लन्डन दूतावासमा लगानी सम्मेलन, ब्रिटिश लगानीकर्तालाई लगानी गर्न आव्हान

लन्डन । बेलायत भ्रमणमा रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानीको वातावरण सुरक्षित र मुनाफा सुनिश्चित रहेकाले ढुक्क भएर लगानी गर्न आउन ब्रिटिश लगानीकर्ताहरुलाई आव्हान गरेका छन् ।

लण्डनस्थित नेपाली दूतावासमा शुक्रबार आयोजित नेपाल विकास सम्मेलनको पांचौं संस्करणमा ‘नेपालमा लगानीका 
सम्भावना’ विषयक अन्तरकृयालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको अर्थतन्त्र एउटा बलियो जगमा उभिएको बताएको जनाउंदै यो वर्ष झण्डै ७ 
प्रतिशतको आर्थिक वृद्धि हुने अपेक्षा व्यक्त गरे । उनले लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउंदै निजी सरकारी साझेदारीसम्बन्धी कानुन संसदको यसै सत्रबाट पारित हुने विश्वास पनि व्यक्त गरे ।

मन्त्री खतिवडाले लगानीकर्ताहरुलाई सबै सुविधा एकै थलोबाट 
प्राप्त होस् भन्ने उद्देश्यले सरकारले एकद्वार प्रणाली सम्बन्धी 
निर्देशिका जारी गरिसकेको र आउंदो महिनाभित्रै सो प्रणाली कार्यान्वयनमा आउने पनि बताए ।

नेपाल सरकारले आउंदो १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको मन्त्रीले बताए । त्यस्तै १७ हजार किलोमिटर सडक, २ हजार किलोमिटर रेलवे लाइन, दूरसन्चार, 
बैंकिङ, खनिज उत्खनन जस्ता क्षेत्रमा विदेशी पंूजी र प्रविधि चाहिएको उनले बताए । उनले दश लाख पर्यटक भित्रयाउने लक्ष्य नेपालले हासिल गरिसकेको तर अब त्यसलाई बढाएर आउंदो ५ वर्षमा ५ लाख तथा १० वर्षमा १० लाख पर्यटक भित्रयाउने लक्ष्य लिएर अघि बढ्नुपर्ने उनले बताए ।

विदेशी लगानीकर्ताहरुले नेपालमा कर तिर्ने र रोजगारी सिर्जना गर्ने भएकाले नेपालले विदेशी लगानी भित्रयाउन चाहेको बताउंदै यसकालागि सरकारले यही मार्च अन्त्यमा काठमाडौंमा नेपाल लगानी सम्मेलन आयोजना गर्न लागेको मन्त्री खतिवडाले बताए । उनले नेपालमा कार्यरत विदेशी लगानीकर्ताहरुले लगानीको शतप्रतिशतसम्म मुनाफा आर्जन गरिरहेको बताउंदै त्यस्तो लगानी अन्यत्र पाउन नसकिने दावी पनि गरे । मन्त्री खतिवडाले ब्रिटेनसंग दोहोरो कर हटाउने सम्बन्धी सम्झौता गर्ने सिलसिलामा वार्ता भइरहेको जानकारी दिए । उनले शुक्रबार नै लण्डन स्कुल अफ इकोनोमिक्समा संघीयतासम्बन्धमा नेपालको अनुभवबारे प्रवचन पनि दिएका थिए ।

सो अवसरमा बोल्दै ब्रिटिश संसदको ‘अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपाल’ का उपाध्यक्ष तथा हाउस अफ लर्डसका सदस्य लर्ड शेखले सन् २०१७, १८ मा ब्रिटेनले डिएफआइडी मार्फत नेपालकालागि ९२ मिलियन पाउण्ड विकास सहायता उपलब्ध गराएको जनाउंदै नेपालमा विकासका प्रचुर सम्भावना रहेको बताए । भारत तथा चीनको बीचमा रहेको नेपालमा लगानी गरेर ती दुई विशाल बजारहरुमा पहुंच पाउन सजिलो हुने पनि उनले जनाए ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालले खुला, उदार अर्थनीति अपनाएको बताउंदै गैरआवासीय नेपालीहरु लगायत ब्रिटिश लगानीकर्ताहरुलाई नेपालमा सूचना प्रविधि, बायोटेक्नोलोजी, विद्युत तथा पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

‘डुइङ विजनेश इन नेपाल’ नामक छलफल सत्रमा बोल्दै गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले संसारका ८० मुलुकमा संघको शाखा रहेको र संसारभरि फैलिएका नेपालीहरुले व्यक्तिगत तथा सामूहिकरुपमा नेपालमा लगानी गरिरहेको बताए । उनले नेपालमा आर्थिकमात्रै नभएर बौद्धिक लगानी भित्रयाउन पनि संघले काम गरिरहेको बताउंदै नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताहरुसंग हातेमालो गर्न संघ तयार रहेको पनि बताए । उनले लगानी गर्ने वातावरण सहज बनाउन अर्थमन्त्रीलाई आग्रह पनि गरे ।

डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा प्रमुख कार्यकारी टिम गोचरले आफ्नो कम्पनीले ब्रिटिश तथा अन्य लगानीकर्ताहरुबाट रकम संकलन गरी नेपालमा ९ वटा परियोजना संचालन गरिरहेको र झण्डै चारहजार मानिसलाई रोजगारी दिएको बताए । नेपालमा काम गर्दा कयौं सरकारी अधिकारी तथा नेताहरुलाई भेट्न जानुपर्ने, प्रशासनिक झन्झट आदि कायमै रहेको तर यस्ता व्यवधानका बावजुद आफ्नो कम्पनीले शतप्रतिशतभन्दा बढी मुनाफा हासिल गरेको बताए ।

ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजन कंडेलले नेपाल लगानीका लागि खुला रहेको, प्रतिष्पर्धा न्यून रहेको र उच्च मुनाफाका अवसरहरु रहेको बताए । उनले विदेशी लगानीकर्ताहरुलाई नेपाली साझेदारहरुसंग मिलेर काम गर्दा सजिलो हुने सुझाव पनि दिए । छलफल सत्रको सञ्चालन वन टु वाच कम्पनीका प्रवन्ध निर्देशक सुमन जोशीले गरेका थिए ।

वन टु वाच कम्पनीका अर्का प्रवन्ध निर्देशक विलेम ग्रिमिन्कले नेपालले साना तथा मझौला उद्यमीहरुलाई सघाउन विशेष जोड दिनुपर्ने बताए । उनले साना तथा मझौला उद्यमीहरुको द नेदरल्याण्डसको अर्थतन्त्रमा ६५ प्रतिशत योगदान रहेको तर नेपालमा ती कम्पनीहरुको योगदान १२ प्रतिशतमात्रै रहेको बताए । त्यस्तै वन टु वाचका एकजना निर्देशक आमोद राजभण्डारीले आफ्नो कम्पनीको गतिविधिको बारेमा जानकारी दिएका थिए । वन टु वाच कम्पनीको संयोजन तथा डिएफआइडीको सहयोगमा नेपालबाट आएका १० जना युवा उद्यमीहरुले आ आफ्नो कम्पनीको बारेमा बताएका थिए ।

एरो रुट्स, बर्गर स्याक, ग्रीन रोड वेस्ट म्यानेजमेन्ट, हजुरी खाद्य उद्योग, हेल्मेट्स नेपाल, लीफ प्लस, नो चिनी, अनियन फिल्म्स, सीडल्याण्ड नेपाल तथा द मिन्ट स्टुडियोका उद्यमीहरुले आकर्षक प्रस्तुति गर्दै आफ्ना उद्यमहरुमा लगानी गर्न आव्हान पनि गरेका थिए ।

कार्यक्रममा डिएफआइडीको विकासकालागि व्यापार विभागका प्रमुख एण्ड्रयु म्याककब्री, नेपालस्थित डिएफआइडिका प्रमुख रुरिक मार्सडेन, सिडिसी ग्रुपको इन्टरमिडियरी ग्रुपका निर्देशक पियरे भ्यान हनिल्याण्ड लगायतका वक्ताहरुले नेपालमा लगानीका 
सम्भावना तथा सुधारका क्षेत्रहरुबारे बोलेका थिए ।

नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त कार्यक्रममा उल्लेख्य बेलायती तथा नेपाली व्यवसायी सहभागी थिए । अन्त्यमा सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो ।

तस्विर सौजन्य- एभरेष्ट गौतम

प्रतिक्रिया

सम्बन्धित सामाग्री