बेलायतले नेपालको विकासमा सहयोग बढाउने

Khatiwoda

लन्डनस्थित नेपाली दूतावासमा भएको विकास सम्मेलनमा अर्थमन्त्री खतिवडा । तस्विर- एभरेष्ट गौतम

लन्डन – बेलायतको भ्रमणमा रहनुभएका अर्थमन्त्री डा युवराज खतिवडासँग बेलायतको हाउस अफ लर्डसका सदस्य तथा अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री लर्ड बेट्सले नेपालको विकास बारेमा चासो व्यक्त गर्नुभएको छ ।

नेपालमा बेलायती लगानी भित्र्याउने प्रयासमा उक्त देशको भ्रमणमा रहनुभएका उहाँसँग आज हाउस अफ कमन्समा भएको भेटमा राज्यमन्त्री बेट्सले २०७२ सालको भूकम्पपछिको पुनःनिर्माण, सङ्घीयता कार्यान्वयन र विकासको बारेमा जिज्ञासा राख्नुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

जवाफमा मन्त्री खतिवडाले संविधानसभाबाट जारी भएको लोकतान्त्रिक संविधान विश्वमै उत्कृष्ट मध्येको एक भएको बताउँदै समावेशीताको अभ्यास भइरहेको बताउनुभयो । नेपालको संसद्मा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम तथा सीमान्तकृत समुदायको एक तिहाइभन्दा बढीको प्रतिनिधित्व रहेको जानकारी दिनुभयो ।

नेपालको विकास प्रक्रियामा बेलायतले सदैव सघाउने प्रतिबद्धता राज्यमन्त्री बेट्सले व्यक्त गर्नुभयो । अर्थमन्त्रीले बेलायतका दुई दर्जनभन्दा बढि कम्पनीका व्यवसायी तथा लगानीकर्ताहरुसँग आजै छलफल गरी नेपालमा लगानीको अवसर, वातावरण र प्रतिफल सुनिश्चित रहेको स्पष्ट पार्नुभएको उक्त मन्त्रालयले जनाएको छ ।

आगामी चैत १५ र १६ गते नेपालमा आयोजना हुने लगानी सम्मेलनमा सक्रिया सहभागिताका निम्ति मन्त्री खतिवडाले उद्यमीहरुलाई आग्रह पनि गर्नुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री