बेलायतमा च्यारिटी अनुभव- हुने बोल्छन् दिंदैनन्, नहुने बोल्दैनन् दिन्छन्

रिता डोटेल

लन्डन । हुन त म त्यस्तो समाजसेवी पनि होइन् । न व्यापारी हुं हरेक इभेन्ट्स र अप्ठेरोमा पैसा दिंदै हिंड्ने । न मैले च्यारिटीमा यति दिन्छु भनेर कबोल गरें, न उधारो राखें । एउटा सानो अनुभव बांड्न मात्र केही शब्द कोरेको छु पाठकहरुसमक्ष ।

गत वर्ष नोभेम्बरमा एउटा समाचारले मेरो दिमागलाई एक किसिमको बेचैन बनायो । मातृभूमि त्यस माथि आफ्नै गृह जिल्ला स्याङजाको समाचार । चापाकोट नगरपालिका वडा नम्बर १० निवासी साथी दया भण्डारीको तीन वर्षीय छोरा श्रीधर भण्डारीलाई ब्लड क्यान्सर भएछ । यति सानो उमेरमा ब्लड क्यान्सर त्यो पनि गरिवीमा संघर्ष गरिरहेका भण्डारी परिवारलाई । एकछिन त्यो नाबालकलाई सम्झेर दिमागमा चक्कर आयो । वेम्ली एरिनाको आउट लेटमा छोरीलाई सपिङ गर्दै थिएं । एक्कासी चक्कर लागे जस्तो भयो र भुर्इंमा थचक्क बसें । एकछिन घोरिएं, छोरीलाई सपिङ नगरि घर फर्कें । मेरो बाल्यकालको स्याङ्जाली साथीको पीडामा कसरी सहयोगी बन्न सक्छु आफ्नै मनसंग जिज्ञासा राखें ।

यथार्थ के हो बुझ्नु परयो भनेर साथी दयासंग ब्लड क्यान्सरबाट पीडित श्रीधर भण्डारीको उपचारार्थ लाग्ने रकम बुझें । करिब ६० लाख रुपैंयां अनुमानित खर्च सुनें । भगवानले पनि किन यस्तो गरीव परिवारलाई पीडा दिएका होलान् भनेर चिन्तित भएं ।
यस्तै कुरा मनमा खेल्दै थियो, त्यति नै बेला यूकेमै रहेको एक साथीले फोन गरयो । मैले पनि समस्या शेयर गरें । उसले सानो च्यारिटीका लागि सुझाएं । दया भण्डारीको आर्थिक स्थितिबारे मलाई राम्रो जानकारी थियो । एउटा राम्रो साथीका लागि मैले जे सक्छु त्यही गर्छु त्यो सानो होस् वा ठूलो रकम । अघि बढ्ने निधो गरें ।

अनि साथीहरु र आफन्तसंग सहयोगको याचना गर्न सुरु गरें । यो कार्य सुरु गर्दा मलाई धेरै सोच्नुपरयो । ठूला ठूला च्यारिटी गरेको मैलै सुनेको थिएं । तर, यति सानो च्यारिटी म आफैंले गर्न लागेको पहिलो पटक थियो । सहयोगका लागि मुख खोलिसकेपछि अपमानित हुनु पर्छ कि भनेर धेरै सतायो । तरपनि जे होला भनेर अघि बढें । यस क्रममा वर्षौंदेखि नजिक रहेका साथीहरुले पनि सहयोग गर्न हिच्किचाए । बरु सामान्य चिनजान भएका साथीहरुले एक वचनमै सहयोगको हात फैलाए । औपचारिक चिनजान हुनु र व्यवहार गर्नुमा आकाश जमिनको फरक रहेछ भन्ने कुरा मैले करिब १० वर्षको बेलायत बसाईमा लिन नसकेको ज्ञान सानो च्यारिटीले मलाई दिलायो ।

विदेशी रकममा हरेको श्रम परेको हुन्छ । म आफैं पनि श्रमिक भएको हुनाले त्यो मूल्य मलाई थाहा छ । विदेशमा कामको सम्मान गर्नुपर्छ भन्ने ज्ञान मैले यहाँ आएदेखि नै सिकेको छु । ज जसले त्यो बालकको स्वास्थ्यलाभका लागि सहयोग गर्नुभयो । ति सबै धन्यवादका पात्र छन् । म यहां एक दुई जनाको नाम लेख्न सक्दिन । मैले थालेको सामाजिक कार्यमा हातमा हात मिलाउने सबैप्रति म नमन गर्न चाहन्छु । सबै धन्यवादका पात्र छन् । तपाईंहरुको साथले नै ५ सय पाउण्ड उठाउन सफल भएं । त्यो रकम धेरै त होइन तर पनि मैले मेरो ठाउंबाट सक्ने सहयोग गरें । त्यसमा म निकै सन्तुष्ट छु । यो रकमले श्रीधर भण्डारीको उपचारमा केही राहत मिलोस् र आउंदा दिनहरुमा पनि मैले आफ्नो ठाउंबाट सहयोग गर्न सक्दो प्रयासरत रहिरहने छु ।

नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा उपचार 
गराइरहेका श्रीधर भण्डारीको उपचार सफल होस् । 
करिब साढे तीन वर्षको अस्पताल बसाई र रकम जुटाउन भण्डारी परिवार सफल हुनुहोस् भन्ने मेरो शुभकामना छ । भण्डारीलाई सहयोग गर्न चाहनु हुन्छ भने उनको बैंक खातामा सिधा पैसा जम्मा गर्न अनुरोध छ ।

आर्थिक सहयोगका लागि श्रीधरका बुबा दया भण्डारीको नाममा रहेको मेघा बैंक नेपालको खाता नं- 0320050052542

सम्पर्कको लागि
बुबा- दया भण्डारी ९८४९११८२३६

प्रतिक्रिया

सम्बन्धित सामाग्री