नेपाली क्रिकेट टोलीको विमानस्थलमा भव्य स्वागत

राष्ट्रिय क्रिकेट टिम संयुक्त अरब इमिरेटसविरुद्ध एकदिवसीय र टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृङखला विजयपछि स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्वीर – रोशन सापकोटा, रासस

काठमाडौँ, २१ माघ – संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेर आज स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टोलीको स्वागत गरिएको छ ।

ऐतिहासिक सिरिज विजेता टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष पीताम्बर तिम्सिनालगायतले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रियसभा उपाध्यक्ष तिम्सिनाले प्रत्येक खेलाडीलाई आफ्नो व्यक्तिगत तर्फबाट जनही रु १० हजार सहयोगस्वरुप हस्तान्तरण गर्नुभयो । नेपाली टोलीलाई रातो कार्पेटमा स्वागत गरिएको थियो । यस्तै खेलाडीको स्वागतमा सयौँ समर्थक विमानस्थल पुगेका थिए ।

युएइविरुद्ध एकदिवसीय र टी–२० सिरिज जित्दै ऐतिहासिक सफलता प्राप्त गर्न सफल नेपाली टोली अपराह्न नेपाल आइपुगेको हो । घरेलु टोली युएइविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र टी–२० सिरिज समान २–१ ले जितेको थियो । दुवै सिरिजको शुरुआती खेल गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई सिरिज आफ्नो बनाएको थियो ।

राष्ट्रिय क्रिकेट टिम संयुक्त अरब इमिरेटसविरुद्ध एकदिवसीय र टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृङखला विजयपछि स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीका कप्तान पारस खडका । तस्वीर – रासस

सो अवसरमा राखेप सदस्य–सचिव केशवकुमार विष्टले सिरिज विजेता खेलाडीलाई जनही रु पाँच लाख दिन सरकारसमक्ष सिफारिश गर्ने बताउनुभयो । राष्ट्रिय टोलीका कप्तान पारस खड्काले ऐतिहासिक सिरिज खुशीको कुरा भएको बताउनुभयो । प्रतियोगितामा नेपालका दुई खेलाडीले विश्व रेकर्डसमेत बनाएका छन् । रोहितकुमार पौडेल एक दिवसीयमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका छन् । उनले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए । यस्तै सन्दीप जोरा टी–२० मा अर्धशतक बनाउने कान्छो खेलाडी बने ।

क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुशी लागेको उल्लेख गर्नुभएको छ । नेपाली क्रिकेटका लागि टि–२० सिरिज जित्नु अर्को ठूलो सफलता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ट्वीटरमा लेख्नुभएको छ, “नेपाली क्रिकेटका लागि यो अर्को ठूलो सफलता हो, नेपाली क्रिकेट टिमका सम्पूर्ण सदस्यलाई हार्दिक बधाई दिन चाहन्छु ।”

देउवाले पनि दिए बधाई

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले युएइविरुद्ध एकदिवसीय र टी २० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपाली क्रिकेट टोलीले पाएको सफलता र उच्चस्तरको प्रदर्शनले आफूलाई हर्षित बनाएको उल्लेख गर्नुभएको छ ।

उहाँले आज एक विज्ञप्तिमार्फत राष्ट्रिय गौरव अभिवृद्धि गर्ने नेपाली क्रिकेट टिमलाई बधाई ज्ञापन गर्दै क्रिकेट टिमले प्राप्त गरेको सफलताको काङ्ग्रेस कदर गर्दछ भन्नुभएको छ । आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा यस सफलताले नेपाली क्रिकेट खेलाडीलाई अझ उच्चस्तरको प्रदर्शन गर्न हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्दै सभापति देउवाले क्रिकेट खेल मैदानको स्तरोन्नति तथा खेलाडीको वृत्ति विकास एवं मनोबल उच्च राख्ने कार्यक्रम ल्याउन सरकारको समेत ध्यानाकृष्ट गराउनुभएको छ ।

अगामी हरेक अन्तर्राष्ट्रिय प्रतियोगिताका हरेक खेलमा नेपाली टिमलाई विजय प्राप्त हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्दै उहाँले सहभागी, खेलाडी, टिमका कप्तान र प्रशिक्षक सबैमा बधाई ज्ञापन गर्नुभएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री