बुधबार, असार ४ २०७६ | Wed, June 19, 2019
नेपालको समय: २३:०१ | UK Time: 18:16

छाती किन दुख्छ ? बेलैमा सचेत होऔं

विकलचन्द्र आचार्य 
२०७५ फागुन ५ गते १०:४१

लेखक आचार्य

बेलायती स्वास्थ्य सेवाले प्रत्येक मानिसले आफ्नो रक्तचाप र कोलेस्ट्रोलको नम्बर आफ्नो बैंक खाताको पिन नम्बर जस्तो जान्नुपर्ने नयाँ सुझाब दिएको छ । रक्तचाप र कोलेस्ट्रोलको बारेको जानाकारीले र स्वास्थ्यकर जीवनशैलीले जीबन बचाउन सक्ने कुरा पनि जनाइएको छ । रक्तचाप र कोलेस्ट्रोलको नम्बरले कार्डियोभास्कुलर रोग (CVD)को शुरुवाती लक्ष्यणहरु देखिन सक्नेछ । जसलेगर्दा हृदयाघात र स्ट्रोकको जोखिम कम गर्न सहयोग पुग्नेछ ।

कार्डियोभास्कुलर रोग बेलायतको सबैभन्दा बढी मान्छे मर्ने रोग हो । पब्लिक हेल्थ इंग्ल्यान्डको तथ्यांकले प्रत्येक चार मिनेटमा एक जना मानिस कार्डियोभास्कुलर रोगले इंग्ल्यान्डमा मर्ने बताएको छ । खराब मुटु र आर्टरी रोगले हार्ट फेलियर, मृगौला रोग, आर्टिरियल रोग तथा भास्कुलर डिमेन्सियाको रोग लाग्न सक्छ । आफ्नो डाक्टर (जीपी सर्जरी ) कहाँ गएर रक्तचाप र कोलेस्ट्रोलको जांच गरि जनाकारी लिन सकिन्छ ।

यस्तै सन् ७० र ८० को दसकमा धेरै मान्छेहरु अस्पताल नै नगई अकालमा हृदयाघातबाट मरेपछि बेलायतका सरकारी र गैर सरकारी संस्थाहरुले “छाती दुखेको बेवास्ता नगरौ” भनि धेरै नै बिज्ञापन गरि मानिसहरुलाई अस्पतालमा जान उक्साहित गरेका थिए । धेरै मानिसहरुलाई मुटुरोगबारे न्यूनतम ज्ञान नभएर जोखिममा रहेको अवस्था थियो । यस्ता सन्देशमुलक बिज्ञापनको अभ्यासले हालैका दिनमा आएर मानिसमा चेतनाको अभिबृदी धेरै भएको छ तरपनि अझै कयौ मानिसहरु अज्ञानताको कारणले मुटुरोगबाट ज्यानै गुमाउने या पिडित हुने क्रम जारी नै छ ।

कार्डियोभास्कुलर डिजिजको माने मुटु र सञ्चार सम्बन्धी सवै रोगहरू जस्तै कोरोनरी मुटुरोग (एन्जाइना र हृदयघात) र स्ट्रोक पर्दछन् । साधारण रोगको बारे लक्षण थाह नहुनु या बेवास्ता गर्नु अनि अस्पताल जान संकोच मान्नु यी दुवै कारणले अझैपनि धेरै मानिसहरु जोखिममा बाचिरहेका हुन सक्छन् । त्यसैले न्युनतम स्वास्थ्यको ज्ञानले कोरोनरी मुटुरोगबाट बच्न या साबधान हुन महत्वपूर्ण भूमिका खेल्न सक्छ |

छाती किन दुख्छ ?

मुटुले हाम्रो शरीर भरि रक्तसंचार गर्दछ । यद्यपी मुटुआफैलाई पनि रगतको आपूर्ति गर्दछ । यो बिशेष प्रकारको रक्त संचार प्रणालीलाई कोरोनरि आर्टरी भनिन्छ । कोरोनरी आर्टरीहरूको काम मुटुको मांसपेशीलाई रगत र अक्सिजन आपूर्ति गर्नु हो । यहाँ दुईवटा शाखाहरू हुन्छन् जुन मुटुको सतहमा रहन्छ र ३–४ मिलिमिटर  फराकिलो हुन्छ ।

कोरोनरी मुटु रोग तब हुन्छ जब कोरोनरी आर्टरीहरूका भित्ताहरूमा विस्तारै  बोसो जम्मा भइ रगत आपूर्ति गर्न साँघुरो हुन्छ । यो अवस्थालाई आर्थोलोसेर्लेसिस भनिन्छ र बोसो जम्मा भएकोलाइ आर्थोरोमा  भनिन्छ ।

मुटु हाम्रो छातीको बिच भागमा हुन्छ । मुटुको पुछार पट्टिको अन्तिम भाग अलिकति देब्रे तिर फैलिएको हुन्छ । बिस्तारै बोसो जमेर आर्टरी यति साँघुरो बन्छ कि यसले चाहिएको बेलामा मुटुको मांसपेसीमा अक्सिजनयुक्त रगत  (जस्तो व्यायाम गर्दामा) पठाउन सक्दैन । यस्तो अवस्थामा मुटुमा पीडा हुन्छ जुन दुखाइ छातीको बिच भागमा पर्छ । यस्तो दुखाइ वा असजिलो हुनुको कारणलाई एन्जाइना भनिन्छ ।

स्थिर एन्जाइना र अस्थिर एन्जाइना  दुई प्रकारको हुन्छ । धेरै मान्छेहरूलाई स्थिर एन्जाइना हुन्छ  ।  यो खास गरी व्यायाम गर्दा आउने हुन्छ । यसलाई औषधिले नियन्त्रण गरिन्छ ।

अस्थिर एन्जाइना चाहिँ एन्जाइना जुन भर्खर मात्र पहिलो चोटि विकास भएको वा एन्जाइना जुन पहिले स्थिर भएको तर हालैमा खराव भएको अथवा लक्षण परिवर्तन हुने हो । उदाहरणको लागि एन्जाइनाको दुखाइ पहिले भन्दा धेरै कम व्यायाम गर्दा वा पहिला भन्दा कम चिन्तामा अथवा त्यसै बसिरहेको बेलामा आउने दुखाइ हो । एन्जाइनाको दुखाइ पहिले भन्दा बढ्दै गएमा अरु  टेष्ट र उपचारको आवश्यकता पर्न सक्छ तुरुन्त डाक्टर कहा जानुपर्दछ ।

एन्जाइना हुदा छातीमा दुखाइ वा असुविधा हुन्छ । छातीको बीच भागमा गहुगो वा समातिएको जस्तो अनुभव हुन्छ । यो साधारणतया बंगारा, घाँटी पछाडि,पाखुरा,  र भुडीमा पनि सर्न सक्छ । कसैलाई पाखुरा घाँटी, पेटमा मात्रै पनि असर गर्ने हुन सक्छ । कसैलाई एन्जाइना हुँदा विस्तारै तर निरन्तर दुखिरहने हुन सक्छ । कसैलाई धेरै दुखाइ हुन्छ त कसैलाई साधारण असुविधा मात्रै हुन्छ । लक्षणहरू प्राय: १०–१५ मिनेटमा हराउँदछ ।

हृदयाघात र एन्जाइनाको दुखाइमा फरक 

जब साँघुरिएको कोरोनरी आर्टरी रगत जमेर द्वारा बन्द हुन्छ तब हृदयाघात हुन्छ । हृदयाघातको दुखाइ कहिलेकाहिँ एन्जाइना भन्दा बढी हुन्छ र धेरै समयसम्म भइरहने अनि आराम गर्दा पनि कम नहुने हुन सक्छ । हृदयाघात हुँदा पसिना आउने या विरामी अनुभव पनि गर्ने, वान्ता आउने हुन सक्छ । नाइट्रेट औषधी या जी टि एन स्प्रेले एन्जाइनालाई कम गर्न सक्छ तर हृदयाघातको दुखाइलाई कम नगर्न सक्छ । असाधारण अपचका लक्षणहरू देखिए पछि जुन औषधी खाए पनि केही समयमा ठिक नभएमा हृदयाघात भएको हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त अस्पताल जानु पर्दछ । याद गरौ समय महत्वपुर्ण हुन्छ ।

जब कसैलाई छाती लगातार दुखिरहन्छ या छातीमा असुविधा हुन्छ जुन मुटुबाट आएको ठानिन्छ तब डाक्टर र नर्सहरूलाई हृदयाघात भएको या अस्थिर एन्जाइना भएको भनेर छुट्याउन गाह्रो पर्दछ । अनि डाक्टरले उक्त बिरामीलाई एक्युट कोरोनरी सिन्ड्रोम  भएको भन्न सक्दछन् । एक्युटको माने चर्को अनि सिन्ड्रोम भनेको लक्षणहरू एक साथ हुने र कोरोनरी भनेको कोरोनरी आर्टरीमा हुने भन्ने हो ।

छाती दुख्ने अरु कारणहरु-

छाती दुख्ने प्राय: कारण कोरोनरी आर्टरीहरू साँधुरिएर हो । तर सबै छाती दुखाइ वा असुविधा मुटुसँग सम्बन्धित हुँदैन । छोटो चर्को छाती दुखाइ प्राय मांशपेशीय दुखाइ हुनसक्छ । कोही मान्छेहरूलाई चिन्ताले भावविव्हल हुँदा देव्रे स्तनमुनि विस्तारै लगातार दुखिरहने पनि हुन सक्छ । अपच वा ग्यास्ट्रिकले पनि छातीको बीच भागमा दुख्ने कारण बन्न सक्छ तर साधारणतया यो व्यायाम भन्दा खानासँग सम्बन्धित हुन्छ । हिमोग्लोबिन धेरै कम भएर (anemia) पनि छाती दुख्ने हुन सक्छ  ।

कोरोनरी मुटुरोग बाहेक अरु कारणहरुले पनि एन्जाइना हुनसक्छ।  भेरीयन्ट एन्जाइना र कार्डिक सिन्ड्रोम एक्स भन्ने दुइ किसिमको एन्जाइना हुन्छन । यिनीहरुको लक्षण  कोरोनोरि मुटुरोगका एन्जाइनाहरु जस्तै हुन्छन । त्यसैले छाती दुख्ने, कुनबेला दुख्ने, कस्तो दुखाइबारे आफ्नो डाक्टरलाई भन्नु पर्छ।

मुटुको मांसपेशीमा अचानक रगत र अक्सिजनको कमीले भेरीयन्ट एन्जाइना आउन सक्छ। यसबाट ह्र्दयाघात हुने सम्भावना न्युन रहन्छ । यसलाई प्रिन्जमेटल्स एन्जाइना वा कोरोनरि आर्टरी स्पाजम पनि भनिन्छ। कार्डिक सिन्ड्रोम एक्स चाहि महिलाहरुमा ओयस्ट्रोजिन  भन्ने हर्मोनको  लेभल कम भएर हुन सक्छ।   केहि महिलाहरुमा महिनावारी हुदामा कार्डिक सिन्ड्रोम एक्सको अनुभव हुन सक्छ। ओयस्ट्रोजिनले रक्त कोषिकालाई सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।

यदि तपाईको छाती छाम्दा नरम अनि दुख्छ भने छातीको मांशपेशीको तनावले हुन सक्छ ।

यदि छातीको करङमा दुखेको, सुनिएको र नरम छ भने खोक्दा, गहिरो श्वास फेर्दा, हाछियु गर्दा छाती दुख्ने पनि हुन सक्छ । यस्तो अबस्थालाई कोस्टोचोंन्ड्रीटिस (costochondritis) भनिन्छ ।

यदि श्वास फेर्दा तिखो छाति दुख्छ भने अनि कफ र श्वास फेर्न गाह्रो भएमा फोक्सोको कारणले हुन सक्छ । निमोनिया र प्लेउरिसेको कारणले पनि दुखाइ हुन सक्छ ।

छाती दुख्नुकोको अरु कारणहरुमा ब्याक्टेरियाको संक्रमण, स्तनमा दुख्नु र सुन्निनु, पेटको अल्सर, मुटुबाट फोक्सोमा रगत लैजाने नली बन्द हुनु (जसलाई पुल्मोनरी एम्बोलिज्म भनिन्छ) आदिले हुन सक्छ ।

जानौं र मनन गरौं- 

यदि तपाईलाई छाती दुखेको छ भने डाक्टरसँग सल्लाह लिनु महत्त्वपूर्ण हुन्छ । कोरोनरी मुटुरोगका जोखिमका तत्वहरु जस्तै उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, आफ्नो रगतको नातामा जस्तै बाबु, आमा, मामा, फुपु आदिलाई मुटुरोग, धुमपान गर्ने, बढी वजन, मधुमेह, शारीरिक निस्कृयता भएका  व्यक्तिहरुले खासमा छाति दुखेको बेवास्ता गर्नु हुदैन । हृदयाघात भइरहेको व्यक्ति सहि समयमा अस्पताल पुग्न सके जीबन बच्ने अधिक सम्भावना हुन्छ ।

मधुमेय भएको मान्छेलाई हृदयाघात भएको भनेर पत्ता लगाउन अलि गाह्रो पर्दछ । उदारणको लागि नदुख्नु तर साधारण अनुभवमा विरामी जस्तो ठान्नु या पसिना आउनु हृदयाघातका लक्षणहरू हुन् तर मधुमेय भएका मान्छेहरूलाई यी लक्षणहरू हाइपो सँग झुक्किने  हुन सक्दछन् । हाइपो तव हुन्छ जब रगतमा ग्लुकोजको मात्रा धेरै कममा झर्दछ । यस्तो भएमा यसको उपचारको निम्ति ग्लुकोज ट्याबलेट   या गुलियो पेय पदार्थ अनि कार्वोहाइड्रेड जस्तै एक वटुका सिरियल ,डाइजेस्टिभ बिस्कुट जस्ता खानुपर्दछ ।

हाइपो भएको नहुन सक्छ र हृदयाघात भइरहेको हुनसक्छ । यस्तो भएमा तुरुन्त एम्बुलेन्स बोलाउनु पर्दछ ।

गर्न सकिने कुराहरु 

कोरोनरी मुटुरोगका मुख्य जोखिम माथि ध्यान दिऔं ।  एउटा सानो जीबनशैली परिबर्तनले भविष्यमा मुटुरोगबाट बच्न या साबधान हुन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

आफ्नो परिवारमा पुरुषलाई ५५ वर्ष भन्दा पहिला र महिलामा ६५ वर्ष भन्दा पहिले हृदयाघात या एन्जाइना भएमा तपाइलाई पनि  रक्त नलीमा चिल्लो जामा हुने क्रमको (आर्थोलोसेर्लेसिस) विकास हुने सम्भावना हुन सक्दछ । यसबारेमा समयमा ध्यान पुर्याउनु पर्दछ ।

कोरोनरी मुटुरोगकालाई रोकथाम या साबधान गर्नलाई तलका विभिन्न कुराहरू मनन गर्न सक्नुहुन्छ –

  • धूमपान गर्नुहुन्छ भने छाडौं । मदिरा सेवन कम गरौं ।
  • फलफूल र सब्जी बढी खाऔं । नियमित तेलयुक्त माछा खाऔं ।
  • दिनमा ६ ग्राम भन्दा कम नून साथै जनाबारबाट पाइने चिल्लो कम खाऔं ।
  • आफ्नो वजन नियन्त्रण गरौं । शारीरिक रूपमा क्रियाशिल होऔं र चिन्तालाई समयमा कम गरौँ ।
  • आफ्नो कोलेस्ट्रोल, रक्तचाप, रगतमा चिनीको लेभल थाह पाऔँ र त्यहि अनुसार जीबनशैली बदलौ र जरुरी परे डाक्टरलाई भेटौं ।

(आचार्य कोरोनरी मुटुरोग २०१० पुस्तकका लेखक हुन् )

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक