पत्रकार महासंघ युकेले एनआरएन पत्रकारिता पुरस्कार कोषको राशी ५० लाख पुर्याउने

तस्वीर शिव भण्डारी

लण्डन । नेपाल पत्रकार महासंघ युकेले गैरआवासीय नेपाली संघ (एनआरएन) युकेसित मिलेर स्थापित एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार कोषको राशी ५० लाख रुपियाँ पुर्याउने भएको छ ।

शाखाको आइतबार सम्पन्न बैठकले एनआरएनए युकेसित मिलेर सो कोषलाई बढाउने निर्णय गरेको हो । बैठकले हाल एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी) को मातहतमा रहेको सो कोषलाई महासंघ युके र एनआरएनए युकेको संयुक्त बैँक खातामा सार्न समितिलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

सन् २०१३ मा स्थापना गरिएको सो कोषको शुरुवाती राशी १६ लाख रुपियाँ रहेको थियो । सो कोषबाट हरेक दुई/दुई वर्षमा प्रवासी नेपालीका बारेमा समाचार सम्प्रेषण गर्ने दुई जना पत्रकारलाई पुरस्कृत गर्ने गरिएको छ ।

यसैगरी, बैठकले भगिरथ योगी, नविन पोखरेल, चिरन शर्मा, संगीता मरहट्ठा, मेजर रिटायर्ड सोनामछिरिङ शेर्पा, हरिकुमार गुरुङ काजी, दुतबहादुर पुन, विकलचन्द्र आचार्य, विपिन निरौला, फडिन्द्र भट्टराई र कुशल श्रेष्ठलाई शाखाको सल्लाहकार नियुक्त गरेको छ । केन्द्रीय सभासदमा वाचस्पति रेग्मी, प्रमिला लाबुङ राई, भावना परिस्कृत सुनुवार, जानुका राई, मिलन तमु, एसके गुरुङ, प्रजय शुक्ल, मिलन शर्मा, एभरेष्ट गौतम र नृपेश उप्रेतीलाई चयन गरेको छ ।

बैठकले मिडल्याण्डमा समुदायसित अन्तरक्रिया गर्न सदस्यहरु महेश अधिकारी, नृपेश उप्रेती, केशव भण्डारी र टीका अधिकारीलाई स्थानीय संयोजनको जिम्मा दिएको छ भने केन्टमा अन्तरक्रिया गर्न सदस्यहरु विश्वासदीप तिगेला, देवेन्द्र खेरेस, जानुका राई, ज्ञाम गुरुङ, सुरेन्द्र इङनाम, रमेश सराङकोटी र छत्र वनेमलाई जिम्मा दिने निर्णय गरेको छ ।

महासंघको यही फागुन ९ र १० गते नेपालमा हुन लागेको विधान सम्मेलनमा सुझाव पेश गर्न शाखा अध्यक्ष नरेश खपाङ्गीलाई जिम्मा दिएको छ । शाखाले सबै वैदेशिक शाखासित मिलेर सो सुझाव पेश गर्ने भएको छ ।

शाखाका सदस्यहरुलाई अन्तर्राष्ट्रिय पत्रकार महासंघको प्रेस पास उपलब्ध गराउनका लागि आवश्यक समन्वयका लागि महासचिव सञ्जयभक्त कँडेललाई जिम्मा दिएको छ ।

यस्तै, शाखाले गठन गरेको सदस्यता शुद्दीकरण तथा ब्यवस्थापन समितिका संयोजक भगिरथ योगीलाई शाखाको अर्को बैठकमा मात्र प्रतिवेदन बुझाउन अनुरोध गर्ने निर्णय गरिएको छ भने शाखामा सदस्यताका लागि आवेदन दिएका तर सदस्यता पाइनसकेका सदस्यहरुले आवेदन फिर्ता लिन चाहेमा स-सम्मान सदस्यता शुल्क फिर्ता दिने निर्णय गरिएको छ ।

शाखाको स्थापना दिवसका बारेमा खोजबिन गरी टुंगो लगाउन महासचिव सञ्जयभक्त कँडेलको संयोजकत्वमा सल्लाहकारद्वय नविन पोखरेल र चिरन शर्मा, कार्यसमिति सदस्य विश्वासदीप तिगेला र उपाध्यक्ष विमला सेने रहेको एक समिति बनाइएको छ ।

शाखाका कार्यसमिति सदस्य नगेन्द्रराज नेम्वाङ एभरेष्ट टाइम्स साप्ताहिकको प्रबन्ध निर्देशक नियुक्त हुनुभएकोमा र अर्का सदस्य मिलन तमु हर्क स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा बधाई ज्ञापन गरिएको छ । यस्तै, शाखाका सदस्यहरु ज्ञाम गुरुङकी आमा चिजा गुरुङ र प्रकाश केसीकी आमा तेजकुमारी केसीको हालै निधन भएकोमा शोक प्रस्ताव पारित गरेको छ ।

अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा भएको सो बैठक शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षता र महासचिव सञ्जयभक्त कँडेलको संचालनमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री