शेर्पा ल्होसारमा राजदूतले भने ‘अर्को वर्ष शेर्पा पोशाकमा आउँछु’

लण्डन । शेर्पा जातिले मनाउने ग्याल्पो ल्होसार बेलायतमा पनि मनाइएको छ । शेर्पा संघ बेलायतले फेल्थम कम्युनिटी सेन्टरमा शनिबार आयोजना गरेको २१४६ औँ ग्याल्पो ल्होसारको बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदीले उद्घाटन गरे ।
संघका अध्यक्ष साना शेर्पाको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै राजदूत सुवेदीले ग्याल्पो ल्होसार शेर्पा जातिको मात्र नभएर नेपालीहरुकै चाड भएको बताए । उनले अर्को वर्ष शेर्पा जातिहरु मात्र नभएर सबै नेपालीहरु मिलेर ग्याल्पो ल्होसार मनाउन पनि सुझाव दिए । उनले भने, –‘अर्को वर्ष म पनि शेर्पा भेषभूषामै आउनेछु ।’

उनले नेपाली भाषा र दौरा सुरुवाल मात्र नेपाली भाषा, पोशाक नभएको प्रष्ट पार्दै नेपालभित्र बोलिने सबै जातजातिका भाषा र पोशाक नेपाली भएको बताए । नेपाललाई विश्वमा चिनाउने तीन चीजहरु सगरमाथा, गोरखा र शेर्पा रहेको बताए । कार्यक्रममा संघका अध्यक्ष साना शेर्पाले शेर्पाहरु बेलायतमा अहिले संगठित हुँदै करिब ५०० को हाराहारीमा आवद्ध भएको बताए ।

कार्यक्रममा संघका आजिवन सदस्यहरु, यसैवर्ष उच्च शिक्षा हासिल गर्नेहरु, ल्होसार कार्यक्रममा सहयोग गर्नेहरुलाई प्रमुख अतिथि डा. सुवेदीले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यस्तै, शेर्पाहरुको परम्परागत गीत र नृत्यहरु प्रस्तुत गरिनुका साथै शेर्पा परिकारहरु पनि सो अवसरमा वितरण गरिएको थियो । कार्यक्रमलाई पीपल मोर्गेजले ५०० पाउण्ड सहयोग गरेको थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष जंग सुनुवार, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, तमुधिँ युकेका अध्यक्ष नन्दजंग गुरुङ, मगर संघ युकेका अध्यक्ष नेम थापा, बुद्धिष्ट कम्युनिटी सेन्टर युकेका अध्यक्ष नरेश गुरुङ, सुनुवार सेवा समाजका अध्यक्ष यादवकुमार तुर्सुचा, याख्खा समाजकी विष्णु देवान, किरात राई यायोख्याका मिलनचन्द्र राई, बिसिसी युकेका पूर्व अध्यक्ष काजी शेर्पा लगायतको उपस्थिति थियो ।

औपचारिक कार्यक्रम महासचिव रिञ्जी शेर्पाले संचालन गरेका थिए भने युवाहरुले साँस्कृतिक कार्यक्रम चलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री