नेपाल भ्रमण वर्ष सफल बनाउन बेलायतमा बन्यो उच्चस्तरिय मुल समिति

लन्डन । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष (भिजिट नेपाल- २०२०) सफल पार्न बेलायतबाट ठोस र सार्थक योगदान पुरयाउने उद्देश्यले यहां एक उच्चस्तरिय मुल समिति गठन भएको छ । लन्डनस्थित नेपाली दूतावासमा शनिबार सांझ आयोजित एक समाराहबीच राजदूत डा. दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा ‘नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरिय मुल समिति यूके’ गठन भएको हो । उच्चस्तरिय मुल समितिको सदस्य सचिवमा दूतावासका उपनियोग प्रमुख शरदराज आरण छन् ।

साथै उच्चस्तरिय मुल समितिमा एनआरएनए यूके, ब्रिटेन नेपाल सोसाइटी, यूके नेपाल फ्रेण्डसीप सोसाइटी, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स, ब्रिटेन नेपाल एनजीओ नेटवक्स, ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल, ब्रिटेन नेपाल मेडिकल ट्रष्ट, नेपाल पत्रकार महासंघ बेलायत लगायत यूकेमा रहेका क्रियाशिल सम्पूर्ण राजनैतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, क्षेत्रीय, जातीय र पेशागत संघसंस्था र समाजका अध्यक्षहरु पदेन सदस्य रहने छन् ।

विशेष अतिथी नेपाल पर्यटन बोर्डका सिनियर डिरेक्टर आदित्य बरालले उच्चस्तरिय समिति घोषणा गरेका थिए ।

उच्चस्तरिय मुल समिति अन्तर्गत भ्रमण वर्ष व्यापक र सफल बनाउन विभिन्न समिति पनि गठन गरिने बताइएको छ । प्रचार प्रसार समिति, ट्राभल एण्ड टुर्स समन्वय समिति, साहसिक पर्यटन प्रवर्धन समिति, नेपाली कुइजिन समिति, आदिवासी जनजाती सांस्कृतिक पर्यटन प्रवर्धन समिति, खेलकुद समिति, कला, नाट्य तथा चलचित्र समन्वय समिति, म्यूजिक एण्ड इन्टरटेन्मेन्ट कमिटी, महिला समन्वय समिति, युथ मोबिलाइजेसन कमिटी, विद्यार्थी समन्वय समिति, पेशागत समन्वय समिति, उद्योग तथा व्यापार समन्वय समिति, साहित्य समन्वय समिति, धर्म र संस्कृति समन्वय समिति, नेपाली भेषभूषा समन्वय समिति, सामाजिक सञ्जाल समन्वय समिति, वेल्स समन्वय समिति, स्कटल्याण्ड समन्वय समिति, उत्तरी आयरल्याण्ड समन्वय समिति पनि गठन गरिने बताइएको छ । उल्लेखित समितिको संयोजक, सह-संयोजक, सदस्य-सचिव भइ काम गर्न इच्छुकलाई दूतावासले

[email protected]  
र उपनियोग प्रमुख आरणमार्फत जानकारी गराउन आव्हान गरेको छ । यसबाहेक अन्य थप समिति गठन सम्वन्धमा समेत जानकारी गराउन दूतावासले आग्रह गरेको छ ।

यस उच्चस्तरिय समितिले ‘सेन्ड होम अ फ्रेण्ड फ्रम यूके’ नारा राखेर सन् २०२० सम्म वर्षको एक लाख पर्यटक बेलायतबाट नेपाल भित्रयाउने लक्ष्य लिएको छ ।

तस्विर नरेन्द्र बस्नेत

उक्त कार्यक्रमका प्रमुख अतिथी ब्रिटेनको लेबर पार्टीका सांसद तथा अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालका अध्यक्ष वीरेन्द्र शर्माले ब्रिटेनबाट नेपाल भ्रमण गर्ने पर्यटकहरुको संख्या एक लाख पुराउने लक्ष्य हासिल गर्न सकिने खालको भएको भन्दै त्यसकालागि बेलायतमा बसोबास गर्ने सबै समुदायमाझ भिजिट नेपालको सन्देश पुरयाउनु पर्ने बताए ।

कार्यक्रममा स्वागत मन्तव्य दिंदै राजदूत डा. सुवेदीले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र सो वर्ष नेपाल जाने पर्यटक संख्या २० लाख पुरयाउने लक्ष्य घोषणा गरेको जनाए । राजदूतले यो घोषणाले ०७२ सालको विनाशकारी भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायमा धुमिल नेपालको छवी उजिल्याउंदै नेपालको पर्यटन उद्योगलाई सुदृढ गराउने लक्ष्य राखेको बताए । यसले नेपालको अर्थतन्त्रलाई सार्थक योगदान पुरयाउनुका साथै नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा गन्तव्यमा पुग्न महत्वपूर्ण योगदान पुरयाउने विश्वास लिइएको समेत सुवेदीले बताए ।

समितिले २०१९ र २०२० मा विभिन्न सांस्कृतिक, सांगीतिक र पर्यटन प्रवर्धनात्मक कार्यक्रम आयोजना एवं सामाजिक सञ्जाल, मुद्रण र विद्युतीय सञ्चार माध्यमहरुद्वारा व्यापक प्रचार प्रसार गरि सन् २०२० मा बेलायतबाट एक लाख पर्यटक पुरयाउने लक्ष्य राखेको राजदूत डा. सुवेदीले बताए । उनले आफू राजदूत भएर आउनु अघि २९ हजार बेलायती पर्यटकले नेपाल भ्रमण गरेकामा सन् २०१६ मा ४६ हजार, ०१७ मा ५१ हजार र सन् २०१८ मा ६३ हजार पर्यटक बेलायतबाट नेपाल पठाइ उच्चतम अभिवृद्धि गरिएको गर्वसाथ उल्लेख गरे ।

यस वर्ष ८० हजार पर्यटक नेपाल भित्रयाउने लक्ष्य छ ।

तस्विर- दिनेश परियार

राजदूतले यो समिति स्वयंसेवी भएको र नेपाल सरकारले यसका लागि कुनै बजेट व्यवस्था नगरेको पनि स्पष्ट पारे । ‘यसलाई निस्वार्थ र मातृभूमिप्रति विदेशका नेपालीको कर्तव्यका रुपमा लिइएको छ, यसका लागि संस्थागत र व्यक्तिगत योगदानको महत्व रहने छ’- राजदूतले भने । उनले उच्चस्तरिय समितिको नारा बमोजिम बेलायत बस्ने प्रत्येक नेपालीले आफ्नो एक जना ब्रिटिश साथीलाई नेपाल पठाउन सके करिब डेढ लाख जना नेपाल भित्रिने आंकडा पनि प्रस्तुत गरे ।

कार्यक्रममा पर्यटन बोर्डका सिनियर डिरेक्टर आदित्य बरालले भ्रमण वर्ष अभियानबारे थप प्रष्टयाउंदै प्रवर्धनात्मक भिडियो समेत देखाएका थिए । बरालले देशका सातवटै प्रदेश सरकारहरुले पर्यटन प्रबर्द्धनलाई उच्च प्राथमिकता दिएको बताउँदै पर्यटनले नेपालको अर्थतन्त्र र रोजगारी सिर्जनामा महत्वपूर्ण  योगदान पुराइरहेको बताए । 

‘नेपाल भ्रमण वर्ष २०२०’ नेपालको पर्यटन क्षेत्रकालागि एक कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्दै बरालले त्यसकालागि थप पूर्वाधार निर्माण तथा त्रिभुवन विमानस्थललाई ‘बुटिक विमानस्थल’ बनाउने काम भैरहेको पनि बताए । नेपालमा पर्यटन प्रबर्द्धन गर्न विदेशमा बस्ने नेपालीहरुको ठूलो भूमिका रहने बताउँदै उनले बेलायत तथा युरोपमा बसोबास गर्ने नेपालीहरुलाई नेपालको बारेमा प्रचारप्रसार गरी थप पर्यटक नेपाल पठाउन आग्रह पनि गरे । 

सो अवसरमा इन्जिनियर घनश्याम पौडेल र संयुक्त श्रेष्ठले ‘टेकु दोभान- अ यूके नेपाल फ्रेन्डसीप प्रोजेक्ट’बारे प्रस्तुति दिएका थिए ।  

तस्विर- दिनेश परियार

उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको कार्यक्रममा कोसेली सांस्कृतिक परिवार यूकेका संस्थापक मदन थापाले सारंगी धुन बजाएर मन्त्रमुग्ध पारे । कार्यक्रममा वेल्स, स्कटल्याण्ड, नर्दन आयरल्याण्ड, अल्डरसट, फार्नबोरो, लन्डन लगायत शहरबाट सयौं नेपाली ओइरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री