचू’ सहित हालै संस्थाबाट गरिएका कामको फेहरिस्त प्रस्तुत गरेका थिए । उनले संस्थाले जोडेको नेपाल, गोर्खा र रशमोर बरोको मितेरी सम्बन्ध, सन् २०२१ मा हुने जनगणना फाराममा ‘नेपाली’ राख्नुपर्ने विषयमा टेन डाउनिंग स्ट्रिटमा पत्र बुझाए पश्चात भएका प्रगति आदिबारे अवगत गराए ।

महासचिव मान गुरुङद्वारा सञ्चालित एवं अध्यक्ष बेल्बासेको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा ‘हेल्थ एण्ड सेफ्टी’ र स्वागत वरिष्ठ उपाध्यक्ष रामधन राईले गरेका थिए ।

दुई चरणमा सम्पन्न उक्त बैठकमा नेपाली समुदायविरुद्ध सामाजिक सञ्जालमा भएका टिकाटिप्पणीबारे पनि गहन छलफल भएको छ । चिफ इन्सपेक्टर जोन हाफेकर र काउन्सिलका कम्युनिटी डेभलप्मेन्ट मेनेजर जेमी बिटनसहितको बैठकमा कम्युनिटी सदस्यहरुले नेपालीप्रति सामाजिक सञ्जालमा गरिएका नकारात्मक टिप्पणीको गम्भीर चासो व्यक्त गरेका थिए ।

उक्त बैठकका सहभागीले काउन्सिलर एन्ड्रयू कोल्भर (हेड अफ डेमोक्रेसी, स्ट्राटेजी एण्ड पार्टनरसीप) र जेमी बिटनसंग बेलायतमा रहेका नेपाली र अरु देशका नागरिकबीचको भिन्नता विषयमा काउन्सिलले स्थानीय नागरिकहरुलाई जानकारी गराउनु पर्ने आवाज उठाएका थिए । कम्युनिटीले बेलायतस्थित नेपाली डायस्पोराको योगदान काउन्सिलको वेवसाइटमै राख्नुपर्ने माग राखेपछि एन्ड्रयू कोल्भरले यसमा सकारात्मक जवाफ दिएको कम्युनिटीले जनाएको छ ।

बैठकमा अध्यक्ष बेल्वासेले रसमोर फायर एण्ड रेस्क्यू सर्भिसका स्टेशन मेनेजर पोल रोब्सन, वाच मेनेजर रिचार्ड ओरम, कम्युनिटी सेफ्टी मेनेजर फिल क्लिफसंग भएको बैठक र उपलब्धि, गत ६ डिसेम्बर २०१८ मा रसमोर बरो काउन्सिलमा सम्पन्न कम्युनिटी लिडर तालिम आदि विषयमा अपडेट गराएका थिए ।

बैठकमा कम्युनिटीले आगामी मार्च ९, २०१९ मा नारी दिवस एवं ‘इन्फरमेसन डे’ मनाउने निर्णय भएको छ । स्थानीय मेयर, काउन्सिलर, प्रहरी, सिटिजन एड्भाइस ब्युरो, आर्मी, मेन्टल हेल्थ विशेषज्ञ, डोमेस्टिक भाइलेन्स विरुद्धका 
विशेसज्ञ समेतको सहभागितामा उक्त कार्यक्रम गर्ने र कार्यक्रममा नारी मात्र नभई पुरुषहरुलाई पनि सहभागी गराउने निर्णय भएको छ ।

बैठकमा बरिष्ठ उपाध्यक्ष राम धन राईले स्वर्गीय धनपति 
राई र एडभाइस ब्युरोद्वारा ल्याइएको ‘क्लियर प्रोजेक्ट’ तथा उपाध्यक्ष रन्जिता मल्लले ‘रसमोर फुड फेस्टिभल’ विषयमा प्रकाश पारेका थिए ।

बैठकमा शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङ एवं महासचिव बिक्रम भट्टराईद्वारा हस्ताक्षरित एक अनुरोध पत्र पढेर सुनाइएको थियो जसमा शिव मन्दिर तथा कम्युनिटी हल किन्न चन्दा आव्हान गरिएको थियो । व्यापक छलफलपछि कम्युनिटीले मन्दिर भवन खरिदका लागि शिव कल्चरलाई ३ हजार पाउण्ड सहयोग गर्ने निर्णय गरेको छ ।

दोस्रो चरणमा अन्य नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसंग बैठक भएको थियो । उक्त बैठकमा सामुदायिक हकहितका सवालमा सामूहिक सहकार्यमाथि जोड दिइएको थियो । बैठकले हाल अल्डरसट र फानबरोमा देखिएको अन्तिम दाहसंस्कार स्थलको समस्या समाधान गर्न यथाशीघ्र काउन्सिलसंग बैठक बसी टुंगो लगाउने सहमति भएको छ । त्यसैगरि, युवा व्यवसायी, जागिरे, समाजसेवी आदि युवालाई 
जीआरएनसीमा आवद्ध गर्न नयायुवा संस्थापक एवं पूर्व अध्यक्ष पीसी निलम राईलाई संयोजक तोकिएको छ ।

बैठकमा रसमोर बरो काउन्सिलले जीआरएनसीको वार्षिक क्यालेन्डर माग गरेकाले अन्य स्थानीय नेपाली संस्थाको क्यालेन्डर समेत एकैपटक समावेश गर्न उचित हुने ठानी क्यालेन्डर उपलव्ध गराउन नेपाली संघसंस्थालाई अनुरोध गरिएको छ ।

बैठकमा जीआरएनसीका आजीवन सदस्य चन्द्र राई किरात राई यायोख्खाको वरिष्ठ उपाध्यक्ष, श्रीमती ध्रुवसरी राई किरात राई यायोख्खा ग्रेटर रशमोर शाखा अध्यक्ष र रोजी राई 
किरात राई यायोख्खा महिला विभागको प्रमुखमा निर्वाचित भएकामा बधाई तथा सफल कार्यकालका लागि शुभकामना र संस्थाको ट्रष्टीमा चयन भएकोमा महासचिव मान गुरुङ र कोषाध्यक्ष टोप पल्लीलाई वधाई दिइयो ।

बैठकमा जीआरएनसी सल्लाहकार, कार्यसमिति सदस्य, स्थानीय नेपाली संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधि समेतको सहभागिता थियो । बैठकको सुरुमा जीआरएनसीका आजीवन सदस्य होम किरात सुनुवारकी धर्मपत्नीको असामयिक निधनप्रति शोक प्रस्ताव पास गरिएको थियो । अन्त्यमा बैठक स्थल उपलब्ध गराएकोमा एम्पायर हाउसका 
प्रवन्धक पुरन गिरी, नारायण गिरी र राजकुमार 
गुरुङलाई धन्यवाद दिइयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री