भारतका दुई युद्धक विमान खसालेको पाकिस्तानको दाबी

इस्लामाबाद, १५ फागुन– पाकिस्तानाको वायुसेनाले भारतका दुई ओटा लडाकू विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ ।

तीमध्ये एउटा विमान पाकिस्तानको हवाइ क्षेत्रमा खसालिएको र विमान चालकलाई पक्राउ गरिएको पाकिस्तानी सेनाले जनाएको छ । साथै विमानलाई पनि ध्वस्त गरेको पाकिस्तानी सैनिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक भारतीय युद्धक विमान पाकिस्तानभित्र नै खसेको बताउनु भएको छ । उहाँले अर्को भारतीय युद्धक विमान भारत नियन्त्रित काश्मिरमा खसेको बताउनुभयो ।

यद्यपी भारतीय सञ्चार माध्यमले भने पाकिस्तानले भारतीय दुई युद्धक विमान खसालेको समाचार झूठो भएको दाबी गरेका छन् ।

पाकिस्तानले पुरानो तस्वीर टेलिभिजनमा देखाएर पाकिस्तानी जनतालाई शान्त गराएको र भारतलाई तर्साएको भारतको भनाइ छ ।

भारत पाकिस्तानलाई संयम अपनाउन पोम्पेओको आग्रह

वासिङ्टन, १५ फागुन (रासस /सिन्हवा) – भारत र पाकिस्तानबीच जारी तनाब कम गर्न केही नियन्त्रणमा रहेर मात्र थप क्रियाकलाप गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आग्रह गर्नुभएको छ ।

अमेरिकी विदेश मन्त्रालयबाट मन्त्री पोम्पेओले जारी गर्नु भएको विज्ञप्तिमा सो आग्रह गरिएको हो । हाल भियतनामको हनोईमा रहनु भएका पोम्पेओले भारतीय विदेशमन्त्री शुस्मा स्वराज र पाकिस्तानी विदेशमन्त्री शाह मोहमद कुरेसीसँग कुराकानी गर्नुभएको छ ।

जारी तनावलाई बढावा नदिई संयम अपनाउन संयुक्तराज्य अमेरिकाले सधैँ प्रयास जारी राख्ने पोम्पेओले बताउनु भएको छ । प्रत्यक्ष वार्ताका लागि दुबै मन्त्रीलाई अनुरोध गरेको र थप सैन्य कारबाही रोक्न अमेरिकी उच्च कुटनीतिज्ञले आग्रह गर्नु भएको छ ।

यही फेब्रुअरीको १४ तारिखमा भारत प्रशासित काश्मिरमा भएको आत्मघाती हमलामा कम्तीमा ४० जना सशस्त्र प्रहरीको ज्यान गएपछि यी दुई छिमेकीबीच तनाव उत्पन्न भएको छ ।

सो आक्रमणमा भारतले पाकिस्तानी पक्षको हात रहेको बताएको छ तर पाकिस्तानले भने त्यो आरोपको खण्डन गर्दै आएको छ ।

भारत पाकिस्तान तनाबका कारण शेयर बजारमा गिरावट

मुम्बई, भारत, १५ फागुन – भारत र पाकिस्तानबीच देखिएको तनाबका कारण बुधबार बिहान भारतीय शेयर बजारमा एक्कासी गिरावट आएको छ ।

लगानीकर्ताहरूले सीमाना क्षेत्रमा भएको तनाव लामो नरहने विश्वास गरेका छन् । बुधबार दिउसो पाकिस्तानी विमानले भारत प्रशासित काश्मिरको आकाशमा छिरेको भन्दै भारतीय लडाकू विमानले प्रतिरक्षा गरेपछि पाकिस्तानी विमान फर्केको भारतीय अधिकारीको दावी गरेका छन् ।

तनाबका कारण बुधबार बिहान ११ बजे बम्बई स्टक एक्सचेन्ज एस एण्ड पी सेन्सेक्स कारोबारमा ३६ हजार ३६२ अङ्कको हाराहारीमा रहेकोमा मध्यान्न १२.१५ सम्ममा व्यापक गिरावट देखिएको थियो । मध्यान्हसम्ममा ६१५ अङ्कको भारी गिरावट आई ३५ हजार ७४७ मा भरेको थियो । यद्यपि भारत र पाकिस्तानबीचको तनाव लामो समयसम्म नरहने बिश्लेषकहरूको भनाइसँगै बुधबार अपरान्ह्सम्ममा कारोबारमा सुधार आई ३५ हजार ९०५ अङ्कका साथ कारोबार बन्द भएको छ ।

त्यसैगरी राष्ट्रिय स्टक एक्सचेन्ज निफ्टी ५० मा बुधबार २९ अङ्कले गिरावट आई कारोबार १०,८०७ अङ्कसाथ बन्द भएको छ । बुधबार शेयरमा खास गिरावट आएका प्रमुख कम्पनी तथा फर्महरूमा विप्रो, इन्फ्रेटर, भेन्दाता, भारती पेट्रोलियम कर्पोरेसन लिमिटेड र टाटा मोटर्स देखिएका छन् ।

व्यवसायीहरूले भू–राजनीतिक तनाव थप केही दिन जारी रहेमा स्टक बजारमा पनि अनिश्चितता देखिनसक्ने बताएका छन् । यदि भारत पाकिस्तानको नकारात्मक मनोभाव कायम रहेमा बैंक, वित्तीय संस्थान, आधारभूत संरचना, धातु र गाडी कम्पनीहरूको शेयरमा प्रभाव पर्ने अनुमान गरिएको छ ।

यसैबीच, एशियाली स्टक बजारमा भने बढ्दो भू–राजनीतिक विवादको खतराको प्रभाव मिश्रित देखिएको छ । प्रायः एशियाली बजारले भारत–पाकिस्तान विवादलाई गौण देखेका र अमेरिका–चीन व्यापारमा विवादको निश्कर्षलाई नै हेरेका बजार विश्लेशकहरूको भनाई छ ।

बजार विज्ञहरूले बुधबार भियतनामको राजधानी हनोइमा भइरहेको अमेरिका–उत्तर कोरिया शिखर सम्मेलन र यसले दिने परिणामलाई पनि एशियाली बजार सूचकका रूपमा हेरेका छन् । यदि अमेरिकाले उत्तर कोरियालाई आणविक निशस्त्रीकरण गराउन सफल बनेमा एशियाली बजारमा यसको उल्लेख्य लाभ हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री