महामहिमज्यूको शक्तिशाली बन्ने चाहना !

राजदूत सुवेदी

लन्डन । नेपाल सरकारको आधिकारिक निकाय दूतावासको नेतृत्व गरिरहेका बेलायतका लागि नेपाली राजदूत डा. दुर्गावहादुर सुवेदी ‘नेपाल भ्रमण बर्ष २०२०’ को उच्चस्तरीय मूल समिति यूकेको अध्यक्ष बनेका छन् । समितिको अध्यक्ष भएपछि कर्मचारीको नेतृत्व गरिरहेका राजदूत सुवेदी अव राजनीतिक नेता जस्तै डायस्पोराका नेपालीका नयाँ नेताका रुपमा उदाएका छन् । आफुलाई कर्मचारी नेतृत्वबाट डायस्पोराका नेपालीको नेता घोषणा गर्न पर्यटन बोर्डका एक जना बरिष्ठ निर्देशक आदित्य बराल स्टेजमा उभ्याइए ।

राजदूत सुवेदीले तयार पारेको ‘ड्राफ्ट’ बाचन गर्न दूतावासको सभाहलमा उभिएका बरिष्ठ निर्देशक बरालले महामहिमलाई समितिको अध्यक्ष र उनकै दोस्रो बरियतामा रहेका उपनियोग प्रमुख शरदराज आरणलाई सदस्य सचिव घोषणा गरे । एक लाख बेलायती पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित तयार गरिएको महत्वकाक्षी कार्यक्रममा राजदूत सुवेदीले सन् २०२० मा गरिने कार्यक्रमका खाका भने प्रस्तुत गरेनन् । आफू मूल समितिको अध्यक्ष भएका सुवेदीले पर्यटन कसरी नेपाल लैजाने भनेर विस्तृत विवरण उपस्थित सामु प्रस्तुत गरेनन् ।

बरु स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्याण्डसहित बेलायतभरबाट निमन्त्रणा मान्न आएका डायस्पोराका नेपालीलाई खाना खुवाएर पठाए । दूतावासको भात खान र राजदूत अध्यक्ष भएको सुन्न भन्दा पनि सन् २०२० मा बेलायती पर्यटक भित्रयाउने योजना सुन्न आएकाहरु निरास भए । आफू पनि समितिमा परिन्छ कि भनेर आस गरेका केही पदका लोभी पनि निराश भए । सवैको नेताका रुपमा आफूलाई स्थापित गर्न राजदूत तथा मूल समिति अध्यक्ष सुवेदीले केही नाम चलेका संघसंस्थासहित सवैका अध्यक्षलाई पदेन सदस्यको पद बांडे । पर्यटनमन्त्री रविन्द्र अधिकारी समक्ष त्यो घोषणा गराउने पूर्वयोजना वाइडबडी प्रकरणले सफल हुन सकेन । बेलायतका लागि आवेदन गरिएको भिजा रद्द भएपछि दोस्रो पटक मन्त्री अधिकारीले ‘भिजा’ प्रक्रिया अघि बढाएनन् । बेलायती सांसद विरेन्द्र शर्मालाई प्रमुख अतिथिका रुपमा स्टेजमा राखे पनि बरिष्ठ निर्देशक बराललाई राजदूत सुवेदीले उभ्याएका थिए ।

एउटा राजदूतले नेपाल भ्रमण जस्तो सरकारको ठूलो योजनाको नेतृत्व लिनु राम्रो र सकारात्मक कदम हो । तर, राजदूतका रुपमा निर्वाह गरिरहेको भूमिका भन्दा उच्चस्तरीय मुल समिति अध्यक्षको के फरक भूमिका हुन्छ भन्ने कुरामा धेरैको जिज्ञासा छ । डायस्पोराका सवै संस्थालाई आफ्नो अण्डरमा राख्न पाएर हौसिएका राजदूत सुवेदीले आफ्नो भूमिकाकै कारण नेपाल जाने बेलायती पर्यटकको संख्या ह्वात्तै बढेको दावी गर्न भ्याए । डा. सुवेदी राजदूत भएर आउँदा २९ हजार बेलायती पर्यटकले नेपाल भ्रमण गरेकामा सन् २०१६ मा ४६ हजार २०१७ मा ५१ हजार र सन् २०१८ सालमा ६३ हजार पर्यटक बेलायतबाट नेपाल पठाइ उच्चतम अभिबृद्धि गरिएको दावी गरे । सन् २०१५ मा नेपालमा भूकम्प भएपछि पर्यटकमा संख्यामा निकै कमि आएको थियो ।

‘सेन्ड होम अ फ्रेण्ड फ्रम यूके’ नारा राखेर सन् २०२० सम्म एक लाख पर्यटक नेपाल भित्रियाउने राजदूतले लक्ष्य सुनाए । त्यसका लागि आफ्नो योजना भन्दा पनि विभिन्न पदका लागि भर्ना समेत खुलाएका छन् । त्यो पदका लागि इमेल मार्फत दरखास्त हाल्न आव्हान समेत गरेका छन् । त्यसका कामको जिम्मा सदस्य सचिवमा दुतावासकै उपनियोग प्रमुख शरदराज आरणले पाएका छन् । अव कस कसले नियुक्ती पाउने हुन् त्यसका लागि केही साता कुर्नु पर्ला । होससेलमा घोषणा गरेको कार्यक्रमले नेपाल सरकारले लक्ष्य पुरा गर्ने हो की सन् २०१९ मा राजदूत सुवेदीको सकिन लागेको कार्यकाललाई थप्ने बहाना मात्र बन्ने हो त्यो भने हेर्न वाँकी छ ।

गत सन् २०१६ मा उनले राजदूत पदको कार्यभार सम्हाल्दा बेलायतका प्रधानमन्त्री स्तरको भ्रमण र बेलायतबाट नेपाल सिधा हवाई उडान गराउने योजना पत्रकार भेटघाटमा सार्वजनिक गरेका थिए । दुवै काममा उनले सफलता हात पार्न भने सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री