नेपालीको राजधानी अल्डरसटमा काउन्सिलर उम्मेदवार बने केसी

Prabesh KC

लन्डन । नेपालीहरुको उल्लेख्य बसोवास रहेको बेलायतको अल्डरसटबाट एकजना नेपाली काउन्सिलर पदको उम्मेदवार बनेका छन् । युवा व्यवसायी तथा समाजसेवी प्रवेश केसी आउंदो २ मेमा हुने स्थानीय निर्वाचनमा काउन्सिलर उम्मेदवार भएका हुन् ।

कन्जरभेटिभ पार्टीका तर्फबाट रसमोर बरो अन्तर्गत अल्डरसट टाउन, वेलिङटन वार्डको काउन्सिलर पदमा उम्मेदवारी दिएका केसी अहिले चुनावी प्रचार प्रसार अभियानमा व्यस्त छन् । उनको क्षेत्रमा करिब ४ हजार मतदाता छन् ।

अल्डरसटमा नेपाली जनसंख्या तथा व्यवसाय बढ्दै गएपछि नेपाली तथा स्थानीयको आवाज काउन्सिल च्याम्बरसम्म पुरयाउने आफ्नो मुख्य ‘एजेन्डा’ रहेको उनले बताए । शनिबार अल्डरसटमा केसीले भने, ‘रसमोर बरो काउन्सिल गोर्खा भेट्रानप्रति बढि उदार भएकाले भूपू गोर्खाहरुका स्थानीय समस्या सम्वोधनमा पनि म जुट्नेछु ।’ कन्जरभेटिभ पार्टीले स्थानीय सरकारमा नेपालीको आवाज आओस् भन्ने उद्देश्यले आफूलाई छनोट गरेको केसी बताउंछन् ।

 

चुनावी अभियानमा केसी

उनले आफूलाई मत दिन र आफ्नो चुनावी अभियानमा सघाउन पनि अपिल गरेका छन् ।

कन्जरभेटिभको व्यक्तिगत स्वतन्त्रता, फ्रि इन्टरप्राइज (व्यापार स्वतन्त्रता) र प्रोटेक्सजन टु रिकग्जनाइज ट्रेडिसन सिद्धान्त रहेको जनाउंदै केसीले हरेक मतदातालाई ति सिद्धान्तको प्रत्याभूति दिलाउन पहल गर्ने बताए । ‘यो पार्टीले हरेक व्यक्तिलाई आफ्नो जीवनको मालिक बनाउंछ दास होइन्’- केसीले भने ।

ब्रिटिश सैनिकमा कार्यरत गोर्खाहरुका लागि पनि कन्जरभेटिभ उदार छ । उसको डिफेन्स बजेट बढि हुन्छ । हालै ‘अल्डरसट सेन्टर फर हेल्थ’ प्रोजेक्ट सम्पन्न भएको छ जुन कन्जरभेटिभकै पहलमा बनेको हो । स्थानीय सरकारले टाउन सेन्टरको ‘रिजेनेरेसन’ का लागि ५०० मिलियन पाउण्ड बजेट समेत छुट्टयाएको उनले बताए ।

अग्रीम शुभकामना दिंदै काउन्सिलर लक्ष्य गुरुङ

वेलिङटन वार्डमा ४ हजार ५०० क्वालिटी होम विकासमा पनि कन्जरभेटिभले नै पहल गरेको हो । अल्डरसटमा मन्दिर, गुम्बा, मस्जिद, चर्च आदि बनाउन पनि कन्जरभेटिभ स्थानीय सरकारको महत्वपूर्ण भूमिका छ । कन्जरभेटिभ पार्टीको जनताका हक-हित र कल्याण प्रमुख नीति भएकाले पनि केसीले उक्त पार्टीका उम्मेदवारलाई मत दिन अपिल गरे । यस पार्टीको असहाय र निमुखा जनतालाई सहयोग गर्ने पनि मुख्य नीति छ ।

सन् १९९६ मा बेलायत आएका केसी म्याग्दीमा जन्मिएका हुन् । उनी प्रोपर्टी व्यवसायमा आवद्ध छन् ।

तस्विरहरु- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री