लन्डनवासी गायिका अन्जुको गीतमा रोए केकी र बसुन्धरा

लन्डन । लन्डन बस्दै आएकी गायिका अन्जु श्रेष्ठको 
आफ्नै रचनामा बिल्कुलै नयां गीत ‘जांदैछु’ को भिडिओ बजारमा आएको छ । उक्त म्यूजिक भिडियो सोमबार सार्वजनिक गरिएको हो ।

उक्त गीतमा सुनिल राईको संगीत छ भने चर्चित कलाकारद्वय केकी अधिकारी र बसुन्धरा भुसालको मार्मिक अभिनय छ । राष्ट्रिय कलाकारहरुको सशक्त अभिनय र गीतका कारण उक्त भिडियो दर्शकले रुचाउने विश्वास गायिका श्रेष्ठलाई छ ।

ओखलढुंगामा जन्मिएर गाईघाट र राजबिराजमा हुर्केकी श्रेष्ठ वाल्यकाल देखि नै गीत संगीतमा एकदम रुची राख्थिन् । सानैदेखि गीत, कविता, कथा लेखन, चित्रकला र नाच उनका प्राथमिकता थिए ।

सन् १९९३ मा पहिलो पटक हङकङमा उनको आफ्नै 
रचनामा गीत रेकर्ड भएको थियो । सन् २००६ मा बेलायत आउनु अघि उनले एउटा गीति एल्बम पनि सार्वजनिक गरेकी थिइन् भने उनको रचनाका गीत अरु कयौं कलाकारले गाइसकेका छन् । हालै बेलायतमा निर्मित चलचित्र ‘एटीन’ मा पनि उनको रचनाको एउटा गीत सामेल छ जसलाई धेरैले रुचाएका छन् । आफ्नो श्रीमान र सन्तानबाट सधैं ‘सपोर्ट’ पाएकाले यस क्षेत्रमा अघि बढ्न सजिलो भएको बताउंछिन् अन्जु ।

अन्जु

उनले ‘मिसेस नेपाल यूके २०१७’ प्रतियोगितामा आफ्नो एकल अभिनयमा नाटक प्रस्तुत गरेर १६ जनालाई पछि पार्दै ‘मिसेस ट्यालेन्ट’ को उपाधि जितेकी थिइन् । जसमा उनको आफ्नै कथा र निर्देशन थियो । त्यसपछि उनको कथा र निर्देशनमा दुईवटा नाटक बेलायतमा सफलतापूर्वक मञ्चन भए । पहिलो नाटक उनीसहित मिसेस नेपाल यूके २०१७ को टिमले भक्तपुरस्थित मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ र दोश्रो नाटक एनआरएनए यूकेले शारीरिक अपांगता भएका व्यक्तिहरुको सहयोगार्थ गरेको थियो जसलाई दर्शकले औधि रुचाएका थिए ।

सन् २०१५ मा नेपालमा गएको महाभूकम्पको दुःख अनि पीडामा केन्द्रित भएर बनाइएको नाटक ‘समयदृश्य’ मा पनि उनले एक पीडितको जीवन्त अभिनय गरेर सबैको मन जितेकी थिइन् । उनी काल्पनिक भन्दा पनि यथार्थलाई प्राथमिकता राखेर गीत लेख्ने गर्छिन् ।

हाल बेलायतमा विभिन्न संघ संस्थामा आवद्ध भएर थुप्रै सामाजिक र च्यारिटी कार्यक्रममा संलग्न उनी 
समाजका लागि केहि गर्नुपर्छ भन्ने मान्यता राख्छिन् ।

भिडियो-

प्रतिक्रिया

सम्बन्धित सामाग्री