अमेरिकामा आर्थिक वृद्धि नहुनुमा फेडरल रिजर्भ दोषी – ट्रम्प

राष्ट्रपति ट्रम्प । तस्विर एपी

वासिङटन, संयुक्त राज्य अमेरिका, १९ फागुन – फेडरल रिजर्भको गलत मौद्रिक नीतिका कारण अमेरिकी आर्थिक वृद्धिदरमा कमी देखिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताउनुभएको छ । मौद्रिक नीतिमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरमा गरेको वृद्धिका कारण डलरको अवस्था बलियो तर आर्थिक वृद्धिदर कम देखिएको दावी ट्रम्पको छ ।

कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स’ मा फेड रिजर्भका अध्यक्ष जेरोम पावेललाई सङ्केत गर्दै ट्रम्पले भन्नुभयो, “हामीकहाँ एक जना महासय हुनुहुन्छ जसले ब्याजदर बढाउन मन पराउनुहुन्छ । फेडलाई मात्रात्मक रूपमा बलियो बनाउन मन पराउने सज्जनवृन्द हामीसँग हुनुहुन्छ । उहाँले फेडमा रहेर डलरलाई अत्यधिक बलियो बनाउन चाहनुहुन्छ ।”

“अमेरिकी अर्थतन्त्रमा राम्रो सुधार भएको छ । तर फेडको मौद्रिक नीतिका कारण थप राम्रो हुन सकेको छैन,”उहाँले भन्नुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो, “तपाईँ कल्पना गर्नसक्नुहुन्छ कि यदि हामीले ब्याजदर जहाँ थिए त्यहीँ पुरयायौँ भने यहाँ कुनै मुद्रास्फीति हुनुपर्ने कारण रहँदैन । के मात्रात्मक कडापनलाई कम गर्न सक्दैनौँ ।”

“डलरलाई मजबुत बनाउन पर्छ । तर हाम्रो मुलुकलाई महान् बनाउने डलरको चाहना अमेरिकी जनताको हो । न कि डलर त्यति बलियो होस जसले हाम्रा योजनालाई प्रभावित गरोस् र यसको लाभ अन्य मुलुकले लिन नसकोस्,” उहाँले भन्नुभयो ।

अमेरिकी राष्ट्रपतिले फेडमाथि पटक पटक ब्याजदर नबढाउन दबाब दिँदै आउनुभएको छ । यसका लागि उहाँले फेड अध्यक्षलाई हटाउने वैधानिक बाटोसमेत खोजेको केही महिना पहिले सञ्चारमाध्यमहरूमा व्यापक चर्चा चलेको थियो ।

तर फेड प्रमुख पावेलले केन्द्रीय बैंकलाई राजनीतिक दवावबाट टाढा राख्ने पटक पटक प्रतिवद्धता जाहेर गर्दै आउनुभएको छ । पावेलले बुधबार अमेरिकी सिनेटको वित्तीय सेवा समितिमा फेडले छोटो समयको राजनीतिक चासोलाई नभै दीर्घ सोचबाट अघि बढ्ने जानकारी गराउनुभएको थियो ।

फेडको नीतिगत निर्णय ‘तथ्याङ्कमा आधारित’ हुने र आर्थिक अवस्था र परिणामबाट विकशित नयाँ सूचनालाई आधार बनाइने पावेलको तर्क थियो ।

सन् २०१८ मा फेडले चार पटक ब्याजदरमा हेरफेर गरेको वा वृद्धि गरेको थियो । फेडको लक्ष्य अहिलेको २.२५ प्रतिशत ब्याजदरलाई २.५० मा पुरयाउने रहेको बताउने गरिएको छ । जनवरीमा दुई प्रतिशतबाट ब्याजदरलाई बढाई २.२५ प्रतिशत पुरयाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री