बेलायतमा निशुल्क स्वास्थ्य शिविर, नेपाली चिकित्सक र नर्ससंग परामर्श

लन्डन । बेलायतस्थित नेपाली चिकित्सक र नर्सहरुले 
संयुक्त रुपमा स्वास्थ्य परिक्षण, सचेतना तथा परामर्श कार्यक्रम गरेका छन् । नेपलिज डक्टर्स एसोसिएसन यूके (एनडिए यूके) र नेपलिज नर्सिङ एसोसिएसन यूके (एनएनए यूके) ले गत १६ फेब्रुअरी शनिबार कोलचेस्टरमा उक्त कार्यक्रम गरेका हुन् । सो अवसरमा स्थानीय नेपाली समुदायको स्वास्थ्य परिक्षण गरि विभिन्न परामर्श दिइयो । कार्यक्रममा विशेषगरि भूतपूर्व ब्रिटिश गोर्खाहरुको बाहुल्यता थियो ।

उक्त कार्यक्रम उद्घाटन एनडिए अध्यक्ष एवं कन्सल्टेन्ट न्यूरोसर्जन डा. सविनमान जोशी, एनडिए पूर्व अध्यक्ष तथा कन्सल्टेन्ट साइक्याट्रिष्ट डा. चुडा कार्कीले पानसमा दीप प्रज्वलन गरि गरेका थिए । उद्घाटनमा कोलचेस्टर नेपलिज सोसाइटी अध्यक्ष उदयबहादुर गुरुङ र एनएनए महासचिव रस्मिता दर्लामी पनि सामेल रहे ।

उक्त अवसरमा स्वागत मन्तव्य दिंदै एनडिए महासचिव, कार्यक्रम संयोजक तथा कन्सल्टेन्ट जनरल सर्जन डा. कमल अर्यालले नेपाली समुदायमा स्वास्थ्य सचेतना, 
रोगबारे जानकारी र निशुल्क परिक्षण कार्यक्रमको उद्देश्य भएको अवगत गराए । डा. अर्यालका अनुसार, पहिलो सत्रमा सचेतना तथा दोश्रो सत्रमा विशेषज्ञहरुबाट स्वास्थ्य परिक्षण र परामर्श दिइएको थियो । नेपाली चिकित्सक र नर्सहरुसंग आफ्नै भाषामा अन्तरक्रिया एवं परिक्षण भएकाले नेपाली समुदाय लाभान्वित भएको महासचिव डा. अर्यालले जनाए ।

स्वास्थ्य सचेतनामा करि एकसय ५० जना सहभागी भए भने विशेषज्ञहरुबाट ८७ जनाले स्वास्थ्य परिक्षण तथा परामर्श लिए । सहभागीले विशेषगरि ब्लड प्रेसर, डायबेटिज र मुटु रोग सम्बन्धि जिज्ञासा राखेका थिए । यस अलवा दन्त सेवा, छातीको समस्या, मानसिक स्वास्थ्य, महिलामा हुने क्यान्सर, एनएचएस सेवा लिने तरिका र कुनै स्वास्थ्य समस्या आइपरे इमरजेन्सीमा 
अपनाउनुपर्ने सावधानीबारे पनि छलफल गरिएको थियो ।

कार्यक्रममा यती नेपाली एसोसिएसन यूकेका पूर्व अध्यक्ष तथा जनरल प्राक्टिसनर (जिपी) डाक्टर राघवप्रसाद धिताल (ओबिइ) ले सन्तुलित भोजन, नुन र चिनी कम सेवन तथा नियमित व्यायामले मानिस स्वास्थ्य रहने बताए । डा. धितालले पछिल्लो वर्ष बेलायतमा नेपाली जनसंख्या बढिरहेको उल्लेख गर्दै उनीहरुलाई ‘एनएचएस’ सुविधा कसरी लिने भन्नेबारे असहज भइरहेको बताए ।

एनडिए र एनएनएले आपसी सहकार्यमा यस्ता कार्यक्रम बेलायतमा वर्षेनी गर्दै आएका छन् । यसअघि नेपाली उल्लेख्य रहेका शहर क्याट्रिक र फार्नबोरोमा समेत स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री