अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माणमा सरकार सहयोगी बन्ने

धुर्मुस सुन्तली फाउण्डेसनद्वारा भरतपुरको चितवनमा निर्माण गरिने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशालाका निम्ति फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर तथा निर्माणको घोषणा कार्यक्रमको उदघाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर – रासस

काठमाडौँ, १६ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण अभियानमा सरकार सहयोगी बन्ने बताउनुभएको छ ।

फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ का निम्ति फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर गर्न आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्तरीय रङ्गशाला मैदान नहुँदा नेपालमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता हुन नसकेकोले यस्तो मैदानको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो । “अहिले हामीकहाँ भएका मूलपानी र त्रिवि क्रिकेट मैदान काम चलाउ मात्रै छन्, त्यसैले यहाँ अन्तर्राष्ट्रियस्तरको रङ्गशाला आवश्यक छ, भएकाको पनि स्तरोन्नति आवश्यक छ”, उहाँले भन्नुभयो ।

खेल र राजनीतिको सम्बन्ध अन्योन्याश्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले तत्कालीन अवस्थामा खेल जितेर (लिगलिगे दौड) राज हुने परम्पराको स्मरण गर्नुभयो । नेपाल अब समृद्धितर्फ अघि बढिसकेको कुरा आफूले अन्तर्राष्ट्रिय समुदायलाई समेत बताएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको अभियान अब साकार हुँदै जाने बताउनुभयो ।

उहाँले ठेकेदार भागेकाले मेलम्ची समयमै काठमाडौँ ल्याउन नसकिएको बताउँदै ठेकेदार कम्पनीसँग केही दिनभित्रै वार्ता हुने र मेलम्चीको काम अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकार वार्ता र संवादबाटै अगाडि बढ्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्र कमजोर भयो भनेर हल्ला फिँजाउनु दुर्भाग्य भएको बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको बताउनुभयो । “राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै हो । तपाईं हेर्नुहोला अबको १० वर्षभित्र नेपालको राजनीति सफा हुन्छ, एउटा नयाँ अभियानमा जान्छ”, उहाँले भन्नुभयो ।

उहाँले खेलकै करण कयौँ राष्ट्रलाई एकताबद्ध बनाएको बताउँदै मुलुकको अर्थतन्त्र माथि उकास्न र समृद्धि हासिल गर्न अब मुलुकमा खेलको विकास गर्न ढिला भइसकेको बताउनुभयो । मुलुकको समृद्धिका लागि अब सबै जनताले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताउँदै अध्यक्ष दाहालले समृद्धिलाई साकार रुप दिन सबले सङ्कल्प गर्नुपर्ने बेला आएको बताउनुभयो ।

यस्तो बन्नेछ रंगशाला

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले खेलकूदकै कारण नेपाल पछिल्लो समय संसारमा चिनिँदै गएको बताउनुभयो । उहाँले खेलकूदको विकास र रङ्गशाला निर्माणका लागि पार्टीका तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कमी नहुने वचनबद्धतासमेत व्यक्त गर्नुभयो ।

युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा सुनारले नेपाली खेलाडीले प्रतिकूलताका बाबजूद अन्तर्राष्ट्रिय सफलता हात पारिरहनु सराहनीय काम हो भन्नुभयो । उहाँले खेल क्षेत्रको विकासविना मुलुकको समृद्धि हासिल हुन नसक्ने बताउँदै यस क्षेत्रको भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर मुलुकको सबै स्थानीय तहमा खेलग्राम निर्माण गर्ने कार्यविधि ल्याएको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सरकारको एक महानगरमा एक सुविधासम्पन्न रङ्गशाला बनाउने कार्यक्रमअनुसार फाउण्डेशनलाई जग्गा प्राप्त गर्न चुनौती नहोस् भनेर जग्गा दिन तयार भएको बताउनुभयो । उहाँले दुई वर्षभित्र रङ्गशाला तयार गरेर पहिलो खेल भारत र पाकिस्तानबीच गराउनेसमेत बताउनुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री