शुक्रबार, वैशाख ६ २०७६ | Fri, April 19, 2019
नेपालको समय: १४:५७ | UK Time: 10:12

लालपानीको ‘लाल’ सम्झना

नरेश खपाङ्गीमगर
२०७५ फागुन ४ गते ९:५२

केही हप्ताअघि सहपाठी साथीहरुले फेसबुकमा एउटा समूह बनाउनुभएछ लालपानी स्कुल पढेकाहरुको । एकैछिनमा देशविदेशमा भएका जोडियौँ, टेक्स्ट र फोन वार्ता गरयौँ । कति साथीहरुलाई बिर्सिएछ, कतिलाई अझै सम्झन सकिएको रहेछ । एउटा जाँचजस्तै भो । चिन्दिनँ भनुँ भने साथीहरुले ठूलो भएछ भन्नुहोला भन्ने डर । चिन्छु भनँु भने सम्झनाका रिलले पुराना तस्वीर खिचेर ल्याउनै नसक्ने । धर्मसंकटमै बित्यो केही क्षण । विस्मृतिले च्याप्नु सामान्य नै थियो । किनकि लालपानी विद्यालय छोडेको पनि अहिले त २२ वर्ष भइसकेछ ।

यस्तैमा एकदिन लालपानी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण प्रसाईले आग्रह गर्नुभयो, ‘विद्यालयको स्वर्णोत्सवका अवसरमा निस्कने स्मारिकामा केही प्रेरणादायी शब्द लेखिदिनु’ । लेखेरै दैनिकी चलाइरहे पनि यसबीचमा केही व्यक्तिगत कामको चटारोबाट उन्मुक्त हुन नपाउँदा लेख्न सकिनँ । अर्को कुरा, आफैँ जीवनमा सफल भइनसकेको अवस्थामा अरुलाई प्रेरित गर्ने के नै लेख्न सकिन्छ र ? सकिन्छ त तिनै विद्यालयमा बिताएका अविस्मरणीय दिनहरु जसलाई अहिले पनि सम्झेर हामी भावुक बन्ने गर्छौँ । थाहा छैन, यी कुरा अहिलेका विद्यार्थीहरुलाई प्रेरक बन्छ कि बन्दैन ।
हहह
लालपानी माविमा म २०५० सालमा कक्षा ७ मा जोडिएँ । वैशाख महिनाको अन्तिम साता वा जेठको पहिलो साता हुनुपर्छ म भर्ना हुँदा । त्यतिखेर लालपानी स्कुलमा कक्षा ७ सम्म मात्र पढाइ हुन्थ्यो । स्कुल पुग्नासाथ मैले महसुस गरेको अन्तर थियो केटा र केटी एउटै बेञ्चमा बस्ने । शायद त्यो विद्यार्थीको उचाइ अनुसार थियो वा रोल नम्बर अनुसार । म यसभन्दा अघि पढेका स्कुलहरुमा कक्षामा केटाहरुको बेग्लै र केटीहरुले बेग्लै लहर हुन्थ्यो । नयाँ ठाउँ, नयाँ साथीहरुका कारण धकाइरहेको मलाई यस्तो सिट प्लानिङले थप केही दिन असहज बनायो ।

केही दिनमा अर्धवार्षिक परीक्षा भयो । त्यसको परिणाम आउँदासम्ममा मैले कक्षाका साथीहरु र शिक्षकहरुबीच एक किसिमको छाप छोडिसकेको थिएँ । एक हिसाबले भन्ने हो भने म प्यारो भइसकेकोे थिएँ । कक्षा ८ मा गएपछि होला अझ बढी प्रभाव छोड्न सकेँ । अध्ययनका अलावा खेलकुदबाहेकका अतिरिक्त क्रियाकलापहरुमा सकेसम्म भाग लिएँ (खेलकुदमा भाग नलिनुको कारण रुचि नभएर होइन कक्षामा सबैभन्दा सानो विद्यार्थी भएकाले छनौटमा समेत पर्दिनथेँ) । हाजिरीजवाफ, वक्तृत्वकला, कथा, कविता, नाटक, नेतृत्व विकास र केही हदसम्म विद्यार्थी राजनीतिमा पनि म हेलिएँ । कक्षा ८ मा हुँदा बालकृष्ण सर कक्षा शिक्षक हुनुहुन्थ्यो । उहाँले मोनिटरका लागि चुनाव गराउनुभएको थियो । दुर्गा फुयाँल दाइ र म चुनाव उठेका थियौँ । प्रत्यक्ष मतदानमा मैले जितेँ । जित त केही समयका लागि थियो तर त्यसबाट सिकेको पाठ अहिलेसम्म पनि मलाई काम लाग्दैछ ।

लालपानी पढ्दा हामीले भाग लिएको प्रतिस्पर्धाबाट कहिल्यै पनि रित्तो हात फर्कनु परेन । हाम्रै पालामा प्रस्तावित माध्यमिक विद्यालय बनेको स्कुललाई जिल्लाका अरु स्कुलका सामू परिचित बनाउन शायद त्यसले ठूलै सहयोग गरेको हुनुपर्छ । किनकि खेलकुद वा साँस्कृतिक कार्यक्रममा हाम्रो विद्यालयले त्यतिबेला भाग लिएको वा पुरस्कार जितेको मलाई सम्झना छैन । पाँचगाछी, शरणामती, दुधे, चन्द्रगढी, अनारमनी जहाँ गयौँ, सबैतिरबाट पुरस्कार सोहोरयौँ । यसबाट हामी केही हदसम्म पुल्पुलिएका पनि थियौँ । कता कता पढाइलाई अलि कम प्राथमिकता पनि दिएका थियौँ होला । कता कता शिक्षकहरुको विश्वासलाई दुरुपयोग पनि गरेका थियौँ होला । त्यसैले शिक्षकहरुले हाम्रो हरेक प्रयासलाई कहिल्यै रोक्नु र छेक्नु भएन । त्यसको दुईवटा उदाहरण अहिले पनि ताजै छ । हामीले ‘प्रगतिपथ’ नामक भित्ते पत्रिका निकाल्ने निधो गरयौँ । त्यतिबेला प्राय क्याम्पसहरुमा मात्र भित्ते पत्रिका निस्कन्थ्यो । हामीले विद्यालयस्तमै शुरु गरेका थियौँ । शिक्षकहरु र विद्यालयले हामीलाई प्रोत्साहन गरेको थियो । अहिले म पत्रकारिता पेशामा हुँदा धेरै सहपाठीले त्यही पत्रिकालाई सम्झन्छन् तर हामीले एकलभन्दा पनि सामूहिक प्रयासमा पत्रिका शुरु गरेका थियौँ ।

दोस्रो उदाहरण, कक्षा ९ को परीक्षा सकेर कक्षा १० को पढाइ शुरु हुनु बीचको अवधिमा हामीले करिब एक महिना रिहर्सल गरेर नाटक देखाउने निर्णय ग¥यौँ । करिब २० जना सहपाठी भेला पारेर, आफैँ कलाकार, आफैँ निर्देशक, आफैँ आयोजक भएर हामीले नाटक देखाएका थियौँ । मञ्च बनाउन स्कुल वरपरका घरबाट खाट ल्याएका थियौँ । दर्शक तान्न सुरुङ्गा बजारबाट रिक्सा र माइक भाडामा ल्याएर आफैँ माइकिङ गरेका थियौँ । नाटकमा सीता घिमिरे, लीलाबहादुर कार्की र कमल उप्रेतीको अभिनय अहिले पनि सम्झँदा सजीव लाग्छन् । नाटक राम्रो नराम्रो भन्दा पनि त्यो भर्खरै शैक्षिक केन्द्र बन्दै गरेको लालपानीमा नौलो प्रयोग थियो । विद्यालयको लागि एउटा प्रयास थियो । हाम्रो लागि एउटा दुस्साहस थियो । यसमा पनि शिक्षक र विद्यालयबाट कुनै छेकबार भएन । बरु हौसला पायौँ ।
लालपानी स्कुलमा अर्को राम्रो अभ्यास सरस्वती पूजा मनाउने तरिका थियो । विद्यार्थीहरुकै अध्यक्षतामा हरेक वर्ष आयोजक समिति बनाउने त्यो समितिले पूजाका लागि बजेट बनाउने, सहयोग संकलन गर्ने, कार्यक्रम चलाउने, अतिथिहरु बोलाउने, आवश्यक सामग्री जुटाउने गर्नुपथ्र्यो । यसले नेतृत्व विकासमा एकदमै सहयोग गरेको मेरो धारणा छ । यस्तै, जुनियर रेडक्रस सर्कलको माध्यमबाट विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गर्दथ्यौँ । यिनै अनुभवका कारणले होला मलाई अहिले जति ठूलो, जति विशाल कार्यक्रम आयोजना गर्न र आफ्ना कुरा प्रष्टरुपमा राख्न कुनै धक लाग्दैन ।

आफू पढेको विद्यालयको सम्झना सबैलाई गाढा लाग्छ । मैले लालपानी माविबाट एउटा पढाइको एउटा तह त पार गरेँ नै, यससँगै पढाइबाहेकको संसारमा पनि विचरण गर्ने मौका पाएँ । नेतृत्व विकासको अवसर पाएँ । कक्षा ८ मा पढ्दापढ्दै मलाई बोर्डिङ स्कुलमा निशुल्क पढ्ने प्रस्ताव पनि नआएको होइन । अहिले कमजोर अंग्रेजीका कारण गोता खानु पर्दा कतै बोर्डिङ नगएर गल्ती पो गरिएछ कि कताकता लाग्छ । तर अर्को मनले भन्छ बोर्डिङ गएको भए अंग्रेजी त राम्रो बन्थ्यो होला तर समग्रमा विषयवस्तुको विश्लेषण गर्ने यस्तो ज्ञान पो प्राप्त हुँदैनथ्यो कि ? लालपानीमै पनि शिक्षकहरुले हामीलाई पढाइबाहेक यताउती नलाग्नु भनेर कडा निर्देशन जारी गर्न सक्थे । त्यसो भएको भए हामीले हरेक विषयमा विशिष्ट श्रेणीको अंक ल्याउन सक्थ्यौँ होला तर जीवन जीउन त पढाइमा मात्र ल्याएको श्रेष्ठताले नपुग्दो रहेछ ।

विद्यालयबाट हामीले धेरै पायौँ तर दिन केही सकेका छैनौँ । विद्यालय, शिक्षकले भौतिकरुपमा हामीबाट त्यस्तो अपेक्षा गरेको होला जस्तो पनि लाग्दैन । हामी त्यस विद्यालयका हरेक विद्यार्थीहरु आ–आफ्नो ठाउँमा सफल र सन्तुष्ट हुन सक्यौँ भने शायद त्यही नै विद्यालय र शिक्षकहरुका लागि अमूल्य उपहार हुन सक्ला ।

(लालपानी मावि शिवगन्ज, झापाको स्वर्ण महोत्सव स्मारिकामा प्रकाशित)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक