लन्डन दूतावासका चालक निकालिए

दूतावासमा अहिले ५ वटा सवारी साधन छन् तर चालक संख्या एकमात्र छ

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा कार्यरत एक चालकको जागिर गुमेको छ । विगत चार वर्ष देखि दूतावासमा काम 
गर्दै आएका चालक राजु श्रेष्ठ १५ जनवरीदेखि कामबाट विमुख भएका हुन् । ‘एक दिन अघिमात्र अब तपाईंको कन्ट्रयाक्ट नथप्ने निर्णय महामहिमले गर्नुभएको छ, भोलिदेखि काममा नआउनुस् भनेर दूतावासका उपनियोग प्रमुख शरदराज आरणले मौखिक 
रुपमा सुनाउनुभयो’- श्रेष्ठले भने, ‘दूतावासमा चालक अभाव नै थियो । सम्झौता नवीकरण नगर्नुपर्ने अन्य कारण केही थिएन । अल अफ सडेन हुंदा दुःख लाग्यो ।’

दूतावासभित्रका इभेन्ट, अन्य काम, कम्युनिटीका कार्यक्रममा सहभागिता आदिले ७ दिनै व्यस्त हुंदा पनि राजदूत डा. दुर्गाबहादुर सुवेदी किन खुशी भएनन् बुझ्न नसकेको श्रेष्ठले गुनासो गरे ।

दूतावासले स्थानीय कर्मचारीहरुलाई वर्ष दिनको कन्ट्रयाक्टमा राखी नवीकरण गर्दै जाने गर्छ ।

दूतावासका उपनियोग प्रमुख आरणले भने श्रेष्ठले महिनादिन अघि राजीनामा बुझाएपछि ‘कन्ट्रयाक्ट’ नथपिएको दाबी गरे । ‘श्रेष्ठका चारित्रिक गुण, व्यवहार, कामप्रतिको लगाव जस्ता ‘इष्यू’ मा कमजोरी नभएका होइनन् तर आफैंले पारिवारिक कारण देखाएर राजिनामा दिएपछि उनको कन्ट्रयाक्ट नथपिएको हो’- आरणले प्रष्टयाए ।

दूतावासमा अहिले ५ वटा सवारी साधन छन् तर चालक संख्या एकमात्र छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री