चीनको आयात निर्यात दुबै घट्यो

बेइजिङ, २४ फागुन (रासस/एएफपी) – चीनको आयात निर्यात गत फेब्रुअरी महिनामा अपेक्षा गरेभन्दा बढी न्यून भएको छ । संयुक्तराज्य अमेरिकासँग व्यापार युद्ध गरिरहेको चीनमाथि आर्थिक वृद्धिमा आएको न्यूनताले थप चिन्तित बनाएको छ ।

चीनको भन्सार प्रशासनका अनुसार, संयुक्तराज्य अमेरिकासँगको व्यापार नाफा फेब्रुअरीमा १४ अर्ब ७० करोड डलर पुगेको छ । गत जनवरीमा यस्तो नाफा २७ अर्ब ३० करोड डलर थियो ।

यस वर्ष चीनको कूल बैदेशिक ढुवानीमा २०.७ प्रतिशतले कमी आएको छ भने आयात पनि ५.२ प्रशितले घटेको छ ।

“पछिल्ला तथ्याङ्कले चीनको व्यापार मन्दी देखा पर्न थालेको प्रस्टै सङ्केत गरेको छ,” एएनजेड बैंकका रेमन्ड युङले बताउनुभयो । “यो मन्दीबाट तत्काल माथि उठ्न चीनलाई निकै कठिन हुनेछ ।”

हालैका आर्थिक विवरणहरुले सन् २०१८ का अन्तिम तीन महिनामा चीनको आर्थिक वृद्धि ६.४ प्रतिशतको हाराहारीमा रहेको थियो ।

जनवरीमा मुलुकको औद्योगिक क्षेत्र निराशाजनक अवस्थामा थियो भने फेब्रुअरीमा कारखानाको उत्पादनमा तीन वर्षयताकै सबैभन्दा कमजोर स्थिति देखिएको थियो ।

चीनका प्रधानमन्त्रीले मङ्गलबार बेइजिङमा जारी वार्षिक कङ्ग्रेस बैठकमा यस वर्षका लागि आर्थिक वृद्धिदर ६ देखि ६.५ प्रतिशत रहने अनुमान प्रस्तुत गर्नुभएको थियो । सन् २०१८ मा आर्थिक वृद्धि ६.६ प्रतिशत रहने प्रक्षेपण गरिएको थियो ।

प्रधानमन्त्रीको प्रस्तावमा आर्थिक मन्दी विरुद्ध लड्न कर कटौती गर्ने, शुल्क घटाउने तथा खुकुलो मौद्रिक नीति अवलम्बन गर्ने योजना समेटिएको छ ।

युरोपेली केन्द्रीय बैंकले समेत सन् २०१९ का लागि युरोपेली क्षेत्रको आर्थिक वृद्धिको लक्ष्यलाई घटाएको छ । विश्वभर उत्पन्न राजनीतिक जोखिम तथा व्यापार विवादले आफ्नो प्रक्षेपणमा कमी ल्याउनु परेको बैंकको भनाई छ ।

अमेरिकासँगको व्यापार विवादका कारण बजारमा अन्यौल उत्पन्न भएपछि गत महिना अमेरिकासँगको व्यापारमा २९ प्रतिशत घटेको हो ।

वासिङटन र बेइजिङले गत वर्ष एकअर्का मुलुक विरुद्ध ३६० अर्ब अमेरिकी डलरभन्दा बढीका एकअर्काका सामानमा करवृद्धि गर्ने घोषणा गरेका थिए ।

गत वर्ष अमेरिकाको चीनसँगको व्यापार घाटा ४१९ अर्ब डलर पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री