पाकिस्तानी सीमाभित्र भारतीय हवाई आक्रमण

तस्विर एएफपी

इस्लामावाद, १४ फागुन– भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा (लाइन अफ कन्ट्रोल) उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय सैनिक विमानले मङ्गलबार बिहान बिना अनुमति पाकिस्तानी सीमाभित्र आएको जानकारी दिनुभयो । उहाँले पाकिस्तानी सैनिक विमानले तत्काल उक्त क्षेत्रमा उडान भर्नासाथ भारतीय सैनिक विमान फर्किएको पनि बताउनुभयो ।

उहाँले ट्वीट गर्दै भन्नुभएको छ – भारतीय सैनिक विमानले भाग्नेक्रममा हतारमा बालाकोट नजिक केही बम खसालेको भेटिएको छ । तर यसबाट धनजनको क्षति भएको छैन ।

भारत र पाकिस्तानबीच हालैका दिनमा बढिरहेको विवादका बीच मङ्गलबार बिहान यो घटना भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

यही फेब्रुअरीको १४ तारिखमा भारत प्रशासित काश्मिरमा भएको आत्मघाती हमलामा कम्तीमा ४० जना सशस्त्र प्रहरीको ज्यान गएपछि यी दुई देशबीच तनाव उत्पन्न भएको छ ।

सो आक्रमणमा भारतले पाकिस्तानी पक्षको हात रहेको बताएको छ । तर पाकिस्तानले भने त्यो आरोपको खण्डन गर्दै आएको छ ।

मङ्गलबार बिहानको सो विमान पाकिस्तानको मुजफ्फरावाद क्षेत्रबाट पाकिस्तानतर्फ प्रवेश गरेको थियो । मुजफ्फरावाद पाकिस्तान प्रशासित काश्मिरमा पर्दछ । तर सो विमान प्रवेश गरेर तुरुन्तै फर्किएको र त्यसबाट कुनै पनि मानवीय या भौतिक क्षति भने नभएको पनि उहाँको भनाई छ ।

यसैबीच, भारतले काश्मिरी पृथकतावादी र अरु लडाकू लुकेर बसेको आशङ्कामा लाइन अफ कन्ट्रोल पार गरी पाकिस्तान–अधीनस्थ क्षेत्रमा हवाई कारबाही गरिएको जनाएको छ । यो हमलाबाट कैयौं आतङ्ककारी शिविरहरु ध्वस्त भएको भारतका कृषि राज्यमन्त्री गजेन्द्रसिंह सिखावतले पुष्टी गर्नुभएको छ ।

भारत–अधीनस्थ काश्मिरमा आत्मघाती आक्रमणमा ४० जना भारतीय अर्धसैनिक बलको मृत्यु भएपछि पहिलो पटक भारतले पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको पनि मन्त्री सिखावतले बताउनुभएको छ ।

भारत सरकारले यसअघि नै भारतीय सुरक्षाफौजमाथि आत्मघाती आक्रमण गर्नेमाथि फौजी कारबाही गर्न भारतीय सेनालाई पूर्ण अख्तियारी दिइसकेको छ ।

काश्मिरमा सङ्घर्सरत मौलाना अजहरको नेतृत्वमा रहेको जैस ए–मोहम्मद समूहले आत्मघाती आक्रमणको जिम्मेवारी लिएको छ । मौलाना पाकिस्तानमै रहेकाले भारतले उनलाई भारतसमक्ष सुपुर्दगी गर्न आग्रह गर्नुका साथै पाकिस्तान विरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब सिर्जना गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री