बेलायती सैन्यमा अर्का गोरखा सैनिक बने उच्च अधिकृत

तस्वीर वेभबाट

लण्डन । बेलायती सैन्यमा कार्यरत एक गोरखा सैनिक बेलायती सेनाको उच्च अधिकृतमा बढुवा भएका छन् । हाल ११ इन्फेन्ट्री बटालियनमा कार्यरत स्याङ्जाका मेजर देवेन्द्र आलेले बेलायती सेनाको सातौँ वरियतामा रहेको लेफ्टिनेण्ट कर्णेल पदमा बढुवा हुने दुर्लभ अवसर पाएका हुन् ।

बिहीबार बसेको छनौट बोर्डले आलेलाई सो पदमा बढुवा गरेको हो । ५१ वर्षीय आले विगत ३० वर्षदेखि बेलायती सेनामा कार्यरत छन् । गोरखा भर्तीको २०० वर्षभन्दा लामो इतिहासमा सो पदमा पुग्ने अवसर पाँचजना मात्र गोरखाले पाएका हुन् । यसअघि लालबहादुर पुन, विजय रावत, यमबहादुर राना र टोलबहादुर खाम्चा सो पदमा पुगेका थिए । जसमध्ये खाम्चा मात्र सेवारत छन् भने अरु सबै सेवानिवृत्त भइसकेका छन् ।

बढुवापछि शुक्रबार वीनेपालीसित आलेले भने, “सबै चीज जुर्नपर्ने रैछ । पहिले यस्तो अवसर भएको भए हामीभन्दा पूर्वजहरु पनि कति त्यो पदमा पुग्न पाउनुहुन्थ्यो होला । अहिले समयले अवसर दिँदा हामी भाग्यमानी भयौँ ।”

पुरख्यौली घर स्याङ्जा बहाकोट भञ्ज्याङ भएका आलेका पिता क्याप्टेन मोतिप्रसाद पनि ब्रिटिश सैन्यमा थिए । यसैक्रममा आलेको जन्म सिंगापुरमा भयो भने पढाइ बढाइ हङकङ र नेपालमा भयो । हङकङको गोरखा स्कुलबाट एसएलसी गरेका आलेले अमृत साइन्स कलेज काठमाडौँमा बायलोजीमा आइस्सी गरे । त्यसपछि देहरादुन गएर पुनः बायलोजीमा प्लस टु गरे । फर्केर त्रिचन्द्र कलेजमा बीएस्सी पढ्दापढ्दै उनी बेलायती सेनामा भर्ती भए । पहिलो प्रयासमै ब्रिटिश सेनाको क्लर्कमा भर्ती हुन सफल भएका आले भन्छन् – ‘म अलि उमेर ढल्केर भर्ती भएँ । अरु १६/१७ वर्षमा भर्ती हुन्थे भने म झण्डै २२ वर्षको उमेरमा भर्ती भएँ ।’ भर्तीपछि उनी पिताजीले सेवा गरेको गोरखा ट्रान्सपोर्ट रेजिमेण्टमा गए ।

मेजर पदमा सेवारत आलेका समकक्षीहरु करिब २०० जना छन् । त्यसमध्ये धेरैजना लेफ्टिनेण्ट कर्णेल पदका लागि प्रतिपस्र्धा गर्न योग्य रहेको उनी बताउँछन् । तर उनले पाएको पदकै लागि कतिजना दौडमा थिए त्यो भने उनलाई थाहा छैन । कम्तीमा ४०-५० जना हुनसक्ने उनको अनुमान छ तर गोरखा सैनिकहरु भने कोही पनि थिएनन् रे ।

आलेको नयाँ जिम्मेवारी अर्को वर्षबाट शुरु हुनेछ । कुन ठाउँमा के जिम्मेवारी दिइन्छ तय भइसकेको छैन । करिब तीन वर्ष सेवा लेफ्टिनेण्ट कर्णेल पदमा गरेपछि उनी रिटायर्ड हुनेछन् । ‘हामी लेट इन्ट्री भएका अफिसरहरु उमेरका कारण पनि यो भन्दा माथिल्लो पदमा जाने सम्भावना छैन’ उनले भने । तर भविष्यमा भने सोझै कमिसनमा अधिकृत भएका गोरखा अफिसरहरु लेफ्टिनेण्ट कर्णेलभन्दा माथिल्लो ओहोदामा पुग्ने उनको विश्लेषण छ । अहिले वर्षमा एक जना गोरखा लेफ्टिनेण्ट कर्णेल पदमा पुग्ने गरेकोमा आगामी वर्षहरुमा एकभन्दा बढीले यस्तो अवसर पाउने आशा पनि उनी व्यक्त गर्छन् ।

हाल श्रीमती दुर्गा आले र दुई छोराका साथ आले अल्डरसटमा बस्ने गरेका छन् । उनको भाइ पनि गोरखा सैनिकमै कार्यरत थिए । अवकासपछि उनी बेलायतमै बसोबास गर्ने गरेका छन् ।

नरेश खपाङ्गीमगर

खपाङ्गीमगर वीनेपाली डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री