बेलायतका नेपाली श्रष्टा अंग्रेजी साहित्यतिर

गोपी सापकोटा

लन्डन । बेलायतमा पछिल्लो समय नेपाली साहित्यिक गतिविधि बढेको छ । वृहत कार्यक्रमदेखि एउटा कोठामा कविता सुनाउने सुन्ने लहर नै छ अचेल । नबिके पनि फाट्टफुट्ट कृति प्रकाशन पनि भ्याएका छन् तिनले । तर, अंग्रेजको देशमा बसेर नेपाली लेखकहरु नेपाली भाषामा मात्रै सिमित छन् । उनीहरु अंग्रेजीमा लेख्न जान्दैनन् वा समय मिल्दैन ? बेलायतमा अंग्रेजी भाषामा लेख्ने थोरै श्रष्टा नभएका होइनन् तर उनीहरु भाषाको ज्ञान नै प्रमुख बाधक भएको औंल्याउंछन् ।

‘इमान्दार भएर भन्नु पर्दा बेलायतका नेपाली लेखकहरुले अंग्रेजी भाषामा लेख्न नसकेर नै अंग्रेजी कृति नलेखिएका हुन् । हामी नेपाली साहित्यलाई कसरी अन्तर्राष्ट्रिय रुपमा लैजाने भन्दा पनि कसरी हाम्रो भाषा संस्कृति जोगाउने भन्ने कुरामा धेरै चिन्तित देखिन्छौं’, नेपाली र अंग्रेजी दुवै भाषामा कलम चलाउने कवि तथा नाटककार गोपी सापकोटा भन्छन् ।

सन् २०१० मा अंग्रेजी कविता संग्रह ‘अ सुसाइड नोट’ निस्केपछि सापकोटाको अर्को अंग्रेजी कृति आउन सकेको छैन् । उनी भन्छन्, ‘साहित्यभन्दा अरु कुरा प्राथमिकतामा परेकाले साहित्य लेखन अलिक पछि परेको हो । तर अर्को अंग्रेजी कविता सङ्ग्रह छिट्टै निकाल्ने तयारी गर्दैछु ।’

मुकुल दाहाल

बेलायत बसेर अंग्रेजी भाषामा लेख्ने अर्का नेपाली कवि हुन् मुकुल दाहाल । हालै युनिभर्सिटी अफ डण्डीबाट पिएचडी सकेका उनले युनिभर्सिटी अफ ग्लास्गोबाट सिर्जनात्मक लेखनमा एमफील गरेका थिए । कवि दाहाल भन्छन्, ‘लेखकहरुको रुची, लगाव र भाषाको ज्ञानको सिमितताले पनि नेपाली लेखकहरु अंग्रेजीमा थोरै लेखिरहेका छन् ।’

लामो समयसम्म ‘पेन हिमालय’ अनलाइन साहित्यिक जर्नल चलाएका दाहालले सन् २००९ मा आफ्नो कविता ‘स्टोलन’ का लागि नोस्साइड इन्टरनेशनल पोयट्री प्राइज (युनेस्को हेरिटेज अवार्ड) पाएका थिए । उनी भन्छन्, ‘अङ्ग्रेजी भाषामा लेख्ने नेपाली लेखकहरुले आफ्ना अनुभव र सिकाइहरु बांड्ने एउटा नेटवर्क बनाउनु पर्ने आवश्यकता देख्छु म ।’

बेलायतमा अङ्ग्रेजी भाषामा लेख्ने अर्का नेपाली कवि हुन् – नवीन क्षेत्री । बेलायतको अक्स्फोर्ड युनिभर्सिटी र युनिभर्सिटी अफ एबरडीनबाट सिर्जनात्मक लेखनमा स्नात्तकोत्तर गरेका क्षेत्रीले अक्स्फोर्ड युनिभर्सिटीको सेन्ट पिटरर्स फाउन्डेसन अवार्ड र सन् २०११ मा ‘मेमोरी’ शीर्षकको कविताका लागि नोस्साइड इन्टरनेशनल पोयट्री प्राइज (युनेस्को हेरिटेज अवार्ड) पाएका थिए । क्षेत्री भन्छन्, ‘मुख्य कुरा बेलायती समकालीन लेखन पढ्न जरुरी छ । समकालीन लेखनको ‘ट्रेण्ड’ बुझ्न आवश्यक छ । पढ्यौं भने हामी आफू कहां छौं भन्ने पनि थाहा हुन्छ । लेखनका लागि निरन्तर साधना जरुरी छ ।’

७० भन्दा बढि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा कविता प्रकाशित गरेका क्षेत्रीले काव्यिक अन्तरक्रियाको आवश्यकता ठानेर पोयट्री ग्रुपको तर्फबाट एउटा बेलायती र नेपाली कविहरुको अन्तरक्रियात्मक कार्यक्रम गर्ने सोच बनाएको पनि जनाए ।
सन् २०१६ मा अंग्रेजी कविताहरुको संग्रह ‘बिनी’ प्रकाशित गरेका क्षेत्रीले आफ्नो नयां अङ्ग्रेजी कविता संग्रह ल्याउने तयारी 
गरिरहेका छन् ।

नवीन क्षेत्री

नेपाली लेखनलाई अंग्रेजीमा ल्याउने सन्दर्भमा धेरै काम हुन नसकेको स्वीकार्दै सापकोटा भन्छन् – ‘हामीले धेरै गर्न सकेका छैनौं । बेलायतमा नेपालीमा लेख्ने र आफैं छाप्ने काम मात्रै भएको छ तर बेलायतकै लेखक र पाठकहरुबीच पुग्न सकिएको छैन् ।’
प्रकाशनमा हतारिनु भन्दा स्थानीय लेखकहरुको समूह र कार्यक्रममा सहभागी भएर आफ्नो लेखकीय उपस्थिति देखाउन सुझाव दिन्छन् उनी ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री