राजकुमारीलाई उम्मेदवार बनाउन खोजेको आरोपमा पार्टी विघटन गर्ने तयारी

तस्विर रोयटर्स

बैंकक, १ फागुन – राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेको आरोप लगाउँदै थाईल्याण्डको एक पार्टी विघटन गर्ने प्रक्रिया सुरु गरिएको छ ।

निर्वाचन आयोगले राजकुमारीलाई राजनीतिमा ल्याउन खोज्ने ‘थाई रक्षा चार्ट पार्टी’लाई विघटनका लागि प्रक्रिया अगाडी बढाएको हो ।

आयोगले पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राको सो पार्टीलाई विघटनका लागि बुधबार संवैधानिक अदालतसँग सोधेको छ ।

उहाँकै प्रभावमा परेर रक्षा चार्टको तर्फबाट थाई राजकुमारी उबोलरतनाले केही दिन अगाडी प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो ।

उहाँको घोषणाप्रति उहाँका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाउनु भएको थियो भने उहाँले आपत्ति जनाएपछि निर्वाचन आयोगले उहाँलाई उम्मेदवार बन्न आयोग्य घोषणा गरेको थियो ।

राजाको असन्तुष्टि र आयोगको निर्णयपछि राजकुमारी उबोलरतनाले पनि कमजोरी भएको स्विकार गर्दै क्षमा याचना गर्नु भएको छ ।

उहाँले क्षमा याचना गरेसँगै निर्वाचन आयोगले उहाँलाई उम्मेदवार बनाउन खोजेको पार्टीलाई विघटनको प्रक्रिया थालेको हो ।

शाही परिवारका सदस्यलाई सक्रिय राजनीतिमा संलग्न गराउन खोज्नु कानुन विपरित भएकाले त्यस्तो कार्यमा संलग्न रक्षा चार्टलाई विघटन गर्ने प्रक्रिया सुरु गर्नु परेको आयोगका अधिकारीहरुको भनाई छ ।

आउदो मार्च २४ मा निर्वाचन हुन लागेकाले त्यो भन्दा अगाडी नै अदालतले यस विषयमा निर्णय गर्नु पर्ने भएको छ ।

अदालतले विघटन गर्ने निर्णय गरेमा यसले शिनावात्रा परिवार र सो पार्टीले अझ लामो समय प्रतिवन्ध भोग्नु पर्ने छ भने आसन्न निर्वाचनमा भाग लिन पाउने छैन ।

सैन्य विद्रोहपछि पदच्युत भई अहिले निर्वासित जीवन विताईरहनु भएका शिनावात्रालाई अहिलेको सत्ता पक्षले निषेध गर्ने रणनीतिको रुपमा यो विषयलाई अगाडी सारेको टिप्पणी गरिएको छ ।

क्षमा याचना

थाइल्याण्डकी राजकुमारी उबोलरतनाले प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी घोषणा गर्नु गल्ती भएको भन्दै क्षमा याचना गर्नु भएको छ ।

शाही परिवारको सदस्य रहेकै बेला ६७ वर्षीया उबोलरतनाले ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट केही दिन अगाडी उम्मेदवारी घोषणा गर्नुभएको थियो ।

उहाँको उम्मेदवारीका बारेमा उहाँका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाउनु भएको थियो ।

आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टा नवित्दै राजाले राजपरिवारको सदस्य भएको व्यक्ति दलिय र सक्रिय राजनीतिमा संलग्न हुनु नमिल्ने धारणा राख्नु भएको थियो ।

राजपरिवारका सदस्यहरु राजनीतिमा सक्रिय हुनु संविधान, परम्परा, संस्कृति र संवैधानिक राजतन्त्रको मान्यता विपरित हुने राजाको भनाई थियो ।

राजाको आपत्तिपछि निर्वाचन आयोगले पनि उहाँलाई उम्मेदवार बन्न नमिल्ने भन्दै अयोग्य घोषणा गरेको थियो ।

पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राको राजनीतिक प्रभावका कारण राजकुमारीले उम्मेदवारी घोषणा गरेको बताइएको छ ।

उहाँलाई सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो । तर सन् २०१४ मा उहाँकी बहिनी यिङ्लकको सत्तामा पुनरागमन भएको थियो ।

अन्ततः उहाँलाई पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्यूत गरिएको थियो । उहाँले अहिले निर्वासनमा हुनुहुन्छ भने देश बाहिरैबाट उहाँले थाई रक्षा चार्ट पार्टी संचालन गरिरहनु भएको छ ।

थाइल्याण्डमा आउदो मार्च २४ का दिन हुन आम निर्वाचन हुन लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री