शनिबार, फागुन ११ २०७५ | Sat, February 23, 2019
नेपालको समय: २३:०४ | UK Time: 17:19

‘कोलम्बस यात्रा’: डायस्पोरीक प्रतिनिधि कविताहरू

रक्ष राई
२०७५ माघ १४ गते २१:४२

कवि देवेन्द्र खेरेस पूर्व खोटाङको माटोले जन्माएको, त्यहाँको हावा, घाम, पानी, प्रकृति र पूर्वी पहाड माझ किरातको संस्कृतिले हुर्काएका कवि हुन् । आफ्नो थातथलो र देश छोड्नुको दुःख वा निर्वासनको पीडा बोधद्वारा काव्य चेतनाको उद्बोधनले एक प्रखर काव्य साधक, शब्दका कुशल खेलाडी र विचारशील कविको जन्म गराएको छ ।

कवि खेरेसको साहित्यिक यात्रा हङकङ हुँदै बेलायत आइपुगेको हो । उनको हङकङ बसाइको साहित्यिक सकृयताको इतिहासले पनि त्यसै भन्छ । सन् २००४ पछि भूपू गोर्खा र तिनका सन्ततिको बेलायत स्थानान्तर पछि उनको बेलायत आगमन भएको हो । कवि देवेन्द्र खेरेसको काव्यिक यात्राले निक्कै लामो समय व्यतित गरिसकेका छन् । यद्यपि उनको कविता यात्राको प्रारम्भिक पाइलाको डोबसम्म पुग्न नसके पनि कृतिकारका रूपमा बेलायत आगमन पूर्व (हङकङमा रहँदाताका) नै सन् २००८ सालमा प्रथम काव्य कृति “रूङङ्गरीको बयान र नदी किनारा” प्रकाशित गरेर नेपाली काव्य जगतमा प्रभावकारी उपस्थिति जनाईसकेका छन् । त्यसताका नै उनले आफ्ना कवितामा नयाँ प्रयोगवादी रङ्ग भरेर काव्यिक दक्षताको प्रस्तुति गरिसकेका छन् भने कविता प्रतिको निस्वार्थ समर्पण, त्याग, प्रेम, लगाव र सशक्त क्षमताको प्रदर्शन गरिसकेका छन् । कवि खेरेसको कविता प्रतिको लगभग एक दशक मौनता पछि कविता सृजनाको सघन साधना र कठोर तपस्याले “कोलम्बस यात्रा” कविता कृतिको निर्माण भएको छ । निश्चित रूपमा यो कृति समकालीन नेपाली कविता र काव्य जगतको अमूल्य निधि सावित हुनेमा ढुक्क छु ।

अहिले म हर्षविभोर छु, भावविभोर छु र अवाक छु । समकालीन नेपाली कविताको दाँजोमा आगोमा गालेर निकालिएका नम्बरी सुन जस्ता खेरेसका कविताहरू र रातारात ढुङ्गो घोटिएर हिरा झैं चम्किएको (एउटै संस्थामा आवद्व आफ्नै समकालीन मित्र) कवि खेरेसको चम्किलो काव्यिक व्यक्तित्वलाई आफ्नो सामु देख्न पाउँदा एकाएक शब्द हराएर हर्ष प्रकट गर्ने भाषा गुमाएको अवस्थामा छु । नेपालीमा द्वैधार्थबोध गराउने वा विशेष तर्कले स्थान बनाउने एउटा टुक्का छ (कुखुराको फुल जेठो कि कुखुरा ?) अहिले कवि देवेन्द्र खेरेसको नविन कविता कृतिको पाण्डुलिपि पढिसकेपछि मलाई त्यसको बहु अर्थाबोधित जटिलताको स्मरण भइरहको छ । अहिले म सोंचको संकटमा फसेको छु । कवि खेरेस अघिल्लो कि उनका रचना ? कारण कवि खेरेस र उनका रचना र रचानाकारिता एक अर्काका पर्याय हुन् । कविको निरन्तर लामो लगन र साधनाको शक्तिले कविताको उचाईलाई प्रष्ट माथि उठाएका छन् भने उनका कविताको सामथ्र्यले व्यक्तित्वलाई सामुन्ने उभ्याएको छ । त्यसलाई पढ्दै जाँदा कवि र कविताको त्यो समदृश्यचित्र एकै चोटी देख्न सकिन्छ तर लेख्न सकिंदैन । यस जटिलताले मलाई द्वैध अर्थबोधक नेपाली टुक्काको स्थितिमा पुर्याएको छ ।

“कोलम्बस यात्रा” कृतिको कविताहरू अधोपान्त पढिसकेपछि कविताका बारेमा बहस गरेर कहिल्यै नसकिने र उत्तर दिएर पनि कहिल्यै पूर्ण र सन्तोष नहुने कविता प्रतिको आदि प्रश्नको याद आयो । कविता भनेको के हो ? कविता प्रतिको भौतिक व्याख्या, बहस, विमर्श, विवेचना र विरेचन ई.पू. पाँचौं शतब्दीबाट आरम्भ भएको थियो । ईशा युगको आरम्भ पछि र बाइवल कालभरी काव्य प्रतिको भौतिक बहसलाई ओझेलमा पारियो । चौधौंदेखि पन्ध्रौं शताब्दीबाट त्यसको पुनर्जागरण हुन गयो र अठारौँ शताब्दीमा आइपुग्दा काव्य रचना र बहसले युरोप संसारकै सम्पन्न क्षेत्र हुन पुग्यो ।

ई.पू. चौथौं शताब्दीका गुरू चेला प्लेटो र अरिस्टटल विचको द्वन्दात्मक बहसबाट काव्य रचनाको भौतिक ब्याख्या, विमर्श, विवेचना र विरेचन आरम्भ हुन गएको थियो । गुरू प्लेटो कवितालाई बस्तुको रूपको यथार्थ नभइकन बस्तुको रूपको भावात्मक प्रत्याय वा वस्तुको भावात्मक अमूर्तता चेतनामा प्रतिविम्बित प्रत्यायको अनुकरण मान्दथे र कवितालाई वस्तुकोरूप भन्दा कैयौं गुणा टाढाको विषय मान्दथे वा यथार्थलाई विकृत गर्ने माध्यम मान्दथे । तसर्थ प्लेटो आदर्श समाज निर्माणमा कवितालाई निषेध वा विरेचनको मान्यता राख्दथे । तर चेला अरिस्टोटल कवितालाई वस्तुको रूपभन्दा फरक तत्व मान्दैनथे । उनी काव्य कलालाई प्रकृतिद्वारा अपूर्ण छाडिएका विषय वा स्थितिलाई पूर्ण गर्ने अभिप्रायका रूपमा कवितालाई श्रेष्ठ मान्दथे । काव्य वस्तुको रूपको सोझो अनुकरण मात्र नभएर कविद्वारा मानवका आन्तरिक क्रियाहरू, भावना, विचार र चरित्रको कलात्मक अनुकरणद्वारा काव्यिक वैशिष्ठ्य प्रदान गर्दछ, जो मानव र समाज भन्दा फरक हुँदैन भन्ने मान्यता राख्दथे । यसरी ई.पू. चौथौं शतब्दी देखि “कविता के हो ?” भन्ने गुरू चेलाबाट आरम्भ भएको कविताको बहस अझै पनि अपूर्ण नै छ । त्यही अपूर्णता माथि अर्को अपूर्णता थपिन आइपुगेको छ, खेरेसका कविताहरू ।

“कोलम्बस यात्रा” कृति भित्रका कविताले काव्यिक वौद्विक जगतमा कविता प्रतिको नयाँ बहसको ढोका खोलिदिएको छ । अब कवितामाथि अर्को बौद्विक बहस र प्राज्ञिक अध्ययन हुनेछ र आवश्यक पनि छ । नेपाली काव्यको श्रीबृद्विका निम्ति सृजनाको अर्को पक्षबाट यसो भनौं सिद्वान्तकार र रचनाकार विचको परोक्ष मौन द्वन्दबीच उभिन आइपुगेको छ खेरेसका कविताहरू । कारण आज भोलि सिद्वान्तकार अलिक प्रत्यक्ष प्रसारित हुने र रचनाकार गौण र संकुचित हुने प्रवृति देखा परेको अवस्था छ । यसले सिद्वान्तकार अघि कि रचनाकार ? यस्तै स्थिति बनाएको छ र यो स्थितिको बिचमा उभिएर खेरेसका कविताहरूले दर्विलो स्थान बनाएको छ । यो डायस्पोरा र युद्व साहित्य सिद्वान्तकारका निम्ति सुखद स्थिति हो । मूलतः कवि देवेन्द्र खेरेस बेलायती डायस्पोराका सशक्त, दर्बिला र हस्तक्षेपकारी कवि र रचनाकार हुन् । उनी सिद्वान्तकार होइनन । उनी सिद्वान्तका आविष्कारक नभएर पनि उनका रचनाहरू सिद्वान्त भन्दा अघि उभिएका छन् । यस अर्थमा उनले चुपचाप कर्मले सिद्वान्त भन्दा रचना प्रमुख वस्तु भएको प्रमाणित गरिदिएका छन् । कारण उनले सिद्वान्त नजन्माए पनि अहिले सम्मकै मानक प्रतिनिधि डायस्पोरा तथा युद्वकविताको जन्म गराएर आफ्नो अद्भूत सृजनात्मक क्षमतालाई प्रस्तुत गरेका छन् ।

अरिस्टोटलको अनुकरणको सिद्वान्तमा नाटकको दुखान्त संगठनको पात्र चरित्रमा घटित हुने अनुकुल र प्रतिकुल चार स्थितिलाई प्रस्तुत गरेका छन् । १. जानिबुझिकन काम गर्न खोज्नु र सफल नहुनु । २.जानिबुझिकन काम गर्न खोज्नु र सफल हुनु । ३.अज्ञानमा कार्य हुनु र वस्तु स्थितिको ज्ञान पछिबाट मात्र हुनु । ४. अज्ञानमै भयङ्कर कार्य सुरू हुनु र ज्ञान भएर दुर्घटनाबाट बच्नु भनेका छन् । तर नाटकका पात्रका चरित्रमा घटित हुने यी चारवाट अनुकुल र प्रतिकुल स्थिति सामान्य मानव जीवनको कार्यव्यापारमा पनि तिनको चेतनाको स्तरमा घटित हुने स्थिति बन्दोरहेछ । त्यसले कर्म प्रमुख विषय हो र ज्ञान दोस्रो हो भन्ने देखाउँछ । कारण मानिस वस्तु स्थितिको ज्ञान हुनु पूर्व पनि कर्म गर्छ र ज्ञान भएपछि पनि । कहिलेकाहीं नजानेर गर्दा पनि काम बन्छ र कहिले जानेकै काम गर्दा पनि बिग्रिन्छ । कहिलेकाहीं नजानेरै काम सम्पन्न हुन्छ र वस्तु स्थितिको ज्ञान पछिबाट मात्र हुन्छ । तसर्थ खेरेसले डायस्पोरा र युद्व कवितामा निस्वार्थ कर्म गरेर नयाँ ढोका खोलेका छन् र वस्तु स्थितिको ज्ञान प्राप्ति यसप्रतिको वहस र विमर्शद्वारा होला भन्ने अपेक्षा गर्न सकिन्छ ।

कवि देवेन्द्र खेरेसको रचनाकारिताको सन्दर्भमा भन्नु पर्दा कविता प्रति अत्यन्त सचेत, ईमान्दार र मेहेनती स्रष्टा हुन् । कविता प्रति उनको लगाव र साधनाले कविता लेख्नु भनेको तपस्या सफल गर्नु हो भन्ने देखाएको छ । उनी कविता कर्ममा संख्यात्मकता भन्दा गुणात्मकतालाई बढी ध्यान दिन चाहने सचेत कविको वर्गभित्र पर्दछन् । उनको अघिल्लो कृति “रूङ्रीको बयान र नदी किनारा”मा जम्मा १४ थान कविताहरूको संकलनद्वारा पुस्तक तयार पारिएको थियो भने यस पटक पनि लगभग अढाई दर्जन जतिको कविताहरूको संकलनमा दोस्रो कृति “कोलम्बस यात्रा” तयार गरिएको छ । यसले पनि उनी कति लेख्ने ? भन्दा पनि के लेख्ने ? भन्नेप्रति सचेत रहेका स्रष्टा हुन् भन्ने देखाउँछ, जो उनको लेखनप्रतिको सुन्दर अभिलक्षण हो । सिर्जनामा के लेख्ने भन्ने चिन्ता र चिन्तनले नै स्रष्टालाई गुणात्मकता तर्फ अभिप्रेरित गर्दछ । कुनै पनि सवाल सिर्जनाले एकैचोटी चाल र गतीलाई उत्पन्न गर्दछ । तर दुर्वल सृजनाले चाल मात्र उत्पन्न गर्दछ गती उत्पन्न गर्न सक्दैन । चाल र गती उत्पन्न गर्न सक्ने सृजनाको प्रारम्भ के लेख्ने भन्ने चिन्तनबाटनै हुन्छ । संसारका महान कविहरू यिनै चिन्ताको रोगले ग्रसीत भएर कालजयी कविताका सर्जक बनेका हुन् । कवि खेरेसमा त्यो चिन्ताको रोग संक्रमण हुनु काव्य सिर्जनाको लागि सुन्दर पक्ष हो ।

खेरेस कवितामा थोरै बोलेर धेरै भन्न सक्ने कवि हुन् । वास्तवमा कविताको कला र शक्ति नै त्यही हो । उनी छोटा र मझौला आकारमा लेख्छन् र हरेक कवितालाई न्याय गर्दै माथिल्लो कद दिन सफल हुन्छन् । कविको सफलता नै त्यही हो । उनले कविको भिड र कविताको गन्जागोलमा परैबाट प्रष्ट छुट्टिनेगरी कविताको मौलिक भाषा बनाएका छन् । हरेक कविको मौलिक पहिचान नै उसले निर्माण गरेको कविताको भाषाले गर्दछ । त्यो भाषा प्राप्त गर्न हरेक कविले लामो तपस्या गर्दछ । खेरेसले आफ्नना कविताको मौलिक भाषा प्राप्त गर्न लामो तपस्या पूरा गरेरका छन् । उनका काव्यिक भाषा अत्यन्त सरल, सरस र हृदयग्राही छन्, जसले पाठकको हृदयसंग सोझै संवाद गर्दछ ।

उनका कविता आम मान्छेको भाका, बोली र आवाज हुन् । उनका कविताले पाठकको ब्रम्हाण्ड नै थर्किनेगरी मस्तिष्कको छानोमाथि विचारका ढुंगामुढाहरू फाल्दैनन्, बरू मसिना शब्दहरूको लयवद्व ध्वनिहरूको संगीत प्रतिध्वनित हुन्छ र मन मस्तिष्कमा झंकृत हुन्छ । मन, चेतना र समवेदनालाई स्पर्श गर्दछ । त्यतिखेर कविताले विकारयुक्त मनोरोगीको उपचारको काम पनि गर्दछ, कारण असल कविताको पठन मनोविकारको विरेचनका लागि सुन्दर ध्यान वा मेडिटेसन या आनन्द र परमान्दसम्मको यात्रा पनि हो । कविता आफैमा कलात्मक विशिष्ठ अभिव्यक्ति हो । उनका कविता शब्द, भाव, मन मस्तिष्क, भावना र विचारको उत्कृष्ट समन्वयद्वारा परिष्कृत भएका छन् । उनका काव्य लेखनको प्रखर शक्ति भनेको प्रेम नै हो । त्यो प्रेम व्यक्तिवादी मात्र नभएर समुदाय, जाती, समाज, संस्कृति, पहिचान, माटो र राष्ट्रसम्मको हो । प्रेमले हेरिसकेपछि जीवन जगत सुन्दर र कलात्मक देखिन्छ । उनको प्रेमको शक्तिको सार यति नै हो । उनका कविताका मुलभूत तत्व पूर्वीय मूल्यमान्यता, धर्म, संस्कृति र पश्चिमा भूगोल, समाज, इतिहास र सभ्यताको समिश्रण र ठिमाहा चेतना हो । ठिमाहा चेतना भनेको मूलभूमिको वा राष्ट्रको धर्म, संस्कृति र सामाजिक मूल्य मान्यताद्वारा निर्मित चेतना वा ज्ञानले अतिथि मुलुकको सभ्यतालाई जान्ने वा बुझ्ने मानसिक प्रक्रिया हो, जसलाई डायस्पोरिक चेतना पनि भन्न सकिन्छ ।

“कोलम्बस यात्रा” कृति भित्रको सृजनामा डायस्पोरिक ठिमाहा चेतनाका क्रिया–प्रतिक्रियाहरू प्रसस्तै पाइन्छन् । यहाँ कविताभरी मनको एकान्तिकता, प्रवासन पीडा, गृहविरह, अतीतमोह, आफन्तजनको सम्झना, झझल्को, आफ्नो मूल भूमिप्रतिको अव्यक्त प्रेम, आसक्ति वा अनुराग एकातिर पाइन्छन् भने अर्कोतिर बेलायती भूगोल, इतिहास, सभ्यता, समाज र पात्रहरू संग प्रसस्त मानसिक क्रिया–प्रतिक्रिया गरेको पाइन्छ । हुनत जे जति भूपू गोर्खा र तिनका सन्तान र नातागोता कर्मले हङ कङ र बेलायती हुन पुगेका छन् । ति मन, भावना र जन्म भूमिको नाताले नेपाली नागरिक नै हुन् र भइरहने छन् । ति मध्य एक कवि देवेन्द्र खेरेस पनि हुन् । उनको भौतिक शरीर कर्म थलो बेलायतमा छ । तर मन (प्राण) र सम्पूर्ण मानस जन्म भूमि र आफ्नो थातथलोमा छाडिएको छ । उनका भौतिक शरीरलाई बेलायतले बेलायती नागरिक बनाइसक्यो, त्यो उनको बाध्यताहो । तर मन (प्राण) लाई बेलायतले कहिल्यै आफ्नो नागरिक बनाउन सकेन र सक्दैन पनि । यस प्रकारको द्वैभाजनबोध डायस्पोराको दुख वा प्रवासन पीडाँ हो । यस प्रकारको द्वैभाजनबोधको प्रवासन पीडा खेरेसका कविताहरूमा यत्रतत्र पाइन्छन् । यिनै प्रवासन पीडाबोधले नै खेरेसका कविताहरू आगोमा पोलेर निस्किएको नम्बरी सुन जस्तो चम्किला भएका छन् ।

उनले जसरी कङकङ पछि जीवनयापनको उर्वर कर्म भूमि बेलायतलाई बनाए । त्यसरी नै सृजनाको भूगोल वा भाव भूमि पनि बेलायती डायस्पोरालाई नै बनाएका छन् । उनले कवितालाई पूर्वीय चिन्तन, मूल्यमान्यतामा पूर्वी पहाड खोटाङको माझ किरात परम्परा, संस्कृति र मिथकहरूको कुशल संयोजनले प्रतीकात्मक र विम्बात्मक बनाएका छन भने बेलायती भूगोल, इतिहास, सभ्यता र समाजका पात्रहरूसंगको मानसिक प्रतिक्रियाले वर्णनात्मक, चित्रात्मक र दृश्यात्मक बनाएको छ । उनका कवितामा पूर्व माझ किरात परम्परा, संस्कृति र मिथकहरू टाढामनको क्षितिजमा टिल्पिलाउने ताराजस्ता देखिन्छन भने बेलायतको भूगोल, सभ्यता र समाजका उत्तर आधुनिक मानसिक पात्रहरू अत्याधुनिक मेगासिटिहरूमा मायावी भ्रान्तिहरूविच चल्वलाउन थाल्छन् । ति कुनै अर्कैग्रहको यात्रामा निस्किएका यात्रीझैं छटपटाई रहेका हुन्छन् । अत्याधुनिक शहरका यान्त्रिक मानवहरू हातमा झोला बोकेर सेल लागेका सपिङ्ग सेन्टरतिर दगुरीरहेका हुन्छन् । कोही सफलतासंग सक्षत्कार हुने होडमा फुटपाथमा खुट्टा अल्झाउदै र घुंडा ठोकाउदै ओहोर दोहोर गरिरहेका हुन्छन । कोही रात्री क्लबमा नभेटिने प्रेमी प्रेमिकाका खोजिगरिरहेका हुन्छन् । कोही प्रकृति खोज्दै मानव निर्मित कृतिम बगैंचातिर भड्कि रहेका हुन्छन । कोही एम ट्वान्टी देखि सारा मोटर वे हरूमा चिल्ला कारमा चढेर सुइकिरहेका हुन्छन् । तर ति कही पनि पुग्दैनन् । त्यो अत्याधुनिक शहर कि मृत छ कि यन्त्रिक छ, जो मानविय संवेदना चपाएर यन्त्रिक मानव निर्माण गरिरहेका हुन्छन । हेर्दा हेर्दै उत्तर आधुनिक सहरको कृतिमतासंग मानव प्रकृतिको अप्राकृतिक सहबास हुन्छ र मानिसको मानसमा यन्त्र क्लोनिङ्ग हुन पुग्दछ । आजको आत्याधुनिक शहर र सभ्यताले उत्पादन गर्ने भनेकै यन्त्र क्लोनिङ्ग गरिएका यन्त्रिक मानव हो । कवि खेरेसले अत्याधुनिक शहरका यान्त्रिक मानवको भयावह चित्र बनाएका छन् र त्यसलाई सजीव तुल्याएका छन् ।

कवि खेरेसले समग्रमा नेपाली साहित्यमा अहिलेसम्मकै मानक र प्रतिनिधि डायस्पोरिक कविताको जन्म गराएका छन् । हुन त डायस्पोरा पदको जन्म ई.पू पाचौं शताब्दीतिर पूर्वी युरोपबाट भएर तत्कालका युद्धका घटना वायौद्विक चरित्रहरूले पश्चिम युरोपसम्म फैलिन गयो । तथापि उन्नाइशौं शताब्दीमा मात्र पूर्व र पश्चिम युरोपभरी डायस्पोरा पदलाई सिद्वान्तकैरूपमा व्यापक चर्चा, विमर्श र अनुशन्धान गरियो र डायस्पोरा सिद्वान्तको विकास हुन गयो । विसौं शताब्दीको उत्तरार्धमा सोभियत संघको विघटनपछि पश्चिमी समाजवादी राष्ट्रहरु राजनीतिक शक्ति केन्द्रमा टिकिरहने रणनीतिमा पुंजीवादी अर्थ नीतिलाई विश्व व्यापीकरण गरिएपछि विश्व मानव समुदायको चलायमानको गती अर्को ढंगबाट हुनथाल्यो । त्यसबाट नेपाल पनि अछुत रहेन । त्यसपछि मात्र वि.सं. साठीको दशकबाट नेपाली साहित्यमा डायस्पोरा पदको अनुकरण हुन थाल्यो । त्यो आज नेपाली साहित्यमा विश्वव्यापी रूपमा स्थापित भइसकेको छ । आज कवि खेरेस डायस्पोरिक सृजनाकारका रूपमा अन्य डायस्पोराका कवि भन्दा धेरै अघि पुगेका छन् ।

कवि देवेन्द्र खेरेस मुलतः लाहुरे अर्थात् भूपू गोर्खाका सन्तान हुनका कारण पनि प्रत्यक्ष–परोक्ष युद्धका प्रभाव वा युद्ध जन्य अनुभूतिहरूद्वारा प्रभावित हुने नै भयो । तसर्थ उनले युद्ध कविता लेखनलाई पनि छुटाएनन् । हुनत उनी प्रत्यक्ष युद्धदर्शी वा भोक्ता होइनन्, तथापि परोक्ष प्रभाव वा युद्धजन्य अनुभूतिद्वारा पनि युद्ध साहित्य लेख्न सकिन्छ । त्यो कर्म पनि गर्न उनले छुटाएका छैनन् । समग्रमा उनका कविताको शक्ति र सफलता सरलता, सरसता र हृदयग्राहीता नै हो । यी कविताहरू उनको अघिका विचार प्रधान कविताहरूबाट भावना प्रधानमा रूपान्तरित हुँदै आएका छन् । यसो भनौं विचार र भावनाको उचित समन्वय गर्ने सिप वा दक्षताको विकासले उनका कविताहरू रूपान्तरित हुँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक