बेलायतको ब्रेकन र धम्पुसबीच भगिनी सम्बन्ध

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको उपस्थितिमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ मा आइतबार आयोजित कार्यक्रममा धम्पुस र बेलायतको ब्रेकनबीच मितेरी सम्बन्धमा हस्ताक्षर गर्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ र ब्रेकनका मेयर काउन्सिलर म्यान्नी ट्रेलर । तस्वीर – कृष्ण दवाडी, कास्की, रासस

कास्की, २७ माघ – कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस र बेलायतको ब्रेकन शहरबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ । दुई शहरका बीचमा संस्कृति आदानप्रदान तथा सामाजिक र आर्थिक विकासमा भगिनी सम्बन्धले सहयोग पुग्ने विश्वास गरिएको छ ।

पर्यटकीय गाउँ धम्पुस र ब्रेकन शहरकाबीच भगिनी सम्बन्ध पत्रमा आज यहाँ हस्ताक्षर गरी आदानप्रदान गरिएको छ । माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, वडाध्यक्ष समबहादुर गुरुङ तथा ब्रेकनका प्रमुख काउन्सिलर म्यान्नी ट्रेलर र उपप्रमुख टाउन क्लार्क फियोना विलियम्सले भगिनी सम्बन्ध पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले माछापुच्छ्रेका अध्यक्ष, वडाध्यक्ष तथा ब्रेकन सिटीका प्रमुख, उपप्रमुखलाई शपथ गराउँदै धम्पुस, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन प्रवर्धनमा भगिनी सम्बन्धले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

ब्रेकनका प्रमुख ट्रेलरले पहिलो पटक नेपालमा आएर पर्यटकीय गाउँसँग सम्बन्ध गाँस्न पाउँदा खुशी लागेको बताउँदै नेपाल र बेलायतबीचको विगतदेखिको ऐतिहासिक सम्बन्ध थप प्रगाढ हुने भनाइ राख्नुभयो । गाउँपालिका अध्यक्ष गुरुङले यस सम्बन्धबाट पारस्परिक हित र गाउँपालिकाको सामाजिक विकासमा मद्दत पुग्ने बताउनुभयो ।

मितेरी सम्बन्ध स्थापनाका लागि संयोजन गर्नुभएका गोर्खा मेजर खुशीमान गुरुङले करीब डेढ वर्षको मिहिनेत र प्रयासपछि दुई शहरबीच मितेरी सम्बन्ध गाँसिएको बताउनुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री