बेलायतसंग कुरा मिल्ने नदेखिएपछि यूरोपका विमानस्थल तथा भन्सारमा सुरक्षा सतर्कता

लन्डन – बेलायती संसद प्रधानमन्त्री टेरेजा मेले यूरोपेली नेताहरूसँग गरेको सहमतिको पक्षमा नदेखिएपछि आउनसक्ने असुरक्षाको अवस्थालाई मध्यनजर गर्दै यूरोपेली मुलुकहरूले विमानस्थल, भन्सार कार्यालय तथा व्यापारिक क्षेत्रमा सुरक्षा अवस्था मजबुत पार्न थालेका छन् ।

यसै कार्यक्रम अन्तर्गत फ्रान्सले विमानस्थल तथा यूरो टनेलको सुरक्षार्थ करिब पाँच करोड ७० लाख अमेरिकी डलर बराबर लगानी गरी व्यापार सुरक्षा सतर्कता बढाएको छ । फ्रान्सले यस प्रयोजनका लागि सयौँ थप भन्सार अधिकारीहरूलाई बेलायत र फ्रान्सको आवत जावत हुने स्थालहरूमा तैनाथ गरेको बताएको छ ।

बेलायतले पूर्व निर्धारित समयमै इयूबाट बहिर्गमन हुनसक्ने तर यसका लागि यूरोपेली नेताहरूसँग बेलायती प्रधानमन्त्री मेले गरेको सहमतिमा संसदमा समर्थन नजुटेपछि यूरोपेली मुलुकहरूले आफ्नो तयारी थालेका हुन् ।

जर्मनीले पनि सम्झौताविहिन अवस्थामा बेलायतको इयूबाट हुने बहिर्गमनलाई ध्यानमा राख्दै द्रूत गतिमा कर्मचारीतन्त्रमा देखा पर्नसक्ने समस्याबारे बहस अघि बढाएको छ ।

बहिर्गमनपछि बेलायतले इयू आप्रबासन अधिकारलाई त्याग्ने अवस्था आएपनि बेलायती नागरिकलाई अस्थायी रूपमा नेदरल्याण्ड रहनसक्ने विशेष निर्णय लिने बताएको छ ।

ब्रेक्जिटपछि के हुनेछ भन्ने कतिपय मुद्दाहरू अनिर्णित रहेका अवस्थामा बाँकि यूरोप पनि आफ्नै रूपमा तरङ्गित बनेको छ । कतिपय मुलुकहरूले ब्रेक्जिटपछिको अवस्थालाई आँकलन गरिहाल्न सकिरहेका छैनन् ।

बेलायत, जसले सबैभन्दा धेरै समस्याहरूको सामना गर्नुपर्ने अवस्था आएको छ, ले ब्रेक्जिटपछिको अवस्थालाई मध्यनजर गर्दै हजारौँ कर्मचारी तथा तिनीहरूको खर्चका लागि अर्बौं डलर बराबरको लगानी गर्दै बहिर्गमनपछिको अवस्थालाई कावुमा राख्ने प्रयास गरिरहेको छ । यद्यपि अधिकारीहरूले मार्च ३० मा अर्थात् मार्च २९ मा सम्झौताविहीन अवस्थामा इयूबाट हुने बहिर्गमनपछि के हुनेछ मात्रै अनुमान लगाउन सकिने बताएका छन् ।

प्रधानमन्त्री मेले गरेको बहिर्गमन सम्झौतालाई बेलायती संसदमा ठूलो मतान्तरले अस्वीकार गरेपछि यूरोपेली सरकारहरूले समस्यासँग जुध्न तयारी थालेका छन् ।

“हामीलाई पूर्ण विश्वास भैसकेको छ कि बेलायत सम्झौताविहिन अवस्थामा नै इयूबाट विदा हुनेछ,” फ्रान्सका प्रधानमन्त्री एडोआर्ड फिलिप्पेले बिहीबार भन्नुभयो । उहाँले उक्त अवस्थामा लिइने आकस्मिक उपायलाई सार्वजनिक गर्दै भन्नुभयो, “आकस्मिक अवस्थामा फ्रान्सले आफ्ना जनताको हितलाई संरक्षण गर्न र अघि बढ्न तयार रहेको प्रत्याभुत गराउने छौँ, र नागरिकको सुरक्षका लागि काम गर्ने छौ ।”

उहाँले भन्नुभयो, “फ्रान्सले विमानस्थल, भन्सार तथा यूरोटनेल (बेलायतसँगको मार्गहरू) को सुरक्षार्थ करिब पाँच करोड ७० लाख अमेरिकी डलर बराबर लगानी गरी व्यापार सुरक्षा सतर्कता बढाएको छ ।”

“सुरक्षा प्रयोजनका लागि सयौँ थप भन्सार अधिकारीहरूलाई बेलायत र फ्रान्सको आवत जावत हुने स्थलहरूमा तैनाथ गरेको छ ।”

“सम्झौताविहिन अवस्थामा हुने बहिर्गमनपछि करिब एक चौथाइ बेलायत–इयू व्यापार गतिविधि हुने हुँदा यसको निगरानी तथा सुरक्षार्थ विशेष सतर्कता अपनाइनेछ,” यूरोटनेल सञ्चालक कम्पनीले बताएको छ ।

बर्लिनमा जर्मन सांसदहरूले ब्रेक्जिटबारे उठेका प्रश्नहरूलाई बिहीबार संसदमा प्रस्तुत विधेयकले सम्बोधन गर्ने बताइएको छ । उक्त विललाई द्रूतमार्गबाट ल्याइएको छ ।

जर्मन चान्सलर एन्जेला मर्केलले भन्नुभयो, “हामीले बेलायतको बहिर्गमनपछि आउने सङ्कटलाई नियन्त्रणमा सकेसम्म कम गर्नेमा सोचिरहेका छौँ । त्यसैले व्यवस्थित समाधानका लागि सबै बाटालाई प्रयोग गर्नेछौँ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री