शनिबार, जेठ ११ २०७६ | Sat, May 25, 2019
नेपालको समय: ०१:४६ | UK Time: 21:01

नारी हुनुमा गर्व गर्छु

सरिता ढकाल
२०७५ फागुन २४ गते ७:२७
म जन्मँदा घरमा रौनक छाउछ
हाँसोको गुञ्जनले चाडपर्व आउछ
म दिन्न रोग र सन्तापमा फस्न
बुढेसकालमा एक्लै हेपिएर बस्न
मनको घाउमा मलम बनेर भर्छु
छोरी हुनुमा गर्व गर्छु !
तिम्रो र मेरो नाताको साक्षी छन् देउता
हाम्रो शरीर छुट्टै तर मुहान एउटा
शिखरलाइ चुम सधै यो मनले भन्छ
मातृत्वको केहि अंश मसंग नि हुन्छ
तिम्रो उन्नतिको लागि मन्दिरमा अक्षता छर्छु
दिदी हुनुमा गर्व गर्छु !
पूर्व जन्मको खोजिले भेट हुञ्छ भन्छन
तिमी  छौ र त पूर्ण र रंगीन छ जीवन
उतार चढाब मा साथ दिने चौडा छाती
एक्लोपनलाइ मेटाउने हे जीवनसाथी
तिम्रा हरेक सुखदुखमा अगाडी सर्छु
श्रीमती हुनुमा गर्व गर्छु !
मेरो मनको दियो तिम्रै हाँसोले बल्छ
तिम्रै सेरोफेरोमा मेरो प्राण चल्छ
मलाई पीडा हुन्छ तिमीलाई चोटले छुदा
यमराज पनि डराउछन् आउन म नजिक हुदा
दीर्घायु बन तिमी बरु मै मर्छु
आमा हुनुमा गर्व गर्छु !
शीतलता, शालीनता र सहनशीलता मेरो पहिचान
यिनै गुण लिएर  जन्मौ बारम्बार माग्छु बरदान
अस्तित्वको चरणमा पर्छु
म छोरी, दिदी, श्रीमती र आमा हुनुमा गर्व गर्छु
म नारी  हुनुमा गर्व गर्छु !

सन्दर्भ-अन्तरराष्ट्रिय नारी दिवस २०१९

डार्टफोर्ड, युके

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक