नेपालका विश्वविद्यालयहरुलाई यौन दुर्व्यवहारबारे नीति बनाउन बेलायतका प्राज्ञको सुझाव

लण्डन । बेलायतस्थित ब्रिटेन नेपाल प्रज्ञा परिषद्ले नेपालका विश्वविद्यालयहरुलाई यौन दुर्व्यवहार र दुराचारका बारेमा छानबिन, कारबाही र कानुनी उपचारको आफ्नै नीति बनाउन अनुराेध गरेको छ ।

परिषद्ले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै त्रिभुवन विश्वविद्यालयका एक सेवानिवृत्त प्राध्यापकले यौन दुर्व्यबहार गरेको भनी लागेको आरोपका बारेमा हालसम्म कुनै छानबिन नभएको र यसबारेमा आवश्यक कारबाही गर्न विश्वविद्यालयसित कुनै प्रक्रिया नभएकोमा चिन्ता व्यक्त गर्दै सो धारणा बाहिर ल्याएको हो ।

परिषद्ले सबै नेपाली विश्वविद्यालयहरुलाई स्पष्ट व्यवस्थाहित यौन दुर्व्यबहार र दुराचरणसम्बन्धी नीति बनाइ लागू गर्न अनुरोध गरेकाे छ । परिषद्ले यस्ता आरोपहरुको स्पष्ट र पारदर्शी छानबिनको व्यवस्था गर्न, पर्याप्त विभायीय कारबाहीको व्यवस्था गर्न र उचित कानुनी उपचारको व्यवस्था गर्न पनि माग गरेको छ ।

केही हप्ताअघि नेपालबाट प्रकाशन हुने काठमाडौ पोष्ट दैनिकमा त्रिविविका एक प्राध्यापकले यौन दुर्व्यबहार गरेको समाचार छापिएको थियो । सो समाचारका बारेमा सोधिएको प्रश्नमा त्रिविविका उपकुलपतिले त्रिविविसित यस्ता घटनाका बारेमा कारबाही गर्न उचित व्यवस्था नरहेको बताएका थिए ।

परिषद्ले यस्ता घटनामा राज्यको प्रचलित कानुनअनुसार गर्ने उपचारको व्यवस्थामा मात्र पूर्ण भर नपरी आफ्नै संस्थागत व्यवस्था गर्न पनि त्रिविवि र सम्पूर्ण विश्वविद्यालयहरूलाई अनुरोध गरेको छ ।

आफ्ना विद्यार्थी र कर्मचारीहरूको उचित हेरचाह गर्नु विश्वविद्यालयहरूको कर्तव्य भएको र पढ्ने र काम गर्ने सुरक्षित वातावरणको प्रत्याभूति दिनु पनि विश्वविद्यालयको कर्तव्यभित्र पर्न आउने परिषद्को ठहर छ । यसरी आचारसंहिताको व्यवस्था गर्दा पीडितहरूलाई आफूमाथि हुने कुनै पनि अस्वीकार्य र गैरकानुनी व्यवहारको विरुद्धमा बोल्न र उजुरी गर्न हौसला मिल्ने र समग्र देशमा नै महिलाविरुद्ध हुने हिंसालगायत लैङ्गिक हिंसा बढिरहेको, तथा दण्डहीनता पनि मौलाउँदै गएकोजस्तो देखिएको अहिलेको परिवेशमा यस्तो नीतिगत व्यवस्था हुँदा विश्वविद्यालयलाई यस्ता विषयमा नैतिक नेतृत्व लिन आधार मिल्ने परिषदको विश्वास छ ।

विज्ञप्ति जारी गर्नेहरुमा डा. कृष्ण अधिकारी, अध्यक्ष (नेपाल अध्ययन केन्द्र, बेलायत/ अक्सफोर्ड विश्वविद्यालय), डा. पुनम यादव, महासचिव (युसीएल, लण्डन विश्वविद्यालय), डा. फेर्जर सगडेन्, कोषाध्यक्ष (बर्मिङघाम विश्वविद्यालय), प्रा. डेविड गेल्नर (अक्सफोर्ड विश्वविद्यालय), प्रा. माइकल हट (सोआस्, लण्डन विश्वविद्यालय), डा. बेन क्याम्पबेल (डरहम विश्वविद्यालय), प्रा. सोन्ड्रा हाउसनर (अक्सफोर्ड विश्वविद्यालय), डा. फेजी इस्माइल (सोआस्, लण्डन विश्वविद्यालय), प्रेमिला भान ओमन (आर्ट्स लण्डन विश्वविद्यालय), डा. सारा पार्कर (लिभरपुल जोन मोर विश्वविद्यालय), डा. स्टेफनी लोटर (सोआस्, लण्डन विश्वविद्यालय), डा. कल्याण भण्डारी (वेष्ट अभ् स्कटल्याण्ड विश्वविद्यालय), डा. तेजेन्द्र फेराली (युसीएल, लण्डन विश्वविद्यालय), प्रा. एडविन भान तेज्लिङ्गेन् (बोर्नमाउथ विश्वविद्यालय) लगायत छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री